Admission Open

ad place

सार्वजनिक सवारीदेखि, कलेज र सिनेमा क्षेत्रलाई १० दिन बन्द गर्ने तयारी : उपत्यकाका सीडीओहरुको बैठक

काठमाडौं, २५ पुस : केही दिनयता निरन्तर बढ्दै गएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणको रोकथामबारे छलफल गर्न काठमाडौं उपत्यकाका (काठमाडौँ, भक्तपुर र ललितपुर) प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको छ ।

यसअघि शुक्रबार कोभिड संकट व्यवस्थापन केन्द्र समन्वय समिति (सीसीएमसी)को बैठक बसेको थियो । जसमा प्रधानमन्त्री शेरबहादुर देउवाले संक्रमण रोकथामका लागि तत्काल कदम चाल्न निर्देशन समेत दिएका थिए।

प्रधानमन्त्रीले उक्त निर्देशन दिएलगत्तै उपत्यकाका सीडीओहरुको बैठक बस्न लागेको हो । बैठक आज दिउँसो बस्ने स्रोतको भनाइ छ । तर सीडीओको बैठक बस्नुअघि तीन जिल्लाको डीसीसीएमसीको बैठक पनि बस्दैछ । लगत्तै सीडीओहरुले स्वास्थ्य मन्त्रालयसँग छलफल गर्ने बताइएको छ।

यस्तै, स्रोतका अनुसार आज नै सीसीएमसीको बैठक पुनः बस्ने तयारी छ, जसमा स्वास्थ्य मन्त्रालयले कोरोनाको पछिल्लो अवस्थाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गर्ने बताइएको छ।

त्यसपछि गृह मन्त्रालयसँग समन्वय गरेर तीनै सीडीओले स्मार्ट लकडाउन कार्यविधिअनुसार संक्रमण रोकथामबारे निर्णय गर्ने भएका छन् सोमबारभित्र बस्ने तीनै प्रशासनको बैठकले भीडभाड हुने क्षेत्रलाई नियन्त्रण गर्नेतर्फ निर्णय गर्ने काठमाडौंका सीडीओ गोविन्दप्रसाद रिजालको भनाइ छ।

रिजालका अनुसार एकैपटक सबै क्षेत्र बन्द नगर्ने तर बढी भीडभाड हुने क्षेत्रहरु यातायात, मालपोत, स्कुल, कलेज, सिनेमा घर, क्लबलाई एक हप्तादेखि १० दिनसम्म बन्द गर्नेबारे छलफल हुने छ।

यसअघि शुक्रबार बसेको सीसीएमसी बैठकपछि स्वास्थ्यमन्त्री विरोध खतिवडाले स्मार्ट लकडाउनमा जानेबारे छलफल भएको बताएका थिए । संक्रमण बढ्दै गएको अवस्थामा भीडभाड हुने क्षेत्रहरु समेत बन्द गर्न सकिने मन्त्री खतिवडाको भनाइ थियो ।

टिप्पणिहरु
Loading...