
काठमाडौं : नेपाली भाषामा अनुवादित ‘पतञ्जलि योग सूत्र’ पुस्तक विमोचन गरिएको छ। श्रीश्री रवि शंकरद्वारा व्याख्या गरिएको पुस्तक ‘पतञ्जली योग सूत्र’ महर्षि पतञ्जलिले मानव चेतनाको उच्चतम अवस्था हासिल गर्ने तरिकाको रूपमा उल्लेख गरेका संक्षिप्त सूत्रहरूको संकलन रहेको प्रकाशकले बताएका छन्।
यस पुस्तकमा योगको अनुशासन, समाधि, ईश्वर, क्रियायोग, दुःखका कारण र यसबाट मुक्तिका उपाय, अष्टांग–योग आदि विषयमा सरल व्याख्या गरिएको छ। उक्त व्याख्यामा आधारित अंग्रेजी पुस्तक आर्ट अफ लिभिङका प्रशिक्षक सूर्य पराजुलीले नेपाली भाषामा अनुवाद गरेका हुन्।
द आर्ट अफ लिभिङ नेपालले प्रकाशन गरेको यस पुस्तकलाई नेपाल भाषा प्रज्ञा प्रतिष्ठानका कुलपति तथा साहित्यकार शताब्दि–पुरूष सत्यमोहन जोशी, श्रीश्री स्कुल अफ योगका निर्देशक दिनेश काशीकर र आर्ट अफ लिभिङका प्रशिक्षक माधव नेपालले गरेका छन्।
द आर्ट अफ लिभिङ ०६० सालमा नेपालमा दर्ता भई सेवारत सामाजिक संस्था हो। यसले तनावमुक्त मन र हिंसामुक्त समाज भन्ने आफ्नो उद्देश्य हासिल गर्न विभिन्न सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।
यस संस्थाले तनाव व्यवस्थापनसम्बन्धी विभिन्न तालिम सञ्चालनका साथै द्वन्द्वयुक्त क्षेत्रमा शान्ति कायम गर्नेलगायत भूकम्प तथा कोरोना संक्रमणजस्ता विपदका बेला सेवा गर्दै आएको जनाएको छ।