Admission Open

ad place

इनरुवाको बलाहामा सहकारी भित्र्याउने पहिलो व्यक्ति : माधवप्रसाद आचार्य (प्रमुख कोलेनिका तेह्रथुम)

व्यक्ति-व्यत्तित्व

दीपक निरौला/सुनसरी : इनरुवाको बलाहा पहिल्यैदेखि निजामती कर्मचारी प्रशस्त भएको ठाउँ हो । यो ठाउँले यहाँका धेरै व्यक्तिहरूलाई पियन, मुखियादेखि मन्त्रालयका सचिव उत्पादन गर्ने थलो हो भन्दा फरक पर्दैन । न यहाँ ट्यूसन सेन्टर, न कोचिङ सेन्टर केवल मेहेनत सेन्टर हो बलाहा । पढ्नु पर्छ भन्ने भावना यहाँका सबै व्यक्तिमा छ । यो ठाउँका मान्छेलाई ठूलाठूला व्यापार भन्दा पनि जागिरमै फावेको देखिन्छ । धेरै व्यक्ति सरकारी जागिर खाएर काठमाडौँ लगायत अन्यत्र स्थायी थातथलो बनाएर बसेका छन् । उनीहरूलाई बलाहाको हेक्का छ छैन उनीहरू नै जानून ।

सरकारी जागिरे मध्येका एक हुन माधवप्रसाद आचार्य । जो बग्रेल्ती भाइबहिनीसँगै बलाहाको माटोमा हुर्केका । ब्राह्मण समुदायमा जन्मिए तापनि गरिवीको जाँतोमा बेस्सरी पिंधिए । उनका बुबा प्रा।विका शिक्षक । आफू श्रीमती र छोराछोरीसहित ९ जनाको परिवार पाल्न त्यति सजिलो कहाँ हुन्थ्यो र । स्कूल, कलेज पढ्ने शुल्कदेखि लालनपालनको गह्रुंगो भारी बोकेर दैनिक स्कुल पढाउन निस्कन्थे माधवका बुवा पुरुपोत्तम आचार्य ।
२०४० सालमा एसएलसी पास गरेका माधवले विराटनगरको महेन्द्र मोरङ कलेजबाट आईए पास गरे । २०४५ सालमा भनसुनका आधारमा सुनसरीकै दक्षिणी वेल्टमा उनका बुबाकै जस्तो सरकारी जागिर पाएका थिए । महत्वकांक्षी स्वभावका माधवले शिक्षकको जागिरलाई लत्याए । घरको जेठोबाठो छोराले जागिर खाएर अर्थोभावको गह्रुंगो डोकोलाई हलुङ्गो पार्छ भन्ने परिवारको आशामा तुषारापात गराए । जसबाट पारिवारिक तथा सामाजिक कचचकलाई सहन बाध्य भए । अन्तरआत्माले स्वीकार गरेन भने महत्वपूर्ण उपलब्धी पनि अर्थहीन हुँदो रहेछ । भनसुनको जागिर भन्दा पनि आफैंले गर्नुपर्छ भन्ने भावना उनको मनमा बाँसको तामाझैं हलक्कै बढ्दै थियो । जसका कारण लोकसेवाको तयारी भित्रभित्र तिव्र रूपमा गरिरहेका थिए ।

सादय अभावको खेप खेपेकै कारणले होला आर्थिक पारदर्शिता हुनुपर्छ भन्ने सानैदेखि उनमा थियो । त्यही आर्थिक पारदर्शिताको ज्ञान जागिरको चक्रसँग मिल्दोजुल्दो हुनपुग्यो । घरको दुःखले परम्परागत पेशा छोड्न बाध्य पार्दो रहेछ । अभावले आहाराको खोजीगर्न सिकाउँदो रहेछ । पेन्सिललाई पनि त धारिलो हुन पेन्सिल कटरको कटाई सहनै पर्छ । भने , उत्कृष्ठ मान्छे बन्न ठक्कर र हण्डरको चोट कति खप्न पर्छ कति ।
२०४६ सालको भदौमा माधवले खोटाङको दिक्तेलबाट सहायक लेखापालको लिखित परीक्षा पास गरे । अन्तवार्ताको समय आइपुग्न लाग्यो, यता भदौरे झरीका कारण खोलानाला उन्मत्त वैंसले उर्लिरहेका छन् । २०-२१ वर्षे उरन्ठेउलो केटो इनरुवाबाट भेलबाढीको पर्वाह नगरी चिनी र च्यूरा, लुङ्गीको कुम्लो र छोत्रे छाता अनि केही पैसा बोकेर फगत एक्लै अन्तवार्ताको लागि खोटाङको दिक्तेलको यात्रामा निस्कन्छ । वर्षा र बाढीलाई छिचोल्दै चाहेको र चिताएको उपलब्धीलाई सुरक्षित गर्न दिक्तेल पुगेर मौखिक परीक्षामा सामेल हुन्छ । उपलब्धी आफ्नो पक्षमा सहज भएर आएपछि आर्थिक क्षेत्रसँग मेलखाने सहायक लेखापाल ९मुखिया० को जागिर सप्तरीको फत्तेपुरमा सुरक्षित भयो ।

यता घरपरिवारको खुशी आफ्नो ठाउँमा छ । बेरोजगारको सूचीबाट नाम कट्टा भयो । तर, नयाँ संसारमा चुनौतिका चाङको थुप्रो पन्साउन त्यति सहज कहाँ हुन्छ र । दिउँसै बिजुली–पानीले रंगीन हुने फत्तेपुर बजारमा सहकर्मीले पैसा मागेर उधुम मच्चाएपछि आर्थिक कोष स्थापना गर्ने सोच उनमा पलायो । महिनाको २०-२० रुपैयाका दरले पैसा जम्मा गरेर कर्मचारी हितकोष स्थापना उनकै नेतृत्वमा भयो ।

राम्रा गाईवस्तु र सरकारी कर्मचारीलाई एकै ठाउँमा लामो समय बस्न मिल्दैन । यी परिवर्तनशील हु्न्छन् । कहिले सोचेजस्तो ठाउँमा पुग्छन भने कहिले नचिताएको ठाउँमा खुम्चन बाध्य हुन्छन् । फत्तेपुरबाट माधवको जागिर तेह्रथुमको कृषि विकास कार्यालयमा बढुवा समेत भएर सरुवा भयो । ग्रामिण भेग भएपनि तेह्रथुममा कृषि समूह गठन भएको माधवले थाहा पाए । त्यहाँका हरेक किसानले मासिक पैसा जम्मा गर्ने गरेको उनले बुझे । यता आफ्नो गाउँ बलाहामा आजसम्म कतैबाट त्यस्ता समूह गठन भएको सुनेका पनि थिएनन् ।

गाउँको विकास गर्न यस्तो अवधारणा ल्याउनै पर्छ भन्ने भाव उनमा पलायो । २०५१ सालमा कृषि समूहको रूपमा समूह गठन भयो । माधवकै नेतृत्वमा स्थानीय व्यक्तिहरू नवराज घिमिरे, मित्रप्रसाद घिमिरे, दामोदर आचार्य, पारस आचार्य, पशुपति सुवेदी, देवराज पोखरेल, इन्दिरा भट्टराई, कृष्णप्रसाद आचार्य, गीता पोखरेल, केशव पोखरेल, बलभद्र पोखरेललगायत मिलेर मासिक ५० रुपैंयाका दरले बचतको सुरुवाद गरी विधिवत रूपमा सहकारी अभियान सञ्चालन भयो । यो भन्दा पहिले इनरुवा क्षेत्रमै कतै पनि सहकारीको अवधारणा आएको नै थिएन ।

बलाहामा सहकारी संस्था स्थापना गर्ने पहिलो व्यक्ति भनेकै माधवप्रसाद आचार्य हुन् । त्यसपछि धेरै व्यक्ति मिलेर नाम परिवर्तन हुँदै हाल नवयुग बहुउद्देश्यीय सहकारी संस्थाको नामले धेरै व्यक्ति र क्षेत्र समेटेर सञ्चालित छ । वार्षिक ५०-६० करोडको कारोवार यो संस्थाले गरिहेको छ । माधव आचार्यले स्थापना गरेको यो सहकारीमा यहाँको ठूलो समूह ‘इंगेज’छ । सिंगो बलाहाले यस सहकारीका माध्यमबाट ‘इन्जोय’ गरेको छ । यसको श्रेय हामीले माधव आचार्यलाई दिएनौ भने उनीमाथि अन्याय भएको महसुस सहकारीको भवन र भित्र भएका लिखित दस्तावेजले गर्नेछन् ।
(करुणा समाज केहो रु र यसले के काम गरिरहेको छ रु भन्ने बारे विविध कुराकानीको सार आगामी अंकमा )

टिप्पणिहरु
Loading...