विराटनगर : प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले कोभिड उपचारमा संलग्न चिकित्सकहरुलाई ओमिक्रोन भेरियन्टको सम्भावित संक्रमणबाट सतर्क रहेर काम गर्न निर्देशन दिएका छन् ।
कोभिड अस्पताल विराटनगरको बिहीबार निरीक्षण गर्दै उनले पछिल्लो समयमा कोरोना भाइरस तथा यसको घातक भनिएको ओमिक्रोन भेरियन्टको सम्भावित खतरातर्फ सतर्क रहेर काम गर्न र त्यसको उपचारका लागि तयारी गर्न समेत निर्देशन दिएका हुन् ।
साथै मन्त्री कार्कीले कोरोना संmमितहरुलाई उपचारमा कुनै कमी हुन नदिन पनि आग्रह गरेका थिए ।
उनले भने “उपचारमा आउने बिरामीले अस्पतालमै उपचार पाएनन् भने कहाँ जाने, यस विषयमा यहाँहरुले गम्भीर भएर सोच्नुपर्छ र सबैलाई चुस्त रुपमा सेवा दिनुपर्छ ।”
स्वास्थ्य उपचारमा कुनै कमी कमजोरी हुन नदिन प्रदेश सरकार चनाखो भएको र ओमिक्रोन भेरियन्टको सङ्क्रमण बढ्न सक्ने देखिएकाले अस्पतालको व्यवस्थापन चुस्त र दुरुस्त हुनुपर्जे उनले बताए ।
मन्त्री कार्कीले त्यहाँ उपचाररत बिरामीहरुका साथै अस्पतालको आइसियु, भेन्टिलेटर कक्षलगायतको अवस्थाको बारेमा पनि जानकारी लिएका थिए ।