काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा इन्जिनियरसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले जिल्ला प्राविधिक कार्यालय सप्तरीका प्रमुख जिल्ला इन्जिनियर राज कुमार गोईतसहित ६ जना विरुद्ध मङ्गलवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारले मुद्दा दायर गरेकामा जिल्ला प्राविधिक कार्यालय सप्तरीका इन्जिनियर उग्रा नन्द पाठक, लेखापाल छत्र बहादुर श्रेष्ठ, माँ जानकी निर्माण सेवाका प्रोप्राइटर भूपेन्द्र यादव, एभरेस्ट निर्माण सेवाका प्रोप्राइटर विजय कुमार यादव र अन्नपूर्ण कन्स्ट्रक्सनका प्रोप्राइटर ममता देवी यादव रहेका छन् ।
उनीहरूले ६६ लाख ६४ हजार ६९२ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले मुद्दा दायर गरेको छ ।अनुसन्धान हुँदा उनीहरूले गलत विवरण पेस गरी ६६ लाख ६४ हजार ६९२ रुपैयाँ भ्रष्टाचार गरेको पाइएको अख्तियारले जनाएको छ ।
ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम तर्फको नियमित सडक मर्मत सम्भार र रुख बिरुवा रोप्ने कार्य गर्दा प्रक्रिया नपुर्याइ भुक्तानी गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीहरूमाथि अनुसन्धान सुरु गरेको थियो ।