काठमाडौं : सरकारले अबको डेढ महिनाभित्रमा निजी क्षेत्रलाई विदेशमा विद्युत् व्यापारको अनुमति दिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिनेसम्बन्धी कार्यविधिको तयारी गरिरहेको भन्दै अबको एकदेखि डेढ महिनाभित्रमा काम सम्पन्न हुने बताइन् ।
नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालसहितको प्रतिनिधिमण्डलसँग बिहीबार भएको भेटमा ऊर्जामन्त्री भुसालले अन्तरदेशीय विद्युत् व्यापारमा निजी क्षेत्रलाई अग्रसर गर्ने सोचसहित कार्यविधि तयार भइरहेको जानकारी दिए । “विद्युत् निर्यातमा निजी क्षेत्रलाई सहभागी बनाउने नै हाम्रो सोच हो”, उनले भने, “विद्युत् आयात गर्न दिँदैनौँ, तपाईंहरूले गन्तव्य खोजेर निर्यात गर्नुस्”, उनले भने ।
सरकारले अन्तर्राष्ट्रिय बजारमा निजी क्षेत्रले सिधै विद्युत् बिक्री गर्न सक्नेगरी कार्यविधि तयार गर्ने उहाँले जानकारी दिए । “आफैँ विद्युत् उत्पादन गर्ने र बिक्री गर्नेलाई पनि सहजीकरण गर्ने गरी कार्यविधि बनाउछौँ”, उनले भने । उनले विद्युत् उत्पादनमा मात्रै नभई प्रसारणमा समेत निजी क्षेत्रलाई सहभागी गराउने उल्लेख गर्नुभयो । उहाँले बङ्गलादेशसम्म विद्युत् निकासीका लागि सरकारले विशेष पहल गर्ने पनि उल्लेख गरे । मन्त्री भुसालले नेपालमा उत्पादन हुने विद्युत्को मुख्य बजार भारत भएकाले निजी क्षेत्रले पनि भारतमा बजार खोज्नुपर्ने बताए ।


