NIC ASIA

Mangalam Pipes

खानेपानीका जारभित्र कीरा र लेउ

काठमाडौं : काठमाडौं उपत्यकाभित्रै हैजाको महामारी फैलिएको वर्तमान समयमा सर्वसाधारणले पैसा तिरेर पिउने पानीमाथि पानी उत्पादन कम्पनीले अत्यन्तै लापरवाही गरेको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माको नेतृत्वमा चाँगुनारायण नगरपालिका–३ झौखेलमा सञ्चालित विभिन्न खानेपानी कम्पनी अनुगमनका क्रममा यस्तो लापरवाही भेटिएको हो ।

सर्वसाधारणले प्रतिबोतल तथा जारलाई रु २० देखि रु ५० सम्म तिरेर पिउँदै आएका यहाँका विभिन्न खानेपानी कम्पनीले अत्यन्तै पुराना जार, कुहिएको लेउसमेत भेटिएका जारलाई अनुगमन टोलीले नष्ट गरेको छ ।

विभिन्न ब्राण्डका खानेपानीको जारभित्र कीरा र लेउ भेटिएको जनगुनासो बढेपछि जिप्रकाको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, उपभोक्ता महासंघ, जिल्ला घरेलु कार्यालय, उद्योग वाणिज्य संघ, पत्रकारलगायत विज्ञ र सरोकारवाला निकायसहितको टोलीले अनुगमन गरी खानेपानीमा लापरवाही भएको पाइएको हो ।

यहाँका विभिन्न खानेपानी उद्योगको स्थलगत अनुगमनमा फेला परेका सयौँको संख्याका पुराना जार नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।

पुराना जारको अत्यधिक प्रयोगले पानीमा कीरा र लेउसमेत भेटिएकाले मानवीय स्वास्थ्यसँग खेलवाड गरेको पाइएको जनाउदै उनले भेटिएका त्यस्ता जारलाई नष्ट गरी पानी उद्योगलाई सचेत गराइएको बताए ।

खानेपानी उद्योगहरूको गम्भीर गल्तीका कारण जनतालाई कीरा खुवाएर मानवीय स्वास्थसँग गम्भीर खेलवाड गरिरहेको समेत पुष्टि भएको भन्दै उनले त्यस्ता उद्योगलाई कारबाहीको दायरामा ल्याउने बताए ।

अनुगमनका क्रममा पानी उद्योगबाट दुईवटा उद्योगको पानी परीक्षणका लागि नमूना संकलन गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...