NIC ASIA

Mangalam Pipes

विकासका पूर्वाधार तथा समृद्धिका आधार सिँचाइः प्रवक्ता डा. महत

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले विकासका पूर्वाधार तथा समृद्धिका आधार भनेकै सिँचाइ कुलो र खानेपानीका धारा भएको बताउनुभएको छ । नुवाकोटको शिवपुरी गाउँपालिका–८ स्थित ‘ठूलोछहरे सानोछहरे कुलो (नहर)’ सोमबार उद्घाटन गर्दै उहाँले ठूलो योजनाको निर्माणको थालनी नै साना संरचनामार्फत हुने हुँदा देश विकासका लागि गाँउ–गाँउमा आवश्यक संरचनाको निर्माणमा सरकारले जोड दिनुपर्ने सुझाव दिनुभयो ।

“आफू सिँचाइ कुलो उद्घाटनका लागिमात्रै आएको होइन”, पूर्वमन्त्री डा महत भन्नुभयो, “संरचना निर्माणको अवस्था, आगामी दिनमा गर्नुपर्ने सम्बोधन तथा किसानका गुनासो सुन्न अवसर मिलाएको हुँ, त्यसका लागि के गर्नुपर्छ तयार छु ।” नुवाकोटका नेता भए पनि केन्द्रीय राजनीतिमा व्यस्त रहनुभएका उहाँले पार्टीले जिम्मेवारी दिएकाले नै काठमाडौँबाट चुनाव उठेको उल्लेख गर्दै अबका दिन नुवाकोटलाई नै कार्यथलो बनाउने उद्घोष गर्नुभयो । “पार्टीले खटाएअनुसार राजधानी काठमाडौँबाट चुनावमा सहभागिता जनाए पनि विकासका मोडेल गाँउगाँउमा बनाउनुपर्छ, त्यसका लागि म जन्मेको नुवाकोटलाई मुख्य केन्द्रमा राखेर राजनीतिमार्फत देशभर नै सेवा गर्न अगाडि बढ्दछु”, उहाँले भन्नुभयो ।

कार्यक्रममा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नुवाकोटका डिभिजन प्रमुख हरिप्रसाद गुरागाईँले निर्माण व्यवसायीले गुणस्तरहीन काम गरेसँगै कारबाही र जरिवाना तिराएर उपभोक्ता समितिमार्फत काम गरेर सिँचाइ योजना सम्पन्न गरेको जानकारी दिनुभयो । उहाँको अनुसार तीन किलोमिटर लम्बाइको सिँचाइ कुलोमा आवश्यकतानुसार मुहानको बाँध, आरसिसी लाइनिङ, मेसेरेनरी वाल, पाइपलाइनलगायतका संरचना उपभोक्ता समितिको नेतृत्वमा योजनाका लाभग्राही किसानबाट कार्यसम्पन्न गरिएको हो । निर्माण व्यवसायी र समितिमाफर्त योजना पूरा गर्दा रु एक करोड ७३ लाख लगानी भएको सो अवसरमा जानकारी दिइएको थियो ।

‘ठूलोछहरे सानोछहरे कुलो (नहर)’लाई जिल्लाकै नमूना योजना बनाउन सफल भएकाले पनि दलीय प्रतिनिधिमार्फत उद्घाटन गराई विकासको मोडेल देखाउने प्रयास गरिएको समितिका अध्यक्ष नरेन्द्रनाथ थपलियाले बताउनुभयो । ठूलो छहरे र सानो छहरे (सन्सारे) खोला दुई खोलाको पानीलाई बाँध बनाई सिँचाइ योजना सञ्चालनमा ल्याइएको हो । योजना सम्पन्न भएसँगै करिब सय घरधुरी किसानलाई बाह्रै महिना उनीहरूले उपभोग गर्ने एक हजार १०० रोपनी क्षेत्रफल भूमिमा सिँचाइ गर्न पानी प्रशस्त उपलब्ध भएको छ । मानव निर्मित उक्त सिँचाइ योजनालाई प्रकृतिकै स्वरुपमा बहन गर्न दिइएको छ भने ठाउँ–ठाउँमा झरना तथा छहरा आकर्षक बनाइएको छ ।

“सिँचाइ सुविधा सहज भएसँगै किसान परम्परागत खेती छाडेर नगदे खेती र बालीतर्फ आकर्षित हुन थालेका छन्”, उहाँले भन्नुभयो, “सिँचाइ कुलोको पानीले घट्ट चलाइएको छ भने लघुजलविद्युत्, माछापालनलगायतका लागि अध्ययन थालिएको छ ।” (रासस)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...