काठमाडौँ, ३ भदौ : श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ । श्रीकृष्ण जन्माष्टमी भगवान विष्णुको आठौँ अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा हिन्दूहरूले मनाइने वार्षिक पर्व हो। पर्वको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन व्रतालुहरु रातभर जाग्राम बस्ने र श्रीकृष्णको आराधना गर्ने प्रचलन छ । जन्माष्टमीका दिन देशभर कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजाआराधना, प्रवचन, भजन कीर्तन गर्नुका साथै विशेषगरी महिलाहरू व्रत बसी रातभर जाग्राम बस्ने चलन छ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा ललितपुरको प्रसिद्ध कृष्ण मन्दिरलगायत मुलुकभरका कृष्ण मन्दिरहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनको भीड लाग्छ। भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्ने र मेला लागेको छ । पाटन कृष्ण मन्दिरमा दर्शनका लागि राष्ट्रपति जाने चलन रहेको छ ।