
काठमाडौं : सर्वोच्च अदातलले बाटो खुलाइदिएपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आज बुधबारदेखि नियमित काममा फर्किने भएका छन् । गभर्नर अधिकारी २४ चैतको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार २५ चैतबाट निलम्बनमा परेका थिए ।
न्यायाधीश हरि फुयालको एकल इजलासले मंगलबार ‘गभर्नर अधिकारीलाई पदीय जिम्मेवारी पूरा गर्न दिनू’ भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
मन्त्रिपरिषद्ले गभर्नर अधिकारीलाई निलम्बन गर्दै पूर्वन्यायाधीश भण्डारीको नेतृत्वमा जाँचबुझ समिति बनाएको थियो । तर, सर्वोच्चले योसँग सम्बन्धित कुनै पनि निर्णय कार्यान्वयन नगर्न भनेको हो ।
सर्वोच्चले दुबै पक्षलाई छलफलका लागि १३ वैशाखमा बोलाएको छ ।


