Admission Open

ad place

जुम्लाका बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइँदै

खलङ्गा : जुम्लाका ४२ हजार ४ सय २० बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने भएको छ । यही चैत २५ देखि आगामी वैशाख ७ गतेसम्म जिल्लामा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने जनस्वास्थ्य कार्यालय प्रमुख कृष्ण सापकोटाले जानकारी दिए ।

उनले यहाँका आठवटै स्थानीय तहका १९ महिनादेखि माथि र १५ वर्षमुनिका ती बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने उनले बताए । खोपबाट बचाउन सकिने रोगहरुलाई शून्यमा झार्ने सरकारको लक्ष्यअनुसार जुम्लामा बढ्दो टाइफाइड रोगविरुद्ध खोप अभियान सञ्चालन गर्न थालिएको हो । पूर्ण खोपको सुनिश्चितता गर्न, खोप कभरेज ९५ प्रतिशत पु¥याउने जिल्लामा अभियानकै रुपमा खोप दिन थालिएको छ ।

टाइफाइड दूषित पानी र खानेकुराबाटै सङ्क्रमण हुने रोग हो । चैत/वैशाखमा धुलोधुवाँ बढ्ने, गर्मीले खानेकुरा पनि सफा नहुने भएकाले रोग फैलिने जोखिम हुन्छ । बेलैमा सचेत रहन तथा टाइफाइडबाट बालबालिकालाई बचाउनका लागि खोप अभियान चलाउने तयारी गरिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार खोपबाट कोही बालबालिका नछुट्ने गरी गाउँ तथा विद्यालयमा १ सय ९१ को खोप टोली परिचालन गरिनेछ ।

जिल्लामा आव २०७५/७६ मा ९ सय ७८, आव २०७६/७७ मा एक हजार १ सय ५८, आव २०७७/७८ मा ८ सय ७९ र चालु आवको आठ महिनामा ५ सय ९२ जना गरी चार वर्षमा जिल्लाका तीन हजार ५ सय ९७ नागरिक टाइफाइडका बिरामी रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...