
काठमाडौँ : स्थानीय तह निर्वाचन, २०७९ मा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउने र आगामी मंसिर ४ गते हुने निर्वाचनको समानुपातिक बन्द सूचीमा रहेका उम्मेदवारहरूलाई आयोगले विज्ञप्तिमार्फत जरिवाना बुझाउन ताकेता गरेको छ । समानुपातिक बन्द सूचीमा रहेका ४३९ जनाले कात्तिक ५ भित्र जरिवाना बुझाउनुपर्ने भएको छ । स्थानीय तह निर्वाचनमा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोगले ५ कात्तिकसम्मको समय दिएको हो ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेश गरेको बन्दसूचीमा समावेश भएका त्यस्ता ४३९ उम्मेदवारले जरिवाना बुझाउनुपर्ने भएको हो ।
जरिवाना नबुझाए उम्मेदवारको नाम बन्दसूचीबाट हट्ने कुरा विज्ञप्तिमार्फत आयोगले जनाएको छ ।


