Admission Open

ad place

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि मन्दिरमा बलि नदिने निर्णय गरेको

भक्तपुर, २९ असोज

विगतका वर्षमा बडादसैँ टीकाको दिन राँगो, बोका, कुखुरा, हाँसलगायतको बली तलेजु भवानीमा दिइने गरिन्थ्यो । तर यस वर्ष कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि पालिकालगायत सम्बन्धित सरोकारवाला निकायको बैठकले बलि चढाउन नदिने निर्णय गरेको थियो ।

भक्तपुरकी लक्ष्मीमाया माक पूजा गर्न दरबार स्क्वायरस्थित तलेजु भवानीमो मन्दिरमा गइन् । तर गेटमा पुग्न नपाउँदै त्यहाँका सुरक्षाकर्मीले भित्र जानबाट रोकिहाले । अनि मन्दिरमा चढाउन आएको अछेटा घरमै फिर्ता लगिन् ।

‘पहिले पहिले मन्दिरभित्र गई पूजा गरेको थिएँ । दसैँमा पूजा गर्न आएको तर भित्र जान दिएन,’ उनले भनिन्, ‘कोरोना भएकोले भित्र जान नदिएको रे । गेटमा गएर पूजा गरेर फर्किएँ ।’

तलेजु मन्दिरमा पूजा गर्नको लागि रामेश्वर तमखु पूजा सामग्री लिएर मन्दिर भित्र पस्न खोजे तर उनलाई पनि सुरक्षाकर्मीले रोके । उनी पनि गेट छेवैको मन्दिरलाई पूजा गरी फर्किए ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि भन्दै यस वर्ष सामान्य रुपमा पूजा गर्न अनुमति दिएकोले भित्र गएर पूजा गर्न नदिएको सुरक्षाकर्मीले बताएका छन् ।

तर स्थानीयले मन्दिरभित्र पसेर पूजा गर्न नदिएकोमा दुखेसो पोखेका छन् । सधैँ पूजा गर्दै आएको मन्दिरमा पूजा गर्न नपाउँदा खल्लो लाग्ने तमखुले बताए ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि मन्दिरमा बलि नदिने निर्णय गरेको नगरप्रमुख सुनील प्रजापतिले बताए । उनले विगतका वर्षमा १२५ जना पुजारीलाई तलेजु भवानीको लागि गेट पास दिएको र बलि दिएमा भीडभाड हुने भएकोले नदिने निर्णय गरेको सुनाए ।

‘मन्दिरमा सरकारले बलि दिने गर्छ । राँगोलगायत विभिन्न पशु बलि दिइन्छ,’ उनले भने, ‘नगरपालिका, गुठी संस्थान, सुरक्षाकर्मीलगायत सरोकारवाला निकायसँग बसेर निर्णय गरेका हौं । सोही निर्णयअनुसार आज बलि दिइने छैन । तर सामान्य पूजा गर्न पाउनेछन् ।’

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...