पोखरा : पोखरा उद्योग वाणिज्य संघ (पिसिसिआई) ले बतास अर्गनाइजेसनको पक्षमा विज्ञप्ति प्रकाशन गरेको छ । संघको सदस्य संस्था होटल आनन्दका सञ्चालक आनन्दराज बतास र बतास अर्गनाइजेसनसँग जोडिएर विभिन्न समय विभिन्न संचारमाध्यममा आएका समाचार तथा सार्वजनिक टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको संघले जनाएको छ ।
‘हाम्रो सदस्य प्रतिष्ठानले नारायणहिटी दरबारमा रेष्टुराँ संचालनदेखि अन्य विभिन्न स्थानमा गरेका व्यावसायिक गतिविधिहरु राज्यप्रदत्त व्यापार÷व्यवसाय गर्न पाउने क्षेत्राधिकारभित्रै रहेर गरिएको घामजत्तिकै छर्लङ्ग भएको विषय हो,’ संघले भनेको छ, ‘सरकारले टेण्डर आह्वान नगरेको भए, सार्वजनिक निजी साझेदारी अवधारणा अनुरुप निजी क्षेत्रलाई लगानीको आह्वान नगरेको भए बतास समूह न नारायणहिटी भित्रको रेष्टुराँमा लगानी गथ्र्यो न त गौशाला वा अन्य क्षेत्रमा नै व्यवसायको सम्भावना खोज्न उद्यत रहन्थ्यो ।’
राज्य स्वयंले टेण्डर आह्वान गर्ने, सार्वजनिक निजी साझेदारी अनुरुप निजी क्षेत्रको लगानी खोज्ने र तोकिएका प्रावधान पूरा गर्दै लगानी गरिसकेपछि विभिन्न आरोप÷प्रत्यारोप लगाउँदै भाँजो हाल्ने प्रवृत्ति आफैमा विरोधाभाषपूर्ण र पूर्वाग्रहबाट प्रेरित रहेको संघले विज्ञप्तिमा उल्लेख गरेको छ । ‘पछिल्लो समय सरकारले गरेका गतिविधिहरुले निजी क्षेत्रको मनोवल गिराउने काम मात्रै गरेको छैन, आफैले गरेका निर्णयहरु लत्याउने एवं कानूनी राज्यको खिल्ली उडाउने काम भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रक्रिया र कानूनविपरीत भएका गतिविधिमाथि राज्यले अंकुश लगाउने र कारवाही गर्नु राज्यको कर्तव्य हो । त्यस्ता गतिविधिमाथि कारवाही गरिनुपर्नेमा संघ स्पष्ट छ तर सस्तो लोकप्रियताका लागि व्यक्तिमाथि खनिनुलाई किमार्थ राम्रो मान्न सकिँदैन ।’
संचारमाध्यममा आएका टिप्पणीकै भरमा, स्पष्टिकरणको मौकासमेत नदिइ मन्त्रीकै निर्देशनमा निर्माणाधीन संरचना भत्काइनु भनेको राज्यको गैरजिम्मेवारीको पराकाष्ठा भएको संघले जनाएको छ । ‘सम्झौतामा दुबै पक्षको हस्ताक्षर हुन्छ र तोड्दा अवलम्बन गर्नुपर्ने प्रावधानहरु पनि स्पट रुपले किटान गरिएकै हुन्छ । ती प्रावधान लत्याउने दुबै पक्षलाई नभएको पनि हामी स्मरण गराउन चाहन्छौं । पोखरा उद्योग वाणिज्य संघ यस्ता गतिविधिहरु तत्काल रोक्न,राज्यबाट भएको ज्यादतिको क्षतिपूर्ति दिन र कानूनी राज्यको प्रत्याभूति गराउँदै सफाइको मौका दिन एवं व्यवसायीको सम्पत्तिमाथि पु¥याइएको नोक्सानीको क्षतिपूर्तिको लागि पोखरा उद्योग वाणिज्य संघ जोडदार माग गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ, ‘बतास व्यक्ति हैन,व्यवसायी हो । अहिले भएको प्रहार व्यवसायीमाथिकै प्रहार हो । लगानी गर्ने, रोजगारी सिर्जना गर्ने तथा राज्यलाई कर तिर्ने व्यवसायीहरुको मानमर्दन र चरित्रहत्या गर्ने प्रवृत्तिले लगानीको वातावरण बन्दैन भन्नेमा पनि हामी सरोकारवाला निकायको ध्यानाकर्षण गराउन चाहन्छौं ।’