Admission Open

ad place

जिम्मल बाको खुँदो र सरकार

# दीपक निरौला

लघुकथा

हिउँद लागेपछि पानी पंधेरो नजिकैको फाँटमा लगाएका जिम्मल बा का ऊखुमा गुलियो भरिन्थ्यो ।
जिम्मल बा उखु हेरेर मख्ख पर्थे र जुँगामा ताउ लगाउँदै भन्थे, अव उखु पाके ।
उखुका पात सुक्न थालेपछि जिम्मल बा वरिपरी बयरको काँडाको बार लगाएर ऊखु जोगाउँथे ।
खान त परै जावस् कसैले उखु छोएको पनि मन पर्दैन थ्यो उनलाई । साँझविहान पानी लिन जाँदा ऊखुका लाँक्रा हेरेर घुटुघुटु थुक निल्दै गह्रुंगा पानीका गाग्रा र प्लाष्टिकका तुम्लेट बोकेर घर फर्कन्थे भुराभरी।
हरेक वर्ष फागुनको अन्तिम साता जिम्मल बा ऊखुबारी फाँड्थे । सबै ऊखु जम्मा गरेर, कोलमा घान हालेर खड्कुलाभरि रस जम्मा पार्न खेताला लगाउँथे । जम्मा पारेको रसलाई चिलाउने र अग्राखका खरा दाउरामा खुँदो बनाउन सुरू गर्थे ।
रातको ११ बजेतिर तयार हुने खुँदो खान छरछिमेकका सबै भुराभुरी र तिनका बा-आमालाई बोलाउँथे ।
दिनभर मेलापात र स्कुले गतिविधिले लखतरान भएका कति भुराभुरी घरमै निदाउँथे भने कति बाआमाका दौरा, सारीको फेरो समाएर राँकोको मधुरो उज्यालोमा लड्दै र ढुन्मुनिदै जिम्मल बा को घर पुग्थे ।
तातो भुङ्ग्रोमा उम्लिएको खुदोमा मरिचको धुलो छर्किएपछि जिम्मल बा सबैलाई पालैसँग हात थाप्न लगाउँथे र सबैको हातहातमा अपुङ्गो, पञ्चामृत जति नै दिन्थे । त्यति खुँदो चाट्न पाउँदा पनि गाउँलेहरु मख्ख पर्थे र उसै रमाउँथे ।
पितिक्क खुँदो चाट्न पाउँने आसले गाउँलेहरु भने कोही दाउरा ल्याउन सघाउँथे, कोही आगो जोर्न र कोही खुँदो भर्न ।
त्यसरी धेरै वर्ष ऊखु खेती गरेका जिम्मल बा ले हरेक वर्ष त्यसैगरी उखु जोगाए, उखु पेलेर खुँदो पकाए र चखाए सोझा गाउँलेहरुलाई ।
हाम्रो सरकारले महत्वपूर्ण निर्णय कार्यान्वयन गर्नु पर्दा जहिल्यै मध्यरातमा गरेजस्तै, जिम्मल बा ले दिउँसै खुँदो पकाएर कहिल्यै खुवाएनन् गाउँलेहरुलाई । यस मानेमा जिम्मल बा र सरकारमा एकदम समानता देख्थे गाउँलेहरु ।
एक अर्कामा खासखुस कुरा काटे पनि जिम्मल बा का अघि तैँ चुप मै चुप थिए गाउँलेहरु ।
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...