काठमाडौं : साताको पाँचौ दिन सेयर बजार परिसूचक (नेप्से) मा सामान्य सुधार आएको छ । सेयर बजार परिसूचक नेप्से आज चार दशमलव १५ अंकले बढेर एक हजार ८ सय ७० दशमलव ६३ विन्दुमा पुगेको छ ।
नेप्सेसँगै कारोबार रकममा पनि आज सुधार आएको छ । २ सय २२ वटा कम्पनीको २६ लाख ९८ हजार कित्ता सेयर किनबेच हुँदा ८२ करोड ९६ लाखको कारोबार भएको छ। आज सबैभन्दा धेरै नबिल बैंकको तीन करोड ४० लाख र नेपाल लाइफ इन्स्योरेन्सको तीन करोड २४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
नेप्सेमा आज १३ वटा समूहको कारोबार भएकोमा जलविद्युत समूहको सूचक दुई दशमलव ३५ अंकले घटेर बाँकी समूहको सूचक बढेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक शून्य दशमलव ९४ अंकले बढेर १३ सय आठ दशमलव २९ अंकमा पुगेको छ।
विकास बैंक समूहको सूचक पनि ३४ दशमलव एक अंकले बढेर तीन हजार चार सय २६ दशमलव ८५ अंकमा, निर्जिवन बीमा समूहको सूचक ३२ दशमलव ६१ अंकले बढेर सात हजार पाँच सय ३८ दशमलव ५३ अंंकमा, जीवन बीमा समूहको सूचक पनि १५ दशमलव २३ अंकले बढेर आठ हजार सात सय ७१ दशमलव २२ अंकमा पुगेको छ ।
यि बाहेक फाईनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समूहको सूचक पनि बढेका छन् ।