Admission Open

भृकुटी मण्डपमा जारी जुत्ता चप्पल मेलामा एकैदिन ३० लाखको कारोबार

काठमाडौं : फुटवयर म्यानुफ्याक्चरर्स एसोसियसन अफ नेपालद्वारा आयोजित जुत्ता चप्पल ब्यापार प्रवर्दन मेला जारी छ । भृकुटी मण्डपमा जारी मेलामा अवलोकनकर्ता तथा ग्राहकको आकर्षण देखिएको संस्थाका अध्यक्ष नानीराज घिमिरेले जानकारी दिए । विशेष छुटमा जुत्ता चप्पल बिक्री भइरहेकाले ग्राहकको उपस्थिति बढिरहेको उनले बताए ।

आइतबार मात्रै ८ हजार जनाले मेला अवलोकन गरेको आयोजकको भनाइ छ । आइतबार करिब ३० लाख रुपैयाँ बराबरको जुत्ताचप्पल बिक्री भएका छन् । स्वदेशी ब्राण्डका जुत्ता चप्पलहरु विशेष छुटमा बिक्री भएकाले ग्राहकको आकर्षण देखिएको घिमिरे बताउँछन् ।

शनिबार र आइतबार २ दिन सार्वजनिक बिदा भएकाले दुवै दिन अवलोकनकर्ताको उत्साहजक उपस्थिति देखिएको हो । आगामी दिनमा अवलोकनकर्ताकोे उपस्थिति अझै बढ्नेमा आफूहरु विश्वस्त रहेको अध्यक्ष घिमिरेले बताए ।

मेला जेठ ८ सम्म सञ्चालन हुनेछ । मेलामा स्वदेशी २२ कम्पनीका करिब सय वटा स्टल छन् । मेलामा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

मेलामा १० देखि ५० प्रतिशतसम्म छुट प्रदान भइरहेको संयोजक सुरज बञ्जाडेले बताए । राजधानी काठमाडौंमा एसोसिएसनले ६ महिनापछि बहृत खालको मेला आयोजना भएको हो ।

आन्तरिक उत्पादनलाई प्रवर्दन गर्ने लक्ष्यसहित मेला आयोजना गरिएको एसोसिएसनले जनाएको छ ।

टिप्पणिहरु
Loading...