Admission Open

नीलबाराही, लायकू भैरव नाच सम्पन्न

काठमाडौँ : मध्यपुरथिमि नगरपालिकामा तीन दिन चार रातसम्म सञ्चालन भएको नीलबाराही र भैल प्यांख अर्थात् भैरव नाच सम्पन्न भएको छ ।

विभिन्न देवी–देवताका मुखुण्डो धारण गरी धार्मिक, सांस्कृतिक, ऐतिहासिक नीलबाराही, लायकू भैरव नाच आज बिहानबाट सम्पन्न भएको छ भने महाकाली नाच भने यही भदौ ३ गतेमात्रै सम्पन्न हुने छ ।

मध्यपुरथिमिको बोडेमा हरेक वर्ष गाईजात्राको भोलिपल्टको मध्यराति अर्थात् भाद्र द्वितीयादेखि पञ्चमीसम्म नीलबाराही नाच चार दिन तीन रातसम्म यहाँको टोल–टोलमा प्रदर्शन भएको स्थानीय दिलकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।

नाचमा भैरव एक, बाराही चार, कुमारी चार, सिहं चार, द्वारपाल दुई र गणेश चार गरी १९ देवगणले नाच नाच्ने गर्दछन् । देवता १९, गुरु छ, १९ देवताका सहयोगी, बाजा बजाउने नौ जनाको नाचमा प्रतक्ष संलग्नता रहने गर्दछ ।

बोडेको लाकुछेबाट सुरु भई लाछी, लाछकु छेँ, विष्णुघाट, महालक्ष्मी थान, भाँगुटोल, खासी टोल, नीलबाराही स्थान हुँदै पुनः खासी टोल भएर लाकुछेँमा आएर मुखुण्डो निकालेपछि समापन हुने स्थानीय उहाँले बताउनुभयो ।

प्रत्येक टोलको चोकमा धाँ बाजा, भुस्या, काँय, पाँगा बाजाको तालमा परम्परागत नीलबाराही देवीको नाच देखाउने र यहाँका बासिन्दाले पूजा एवं दान–दक्षिणा दिने परम्परा रहेको  विगत २६ वर्षदेखि पोङ्गा पूजामा सहभागी हुँदै आउनुभएका ४५ वर्षीय रोमन धों श्रेष्ठले जानकारी दिनुभयो ।

दैनिक १० देखि १४ घण्टासम्म परम्परागत नियममा बाँधिएर नाच्नुपर्ने नीलबाराही नाचमा सहभागी हुने देवगणले नाच अवधिभर खान, भुइँमा बस्न, अन्यत्र बोल्न, घामपानीमा छाता ओढ्न, दिसापिसाब गर्न र जुत्तासमेत नलगाउने उहाँले बताउनुभयो ।

त्यसैगरी मल्लकालीन तान्त्रिक लाय्कू भैलः अर्थात् भैरव नाच पनि  भाद्र कृष्ण द्वितीया (गुंलागा द्वितीया)देखि आज बिहान ३ बजे सम्पन्न भएको छ । तान्त्रिक एवं ऐतिहासिक भैरव नाच गत दुई वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण रोकिए पनि यस वर्ष भने भव्यरूपमा सञ्चालन भएको हो ।

मध्यपुरथिमिको लायकू दरबारबाट निस्किएर बालकुमारी मन्दिर प्राङ्गणमा प्रदर्शन गरिएको भैरव नाचमा    भैरव दुई, दाःगि अर्थात् कुमारी दुई र ज्यापूँग एक गरी पाँच जना देवगण नाच्ने गरिन्छ । नाचमा यस वर्ष ज्यापुंगःचा रिसल श्रेष्ठ, न्हापा भैलः उज्जवल श्रेष्ठ, लिपा भैलः रोमन श्रेष्ठ, न्हापा दायगं सुजल श्रेष्ठ र लिपा दायगं श्रयन श्रेष्ठले नाच नाच्नुभएको छ ।

लायकू भैलः नाच तान्त्रिक विधिअनुसार टोलटोलमा प्रस्तुत गर्ने र नाचमा भैरवले खड्ग, कुमारीले डमरु र ज्यापूँगले ज्यापूँग अर्थात् कपालको बियाँ, अक्षता, ताय् भएको भाडो, हातमा लिएर धांःबाजाका साथै नाचका लागि १२ जनाले दागः, आठ जनाले भुस्या, आठ जनाले पोङ्गा र चार जनाले मुहाली बजाई विभिन्न ३० देखि ३२ तालमा नाच्ने परम्परा रहेको नाचका गुरु अर्जुन श्रेष्ठले बताउनुभयो ।

त्यसैगरी ८८ वर्षपछि मध्यपुरथिमि नगरपालिका–५ दिगुटोलमा यस वर्ष प्राचीन महाकाली नाच प्रदर्शनी गरिएको छ । थिमिको अन्य ऐतिहासिक नाच महाकाली नाच पनि गाईजात्राको भोलिपल्ट अर्थात् भाद्र द्वितीया साँझ ६ बजेदेखि राति १ बजेसम्म दैनिक सञ्चालन हुने महाकाली नाच सञ्चालन समितिका संयोजक राधेश्याम प्रजापतिले जानकारी दिनुभयो ।

यो नाच यस वर्ष भदौ ३ गते शुक्रबार कृष्ण जन्माष्टमीमा सम्पन्न गर्ने तयारी गरेको उहाँले बताउनुभयो । यस नाचमा महाकाली, महालक्ष्मी, कुमारी, सिंह, बेता, भूत भैरव, कवं, ख्याक, माकः (बाँदर) गरी १७ देवगणको स्वरूपमा नाच सञ्चालन गरिन्छ ।(रासस)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...