Admission Open

ad place

हामी आमा-छोरा घन्टौँ रोएर बस्थ्यौँ

# यम बास्तोला

घरको पल्लो सुरमा पुगेर पछाडि हेरेँ । कोही थिएन फेरि फर्किएँ र सरासर किताब भएको पोको खोलेर स्वाट्ट देवीभागवत् झिकेँ । हत्तपत्त कमिज उचालेर पेटतिर घुसारेँ र दौडिएँ गोठतिर …

[ पाँच ]

क्रमश…                                                      

बाटोभरि मेरो सातोपुत्लो थिएन ।

म एकैसासमा गोठमा पुगेँ । गोठभित्र पस्नुअगाडि मैले पछाडि फर्किएर हेरेँ । कोही आईरहेको छकि भनेर, कोही थिएन । मैले देवीभागवत्लाई सिरानेमुनि घुसारेँ र बाहिर आएँ । अर्को बाटो भएर घरतिर लागेँ । घरपुग्दा मेरै खोजी भईरहेको रहेछ । आँगनको डिलमा नपुग्दै पर्शुराम काकाले भने, कहाँ गएको थिईस ? यहाँ तेरो कत्रो खोजी भईरहेको छ ।

मेरा आँखाअगाडि हजार तारा उदाए । बित्याँस भो कसले देख्यो होला । म लाज र डरले डल्लो परेँ । अनुहार फुलेजस्तो भयो । कान तातो भए । म बिस्तारै आगनको डिल उक्लिएँ । हंसले ठाउँ छोडेको थियो ।

दौडँदै गएर गोठमा पु¥याएको देवीभागवत् ल्याउँ कि जस्तो लागेको थियो । तर गईँन ।

म उभिएकै थिएँ । बुवा छेउमा आउनु भो, बुबा मतिर आउने बित्तिकै मेरो मुटु फुट्लाजस्तो भएर उफ्रियो । मेरो छेउमा आएर बुबाले भन्नु भो, बाबु लु छिटो खाना खाएर त्यो एक पोको सामान पुरेत बाजेको घरसम्म पु¥याईदेऊ है ;

मैले हत्तपत्त हुन्छ भने र दौडेर लागेँ भतेरतिर । मेरो डर साप्सुको पानीजस्तै सङ्लिएर बग्यो ।

म भित्रभित्रै घोडाझैँ हिनहिनाएँ ।

डोकोमा हालेको भारी बुच्चेकी आमाले बोकिन् । किताबहरू भएकै पोकोमा सलको नाम्लो बनाएर मलाई बोकाई दिईन् । पुरेत बाजे र पुरेत्नी बजैहरू अगाडि लागे उनीहरूका पछि म र मेरो पछि भोरी बोकेकी बुच्चेकी आमा… ।

जाँदाजाँदै मलाई अर्को एउटा किताब पनि झिकेर लाने बिचार आयो । अलैँचे खोलामा पुगेपछि बुच्चेकी आमाले भारी टेकाईन् । त्यही मेसोमा मैले पनि कुम्लो बिसाएँ । मलाई पोकोबाट कतिबेला मौका मिलाएर रामायण पनि झिकौँ भईरहेको थियो । साइत जु¥यो । पोको अलिक सजिलो ठाउँमा राखेँ र बुच्चेकी आमालाई भने, आन्टी म दिसा गरेर आउँछु तपाईँ हिँड्दै गर्नु ।
यति भनेर म खोल्सातिर लागेँ । बुटामा छलिएर हेरिरहेँ । बुच्चेकी आमा भारी बोकेर छिटो आउ है माईला म हिँडे भन्दै हिँडिन् । उनी पर पुगेपछि मैले हतारहतार पोकोबाट रामायण र गुणारत्न माला झिकेँ र झाडीमा पत्करले छोपेर लुकाएँ ।

फर्केर आउँदा फेरि पिसाब फेर्ने निहुँ गरेर झाडिमा पसेँ र लुकाएका किताब पछाडि ढाडमा घुसारेँ र पाइजामाले च्यापेँ । बाटोभरी म बुच्चेकी आमाका पछाडिपछाडि मात्र हिँडे । घरनेर पुगेपछि सिधै गोठतिर झरेँ र देवीभागवत् भएकै ठाउँमा रामायण र गुणारत्न माला पनि घुसारेँ ।

हजुरबा बितेपछि म गोठ बस्न छोडेँ । गोठमा बुबा बस्न थाल्नु भो ।

हजुरबा स्वर्गे भएपछि बुबा घरमै खाना खानु हुन्थ्यो र सुत्नमात्र गोठ जानुहुन्थ्यो । बिहान खाना खान आउँनु हुन्थ्यो र बेलुकी खाना खाएर गोठ जानु हुन्थ्यो । हजुरबा बितेको वर्षदिन पनि नबित्दै एकदिन बेलुकीको खाना घरमै खाएर बुबा राँकोे बाल्दै गोठ जानु भएथ्यो ।

त्यसपछि फेरि फर्कनु भएन ।

बिहान आमा भैँसीको खोले पकाउने नुनपिठो लिएर गोठ पुग्दा बुबा सुतेको सुत्यै हुनुहुँदोरहेछ । आमाले उठाउन झकझकाउनु भएछ । बुबाले कुनै चालचुल नगरेपछि ओढेको सिरक उघारेर हेर्दा त बुबा चिसो भईसक्नु भएको थियो रे । आमा आत्तिदैँ घर आउनु भो हामी सबै काकोहोलो गर्दै गोठ गयौँ । गाउँभरिका मान्छे पनि गोठमै भेला भए ।
हामीले बुबाको सम्पूर्ण अन्तिम सँस्कार गोठमै ग¥यौँ ।

बुबाको बरखी बारेर बसेका हामी आमा र दुईछोराले सेतो लुगा लगाएका थियौँ । म बाह्रवर्ष र जेठोदाइ चौधवर्षका थियौँ । साथमा हामीमुनि अरू ससाना दुई भाइहरू पनि थिए । सानो भाइ डेढवर्ष र अर्कोभाइ तीनवर्ष । हजुरबाको स्वर्गे हुनु अगाडि नै दिदीको बिहे भई भईसकेको थियो ।

बुबा खसेकै वर्ष ती दुई भाइहरूलाई पनि छ महिनाको अन्तरालमा सन्निपातले लग्यो ।

भाइहरूलाई लगातार सात दिनसम्म पखाला लागिरह्यो । हस्पिटल लाने आँट आएन । हस्पिटल हाम्रो गाउँबाट एक दिनको पैदल यात्रापछि बल्ल पुगिन्थ्यो । त्यस्तो सानोतिनो जस्तै झाडापखाला वा ज्वरो आउँदा प्रायः हस्पिटल लाने चलननै थिएन । पहिले साँइलो भाइ बिमारी भयो । पाँचदिनसम्म आमा आफैँले केके केके औषधिमुलो गर्नु भो । आमाको औषधिले नछोएपछि सातो गयो होला भनेर गाउँकै सबैभन्दा जान्ने बिजुवा धामी बिक्द्वारेलाई झिकाइयो । उसले थुप्रै मन्त्रोच्चारण गर्यो । ऊ दैलाको ठेलाबाहिरै बस्यो । आमालाई भित्र राखेर आमाको काखमा भाइलाई बसाएर भाइको अनुहारमा सातवटा दुबोका मुन्टाले चिसोपानी छेप्यो । भाइ आत्तिएर रोयो । बिक्द्वारेले भन्यो, अव ठिक हुन्छ कुनै चिन्ता लिनु पर्दैन । थोरै जङ्गलीले पनि दुःख दिएको रहेछ मैले मन्साई दिएको छु । भोलिबाट आँखा उघार्छ ।

बिक्द्वारेले त्यसो भनेर गएको भालिपल्ट अर्थात सात दिनको बिहानै साँइलो भाइ सकियोे ।

त्यसको ६ महिनापछि उस्तै बिमारले कान्छो भाइले पनि संसार छोड्यो । कान्छो भाइ मरेपछि आमा झण्डै दुईमहिना थलिनु भो । दुई महिनासम्म अर्धचेतमै । कहिले दिनभर रोएको रायै गर्नुहुन्थ्यो, कहिले हिँडेको हिँड्यै । अरू सबै काम छोडेर मैले आमाको हेरचाहमै दिन बिताउनु पथ्र्यो ।

दुई महिनापछि आमा बिस्तारै आफैँ तङ्रिन थाल्नु भो ।

हाम्रो परिवार पूरै आर्थिक र पारिवारिक सङ्कटले थिलथिलो भयो ।

म माथिको जेठो दाइ जन्मै रोगी । उसको रोग के थियो मलाई हेक्का छैन । केही खानै हुन्नथ्यो फत्र्याक फत्र्याक परिजाने । मैले जान्दादेखि नै उसलाई हरेक दिन दबाई खुवाउनु पथ्र्यो । ऊ केही कामगर्न सक्दैनथ्यो । बोली पनि लट्याङ्ग्रो थियो । बुबाको देहवशान भएपछि त ऊ दिनदिनै थलिँदै गयो । एकवर्षसम्म ओछ्यानको ओछ्यानै । आमाले अनेक जडिबुटी, धामीझाँक्री र ओखतीमुलो गर्दा पनि निको भएन । टाढा लगेर उपचार गर्ने सामथ्र्य हामीसँग थिएन । एकवर्षसम्म उसको पेटमा भैँसीको दूधबाहेक केही अन्न परेन । मुखबाट अन्न पेटमा पुग्यो कि उल्टी भै जान्थ्यो । दुखाइ सहन नसकेपछि उसलाई रोटी पकाउँदा हाल्ने सोडा एकफाँको दिनु पथ्र्यो । सोडा खाएपछि भने केहीछिन शान्त हुन्थ्यो । यसरी दुईवर्ष पूरै सोडाले दुखाइ सहेको ऊ अन्तत: सदाका लागि दुखाइ सहनु नपर्ने गरी गयो ।

सोह्रवर्ष पुग्दा नपुग्दै दाजु पनि हजुरबा, बुबा र भाइहरुकै बाटो लाग्यो ।
दाजुको सम्पूर्ण काज किरिया मैेले नै गरेँ ।

यसरी परिवारमै एक्लो भएँ म । पढाई त्यसै छुट्यो । साथीहरू पनि छुटे ।
म सम्पूर्णरुपमा घर व्यवहार, काम-धन्दा र खेती किसानीमा लागेँ ।

त्यतिका मान्छेको काजकिरिया र धर्मसंस्कार गर्दा घरको जायजेथो र गोठका गाईबस्तु पनि जम्मै सकिएका थिए । एउटा बुढो भैँसी थियो । अलिकति जमिन थियो । म त्यही भैँसीको स्याहार सुसार गर्थेँ । आमा पनि मसँगै काममा सहयोग गर्नुहुन्थ्यो ।
आमा काम गर्दागर्दै कहिलेकाँही मुर्छा पर्नुहुन्न्थो । म आत्तिँदै आमालाई पानी छेप्थेँ । केही समयपछि आमा बौरिनु हुन्थ्यो । सायद मानसिक चिन्ताले होला आमा त्यसो हुनुभएको । आमा बौरिएपछि म आमालाई सम्झाउँथेँ । आमा, ‘सबैजना गएपनि म त छु नि किन यसरी चिन्ता गर्नुहुन्छ । जे पर्छ बाँकी सबैकुरा म गर्छु । अव बितेको कुराको चिन्ता गरेर के गर्नुहुन्छ’ ।
यसरी आमालाई सम्झाउँदा सम्झाउँदै म पनि भावुक हुन्थेँ । आँखाबाट बरबरी आँसु खस्थे । आमा मेरा आँखाका आँसु पुछिदिनु हुन्न्थो र फेरि मलाई सम्झाउन थाल्नुहुन्थ्यो । यसरी हामी आमाछोरा घन्टौँ रोएर बस्थ्यौँ । घर सुनसान थियो । जताहे¥यो सुन्यता मात्रै । हामी सून्य सून्यमै सून्य भईरहेका थियौँ ।

यति भनेपछि उनी फेरि रोकिए ।

उनको मनमा अतीतका सारा बृतान्त उकुसमुकुस भएर आएको मैले बुझिरहेको थिएँ ।

क्रमश…

यस भन्दा अघिका आख्यान अंश 

वाक्य रुद्रघण्टीसम्म आएर रोकियो

म पनि पछिपछि लागेँ घाटतिर…

म पनि पछिपछि लागेँ…घाटतिर…

स्वाट्ट देवीभागवत् झिकेँ, हत्तपत्त कमिज उचालेर घुसारेँ र दौडिएँ गोठतिर …

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...