
काठमाडौं : अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले कर प्रणाली र करदाताका समस्या तत्काल समाधान गर्न संयन्त्र निर्माण गर्ने बताएका छन् । बुधबार दशौं राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभाग लाजिम्पाटमा आयोजित कार्यक्रमलाई सम्बोधन गदै उनले समस्याको तत्काल समाधान गर्न संयन्त्र बनाइने बताएका हुन् ।
‘करदाताहरूको गुनासा सुन्नुपर्छ । यहाँ आइसकेपछि एउटा इकाई बनाउनुपर्ने आवश्यकता महसुस गरेँ’, मन्त्री शर्माले भने , ‘तपाईँहरूले भन्नुभएको ‘झ’ झिक्नका लागि एउटा इकाई/संयन्त्र बनाउँछु । त्यहाँ तपाईँले गुनासो राख्न पाउनुहुन्छ ।’ उनले कहाँ र के कारणले समस्या भएको भन्ने समस्याको तत्काल समाधानका लागि संयन्त्र बनाउने बताएका हुन् ।
मन्त्री शर्माले चुहावटको सूचना दिनेलाई पुरस्कृत नगरिएको गुनासो आएको बताउदै त्यस्ता सूचना दिनेलाई तत्काल पुरस्कृत गर्न पनि आग्रह गरे । पुरस्कृत नगर्दा सूचना दिन हतोत्साहित हुने गरेको र त्यसले कर सङ्कलनमा समेत असर गरिरहेको भन्दै उनले ‘इन्सेन्टिभ’ दिन छुटेकालाई समेत तत्काल दिन निर्देशन दिए ।
उनले जनताले बुझाएको करबाटै सरकारको नेतृत्वकर्ता र कर्मचारीहरू जनताको सेवा गरिरहेको बताए । त्यस्तै राजस्व व्यवस्थापनलाई आगामी दिनमा प्रविधियुक्त बनाउँदै करदातामैत्री बनाइने बताए । ‘पेपरलेस’, ‘कन्ट्याक्टलेस’ बनाउने प्रक्रिया थालनी भएको बताउदै उनले सुरुवात गरेर मात्र नहुने भन्दै त्यसलाई पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘सकारात्मक कामहरू सुरु हुन्छन्, त्यो राम्रो कुरा हो । तर सम्पन्न हुनुबाट मात्र परिणाम आउँछ’, उनले भने, ‘सुरु गरेर मात्र पुग्दैन । कर दिवसको अवसरमा सम्पन्न गर्ने प्रतिवद्धता यहाँ जनाउँछु ।’
कर दिवसमा आयोजित सो कार्यक्रमका अवसरमा मन्त्री शर्माले तीन वटा प्रतिवद्धता समेत व्यक्त गरे । उनले कर प्रशासनमा हुने झन्झटलाई तत्काल समाधान गर्न इकाई/संयन्त्र बनाउने, भन्सारमा ‘भेकल स्क्यानर’ को व्यवस्था गर्ने र स्टिकर सकार आफैँले छाप्ने प्रतिवद्धता गरेका छन् ।


