म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक कालोपत्रको तयारी भएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरबाट घार, खिवाङ, शिख हुँदै घोडेपानी नजिकैको बस्ती चित्रे जोड्ने १८ किलोमिटर ५४० मिटर सडक स्तरोन्नति र कालोपत्र हुन लागेको हो ।
पोखरेबगरबाट घार, खिवाङ, शिख हुँदै घोप्टेखर्कसम्मको १४ किलोमिटर सडक विस्तार, नाली निर्माण र ग्राभेल सकेर १० किलोमिटर दूरीमा कालोपत्रका लागि सबबेस राखिएको आयोजनाका सबइञ्जीनियर दवलसिंह तामाङले जानकारी दिए । “पोखरेबगरबाट घोप्टेखर्कसम्मको ढलान र सोलिङ गर्ने अधिकांश काम सकिएको छ”, उनले भने, “कालोपत्र गर्नुपर्ने ठाउँमा सबबेस राख्न र घोप्टेखर्कबाट चित्रेखण्डमा विस्तारको काम भइरहेको छ ।”
तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ, म्याग्दीले पोखरेबगर–चित्रे सडक स्तरोन्नति गर्न विसं २०७५ मङ्सिरदेखि आयोजना सुरु गरेको थियो । प्राधिकरण खारेज भएपछि यो आयोजना सङ्घीय सरकारको स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय पोखरालाई हस्तान्तरण भएको छ ।


