काठमाडौं, १५ मंसिर : राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न छ वटा अध्यादेश जारी गरेकी छन् ।
नेपालको संविधानको धारा ११४ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उहाँले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश–२०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश–२०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश–२०७८ अध्यादेश जारी गरेकी हुन्।
त्यस्तै,तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश–२०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश–२०७८ र रेल्वे अध्यादेश–२०७८ जारी गरेकी हुन् ।
तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको यी अध्यादेश संसदले अनुमोदन नगर्दा निष्क्रिय भएका थिए । अहिले संसद सञ्चालनमा नभएको बेलामा सरकारले फेरी अध्यादेश ल्याइएको हो ।
बलात्कारीलाई सजाय बढाउन, तेजाब आक्रमण गर्नेलाई सजाय बढाउन, तेजाब आक्रमणबाट पीडितको सहज उपचारका लागि, रेल सञ्चालन आदि कामका लागि यी अध्यादेश ल्याउनुपरेको सरकारले जनाएको छ ।