पोखरा, ३० कात्तिक : मुल्य बृद्धिको विरोधमा नेपाल कम्यूनिष्ट पार्टीले आज नेपाल बन्द गरेको छ । पेट्रोलियम पदार्थ तथा खाद्यान्नजस्ता अत्यावश्यक वस्तुमा सरकारले निरन्तर मूल्यबृद्धि गरेपछि नेपाल बन्दको आयोजना गरेको दावी नेकपाको छ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वले आयोजना गरेको बन्दका कारण कास्की जिल्लामा प्रभाव परेको छ । बन्दका कारण कास्कीमा बजार,सार्वजनीक सवारी साधन चलेका छैनन् । पोखराका सडकहरु सुनसान भएका छन् भने मुख्यचोकहरुमा प्रहरीको उपस्थिति बाक्लो बनाइएको छ ।
यसैवीच बन्द आह्वानकर्ता नेपाल कम्युनिष्ट पार्टीका दुई कार्यकर्तालाई विहानै प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय कास्कीले नेकपा कास्कीका जिल्ला सदस्य एवं कार्यालय सचिव काजी गुरुङ र अखिल (क्रान्तिकारी)पृथ्वीनारायण क्याम्पस समितिका उपाध्यक्ष युवराजलाई छोरेपाटनबाट पक्राउ गरेको हो ।
बन्दलाई सफल बनाउनका लागि आज विहानै नेकपाका कार्यकर्ताहरुले राजमार्गका मुख्य–मुख्य भागहरुदेखि सहरका चोक–चोकमा टायर बाल्ने तथा विरोध प्रदर्शन गरेका थिए । एकाविहानै नेकपाका कार्यकर्ता छोरेपाटन, बागलुङ बसपार्क, नयाँ बजार, पृथ्वीचोक, नागढुङ्गा, तल्लो गगनगौंडा, रुपा गाउँपालिका र मादी गाउँपालिका लगायत कास्कीका विभिन्न ठाउँहरु विरोध प्रदर्शन गर्दै बन्द कार्यक्रम सफल गराउनका लागि खटिएका छन् ।