
नेपाली माला - खबरै खबरको माला, नेपाली माला
१२ बैशाख २०८२, शुक्रबार
नेपाली माला - खबरै खबरको माला, नेपाली माला
काठमाडौँ : भारतको राजधानी नयाँ दिल्लीमा सोमबारदेखि विद्यालयहरू खुलेका छन् । आज बिहान ९ देखि १२ सम्मका बालबालिका विद्यालय परिसरमा देखा परेका छन् ।
यससँगै कलेज, जिम, स्पा र स्विमिङ पुल पनि आजदेखि खुल्दैछन् । कोविड-१९ को ओमिक्रोन भेरियन्ट सार्वजनिक भएको र बढ्दो केसका कारण डिसेम्बरमा विद्यालयहरू बन्द भएका थिए।
भारतीय मिडियाहरुका अनुसार लेफ्टिनेन्ट गभर्नर अनिल बैजलको अध्यक्षतामा दिल्ली आपदा व्यवस्थापन प्राधिकरण (डीडीएमए) को बैठकपछि शुक्रबार यो निर्णय लिइएको हो।
दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियाले शुक्रबार पत्रकार सम्मेलनमा फेब्रुअरी ७ बाट विद्यालय र कलेजहरू खोल्ने जानकारी दिएका थिए ।
दिल्लीमा रातिको कर्फ्यू नहटाइएपनि समय राति १० बजेबाट ११ बजेसम्म बढाइएको छ । अर्थात अबदेखि दिल्लीमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म मात्र रात्रि कर्फ्यू लाग्नेछ ।
यसबाहेक सोमबारदेखि सबै सरकारी तथा निजी कार्यालयहरू शतप्रतिशत क्षमतामा सञ्चालन गर्न सक्नेछन् ।
तर, दिल्ली सरकारले विद्यालय खुलेपछि पनि हाइब्रिड कक्षाको विकल्प उपलब्ध हुने स्पष्ट गरेको छ । अर्थात्, कक्षाहरू अनलाइन र अफलाइन दुवै लिइनेछ।