Admission Open

क्रिप्टोको अवैध कारोबार : ९ करोड ७४ लाख रुपैयाँ हिनामिना

काठमाडौं : मुलुकको ढुकुटीमा अमेरिकी डलरको हिस्सा क्रमशः घट्दा त्यसको प्रभाव समग्र अर्थतन्त्रमा बढ्दै गएको छ । वैदेशिक मुद्रा सञ्चिति घट्दो क्रममा रहेको बेला विदेशी विनिमयको गैरकानुनी रुपमा प्रयोग गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

विभागले रतुवामाई नगरपालिका–७ मोरङका पुष्कर श्रेष्ठ र विनिता लिम्बूविरुद्ध ‘विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अनुसार काठमाडौं जिल्ला अदालतमा सोमबार मुद्दा दायर गरेको मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ । उनीहरुले नेपालमा प्रतिबन्धित वानएक्सवेट, विनाश, एड्भी क्यास, क्वाइनबेस र प्याक्फुल जस्ता माध्यमको प्रयोग गरी सामूहिक मिलेमतोमा अमेरिकी डलरको गैरकानुनी कारोबार गरेको पाइएको छ । विभागका अनुसार आरोपितले विभिन्न एप तथा गैरकानुनी माध्यममार्फत रकम राख्ने वा पठाउने गरेको पाइएको छ ।

उनीहरुले अमेरिकी डलरको सटही तथा क्रिप्टोमा लगानीकर्ताको रुपमा रहेको अनुसन्धानबाट खुलेको छ । आरोपी श्रेष्ठले मेगा बैंकबाट ८६ लाख ८३ हजार ४ सय २९ रुपैयाँ, सिटिजन बैंकबाट दुई करोड ५१ लाख ७६ हजार ९९ रुपैयाँ, एनआइसि एशिया बैंकबाट एक करोड ८२ लाख ४९ हजार ८ सय ८९ रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकबाट दुई करोड ३६ लाख ६२ हजार ५ सय ३९ रुपैयाँ गरी कूल सात करोड ५७ लाख ७१ हजार ९ सय ५८ बराबरको रकम हिनामिना गरेको पाइएको छ । यस्तै, आरोपी लिम्बूले एनआइसि एशिया बैंकबाट दुई करोड १६ लाख ९८ हजार २४ रुपैयाँ बराबरको रकम हिनामिना गरेको देखिन्छ । विभागले कूल नौ करोड ७४ लाख ६९ हजार ९ सय ८३ रुपैयाँ बराबरको विदेशी विनिमयको अपचलन गरेको अध्ययनमा पत्ता लगाएको छ ।

विभागले आरोपीलाई बिगो जफत गरी सजाय र तीन वर्षसम्मको कैद सजायको मागदाबी गर्दै मुद्दा दायर गरिएको छ । नेपाल राष्ट्र बैंकले २०७४ साउन २९, २०७५ चैत २६ र २०७८ भदौ २४ गते अवैध रुपमा विदेशी विनिमयको अवैध कारोबार नगर्न निर्देशन दिएको छ । यस्तै, नेपालमा गैरकानुनी रहेको क्रिप्टोकरेन्सीको कारोबार नगर्न समेत पटक–पटक केन्द्रीय बैंकले निर्देशन दिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...