Admission Open

तनहुँमा ३७३ जनप्रतिनिधि निर्वाचित, कुन दलका कति बिजयी (सूचीसहित)

काठमाडौंः स्थानीय तह निर्वाचनबाट तनहुँमा नौ स्थानीय तहमा ३७३ जनप्रतिनिधि निर्वाचित भएका छन्  । व्यास नगरपालिकामा मतगणना जारी रहँदा अन्य स्थानीय तहमा ती तहमा जनप्रतिनिधि निर्वाचित भइसकेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।

नगरपालिकाका प्रमुख–उपप्रमुख, गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष, वडाध्यक्ष, वडा सदस्य गरी उक्त संख्यामा जनप्रतिनिधि निर्वाचित भएको निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।

जिल्लामा सबैभन्दा बढी नेपाली कांग्रेसबाट १८२ निर्वाचित भएका छन्  । नेकपा (एमाले)बाट १५१, नेकपा (माओवादी केन्द्र)बाट ३४, स्वतन्त्रबाट पाँच र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एकजना निर्वाचित भएका छन्  । कार्यालयका अनुसार नौ प्रमुख–अध्यक्ष, नौ उपप्रमुख–उपाध्यक्ष, ७१ वडाध्यक्ष, ७१ महिला सदस्य, ७१ दलित महिला सदस्य र १४२ खुला सदस्य निर्वाचित भएका छन्  ।

व्यास नगरपालिकाबाट ७२ जनप्रतिनिधि निर्वाचित हुनेछन्  । निर्वाचनबाट जिल्लामा कुल ४४५ जनप्रतिनिधि निर्वाचित हुनेछन्  ।

कांग्रेसबाट पालिका प्रमुख–अध्यक्ष चार, उपप्रमुख–उपाध्यक्ष चार, वडाध्यक्ष ३५, महिला सदस्य ३३, दलित महिला सदस्य ३३ र खुला सदस्य ७३  निर्वाचित भएका छन् । एमालेबाट पालिका प्रमुख–अध्यक्ष चार, उपप्रमुख–उपाध्यक्ष दुई, वडाध्यक्ष २५, महिला सदस्य ३२, दलित महिला सदस्य ३२ र खुला सदस्य ५६ निर्वाचित भएका छन्  ।

यस्तै, माओवादी केन्द्रबाट पालिका प्रमुख–अध्यक्ष एक, उपप्रमुख–उपाध्यक्ष तीन, वडाध्यक्ष सात, महिला सदस्य पाँच, दलित महिला सदस्य छ, खुला सदस्य १२ निर्वाचित भएका छन्  । राष्ट्रिय प्रजातन्त्र पार्र्टीबाट खुला सदस्य एक जना निर्वाचित भएका छन् । स्वतन्त्रबाट वडाध्यक्षमा चार र महिला सदस्यमा एक  जना निर्वाचित भएका छन्  ।(रासस)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...