Admission Open

तङरिँदै पर्यटन : म्याग्दीका पर्यटकीय क्षेत्र र धार्मिकस्थलमा बढ्न थाल्यो पर्यटकको घुइँचो

ध्रुबसागर शर्मा/गलेश्वर : विगत दुई वर्षदेखि कोरोना महामारीका कारण सुस्ताएको पर्यटन र होटल व्यवसाय पुरानै लयमा फर्किन सुरु गरेको छ । वसन्त ऋतुको सुरुआतसँगै म्याग्दीका पर्यटकीय क्षेत्र आन्तरिक पर्यटकले खचाखच भरिन थालेका छन् भने मन्दिर, देवालय र शक्तिपीठमा भक्तजनको घुइँचो लाग्न थालेको छ ।

दुई वर्षसम्म पर्यटक र तीर्थयात्रीविहीन बनेका यहाँका पर्यटकीय तथा धार्मिकस्थलमा फागुन दोस्रो सातायता दुई वर्षयताकै धेरै पर्यटक आएका पर्यटन व्यवसायीहरुले बताएका छन् । स्थलमार्गबाट मुस्ताङ जाने पर्यटकका लागि बेनी प्रवेशद्वारसमेत भएको हुनाले मुस्ताङ जाने र बागलुङ कालिका तथा पञ्चकोटमा आएका पर्यटक पनि म्याग्दीका पर्यटकीयस्थल हेर्न आउने क्रम बढेकाले म्याग्दीका आन्तरिक पर्यटक तथा धार्मिक पर्यटकको भीड बढेको हो ।

मुक्तिनाथ भ्रमण ढोरपाटन भ्रमण र बागलुङ कालिका मन्दिरको दर्शनका लागि आएका भक्तजन एक दिनको बसाइ लम्ब्याएर बेनीसम्म आई यहाँका पर्यटकीय र धार्मिकस्थलमा रमाउन थालेपछि विगतका वर्षभन्दा यस वर्षको फागुन र चैतमा आन्तरिक पर्यटकको सङ्ख्या उल्लेख्य देखिएको हो ।

नवलपुरको गैडाकोट–१२ हर्कपुरबाट पाँच दिनको भ्रमण समय छुट्याएर मुक्तिनाथ पुगेपछि म्याग्दीको तातोपानी, गलेश्वर धाम र बेनी बजार भ्रमण तथा दर्शनका लागि एक दिन छुट्याएर म्याग्दीमा बसेको मनोहर सुवेदीले बताए ।

हर्कपुरबाट २१ जनाको टोलीसहित मुक्तिनाथ, म्याग्दी र बागलुङ भ्रमणमा आएकी लक्ष्मी पौडेल र चितवन भरपुरको क्षेत्रपुरबाट १८ जनाको टोलीसहित गलेश्वर दर्शनका लागि आएकी बिमला बरालले होटलमा बस्ने बाससमेत पाउन मुस्किल भएको बताए । उनले सामाजिक सञ्जालमा देखेको मुक्तिनाथ र गलेश्वरको मन्दिर, रुप्से झरना, तातोपानी कुण्ड, बागलुङ भगवती मन्दिर, लामो पुल, पञ्चकोटलगायत स्थानले आफूलाई यस क्षेत्रको भ्रमणमा आउन प्रेरित गरेको बरालले बताए ।

भरतुपर महानगरपालिका–२ क्षेत्रपुर चितवनको मितेरी आमा समूह, चितवनकै बीस हजारी सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड र धादिङ जिल्लाको श्री विशाल आमा बचत तथा ऋण सहकारी संस्था लगायतका संस्था बस लिएरै म्याग्दी, बागलुङ र मुस्ताङको भ्रमणमा आएका छन् । यस्ता सामाजिक तथा सङ्घसंस्था दैनिक सयौँको सङ्ख्यामा म्याग्दीमा आउन थालेका छन् । अहिले गलेश्वर, तातोपानी र हरियाली कृषि परियोजना परिसरमा पर्यटक बोकेका सवारीसाधनको चाप थेगिनसक्नु छ ।

त्यसैगरी बागलुङको ऐतिहासिक चैत्राष्टमी मेलाको पूर्वसन्ध्यामा गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक गन्तव्य बागलुङ कालिका, पञ्चकोट, शालग्राम सङ्ग्रहालय र लामो झोलुङ्गे पुलमा आएका पर्यटक बेनी र बेनी नजिकका धार्मिक पर्यटकीयस्थलमा आएपछि यहाँका पर्यटकीय क्षेत्रमा पर्यटकको चाप बढेको होटल यतिकी सञ्चालिका बिमला गौचनले बताइन् । चैते दसैं सुरु भएको र मुस्ताङको मुक्तिनाथ जाने भारतीय पर्यटकसमेत मुक्तिनाथपछिको दोस्रो गन्तव्य बेनीलाई मानेर यहाँ आउने गरेकाले रौनक बढेको उनले बताए ।

चैत दोस्रो सातादेखि म्याग्दीका अधिकांश ठूला होटल भरिभराउ भएको होटल व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष बाबुराम आचार्यले जानकारी दिए । पहिला नेपाली र भारतीय पर्यटकको रोजाइ बनेको मुक्तिनाथ मन्दिर सोझै गएर फर्कने चलन थियो, तर पछिल्ला वर्षमा मुक्तिनाथ पुगेका पर्यटक बेनी, बागलुङ कालिका र पञ्चकोटमा समेत पुग्ने गरेकाले यस क्षेत्रको पर्यटकीय विकासमा थप सहयोग पुगेको पर्यटन व्यवसायीहरुले बताएका छन् ।(रासस )

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...