Admission Open

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालय एयरलाइन्सको चार्टर्ड उडान सुरु

भैरहवा : भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले बिजनेस नपाएको चर्चा चलिरहेको समयमा हिमालय एयरलाइन्सले यहाँबाट मलेसियाको क्वालालम्पुरका लागि चार्टर्ड उडान सुरु गरेको छ ।

नेपाल नागरिक उड्डययन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिकरूपमा तीनवटा अन्तर्राष्ट्रिय उडान गर्ने विमान कम्पनीलाई त्योभन्दा बढी उडान गर्ने भए भैरहवाबाट गर्नुपर्ने गरेको बाध्यत्मक व्यवस्थाका कारण हिमालय एयरलाइन्सले आज चार्टर्ड उडान सुरु गरेको छ ।

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले हिमालय एयरलाइन्सले दैनिक तथा नियमितरूपमा चार्टर्ड उडान गर्ने जनाए। “अहिलेको चार्टर्ड उडान भनेको बजारको अवस्था बुझ्नलाई गरिएको हो”, उनले भने, “भोलिका दिनमा निर्धारितरूपमै नियमित उडान गर्ने गरी अहिलेको चार्टर्ड उडान गरेका हौँ ।”

गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थल राष्ट्रिय गौरवको आयोजना भएकाले यसमा सबै नेपालीको लगानी रहेका कारण हिमालय एयरलाइन्सले पनि यसलाई अपनत्व ग्रहण गर्ने श्रेष्ठले बताए। उनले परीक्षणका क्रममा भैरहवाको विमानस्थल उडान सञ्चालन गर्न योग्य रहेको बताउँदै अब नियमित उडान गर्न सकिने उनले जिकिर गरे।

नेपाल नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले विविध प्राविधिक कारणबाट समस्या रहे पनि अहिले समस्या समाधान भइरहेको र अब भैरहवाबाट अन्तर्राष्ट्रिय उडान बढ्ने बताए । भैरहवा विमानस्थल सञ्चालनका लागि नेपाल नागरिक उड्डययन प्राधिकरणले स्वदेशी तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई बाध्यत्मक अवस्था बनाएकाले पनि अब भैरहवाबाट उडान गर्नुपर्ने उनको भनाइ थियो ।

“स्वदेशी र अन्तर्राष्ट्रिय वायुसेवालाई काठमाडौंबाट उडान अनुमति दिएसम्म अबको पाँच वर्षसम्म पनि उहाँहरू भैरहवा आउनुहुन्न”, अधिकारीले भने, “दिनको तीनवटा भन्दा बढी उडान गर्ने कम्पनीलाई चौथो उडान गर्न मन भए उसले अब भैरहवाबाट गर्नुपर्‍यो ।”

यही व्यवस्था लागू भएपछि हिमालय एयरलाइन्स भैरहवा आएको र अब छिट्टै नेपाल एयरलाइन्सले पनि उडान थाल्ने उनले दाबी गरे। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सबैले आ–आफ्नो स्थानबाट आफ्नो काम गरिदिनुपर्ने उनको भनाइ थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...