काठमाडौँ, १९ कार्तिक
आईसीसी टि-२० विश्वकप अन्तर्गत बिहिबार भएको सुपर-१२ चरणको समुह ‘१’ अन्तर्गतको खेलमा डिफेन्डिङ च्याम्पियन वेस्टइन्डिज श्रीलंकासंग २० रनले पराजित भएपछि विश्वकपको सेमीफाइनल पुग्ने सम्भावना एक खेल अगावै समाप्त भएको छ। श्रीलंकाको सेमीफाइनल सम्भावना यस अघिनै टुंगिएको थियो।
शेख जायद स्टेडियममा टस हारेर ब्याटिंगको निम्तो पाएको श्रीलंकाले २० ओभरमा ३ विकेट क्षेतीमा १८९ रन बनाएको थियो। श्रीलंकाको ब्याटिंगमा चरिथ असलंकाले ४१ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ६८ रन बनाए । यस्तै पथुम निसंकाले ५१, दासुन शनाकाले २५ तथा कुशल परेराले २५ रन बनाए।
श्रीलंकाले दिएको १९० रनको लक्ष्य पछ्याएको वेस्टइन्डिजले पुरै ओभर ब्याटिंग गर्दै ८ विकेटको क्षेतीमा १६९ रन मात्र बनाउन सक्यो। वेस्टइन्डिजको ब्याटिंगमा सिमरन हेटमायरले ५४ बलमा ८ चौका र ४ छक्का प्रहर गर्दै अविजित सर्वाधिक ८१ रन बनाए । यस्तै निकोलस पुरनले ४९ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
श्रीलंकाको बलिंगमा बिनुरा फर्नान्डो , चमिका करुनारत्ने र वानिन्दु हसरंगाले समान २-२ विकेट तथा दुश्मन्था चमिरा र दासुन शनाकाले समान १-१ विकेट लिए । त्यस्तै वेस्टइन्डिजको लागी बलर आन्द्रे रसेलले २ तथा ड्वेन ब्राभोले १ विकेट लिए।
दुई विकेट लिएका वानिन्दु हसरंगा टि-२० विश्वकप इतिहासमै एकै विश्वकपमा सर्वाधिक विकेट लिने बलर बनेका छन्। श्रीलंकाकै अजन्था मेन्डीसले सन् २०१२ विश्वकपमा लिएको १५ विकेटको रेकर्ड तोड्दै हसरंगाले ८ खेलमा १६ विकेट लिंदै विश्वकीर्तिमान बनाएका हुन्।
श्रीलंकाको जितसंगै वेस्टइन्डिज एक खेल अगावै समुह ‘१’ बाट विश्वकपको यात्रा समाप्त गरेको छ । बंगलादेश र श्रीलंकाको विश्वकपको यात्रा यस अघिनै टुंगिसकेको थियो।
समुह ‘१’ बाट इंग्ल्यान्ड, अस्ट्रेलिया र दक्षिण अफ्रीका मध्ये शिर्ष दुई टिम सेमीफाइनल प्रवेश गर्नेछन्।
समुह ‘१’ को अन्तिम दुई खेल नोभेम्बर ६ तारिख शनिवारको दिन हुदै छ। दिनको पहिलो खेलमा अस्ट्रेलिया र वेस्टइन्डिज तथा दोश्रो खेलमा इंग्ल्यान्ड र दक्षिण अफ्रीका बीच प्रतिस्पर्धा हुनेछ।