काठमाडौं, २९ असोज
नेपालीको महानचाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी हो । आज आश्विन शुक्लपक्षको प्रतिपदाका दिन घटस्थापना गरेर नौ दिनसम्म पूजाआराधना गरिएको दुर्गाभवानीको विसर्जन गरिँदै छ । देवी विसर्जन गर्ने उत्तम साइत आज बिहान ८ः१९ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
घरमा देवीको आह्वान गरेको दशौंदिन विजया देवीको पूजा गरिने र नौदिनसम्म उपासना गरिएको देवीको प्रसादलाई टीका र जमराको रुपमा लगाइने भएकाले आजको दिनलाई विजया दशमी भनिएको हो ।
शुम्भ र निशुम्भ नाम गरेका राक्षसलाई देवताहरूको आग्रहमा यिनै देवीले बध गरेको कथा मार्कण्डेय पुराणमा उल्लेख छ । पुराणका अनुसार यसैदिन महिषासुर र शुम्भमाथि विजय प्राप्त गरिएको थियो । त्यस्तै भगवान रामले पनि विजया देवीको आराधना गरी दशमीकै दिन राक्षसराज रावणलाई मार्न लंका प्रस्थान गरेका थिए ।
देवी विसर्जन गरेपछि घटस्थापना गरेको घडाको जलले अभिषेक गर्ने र देवीको प्रसादलाई अन्य देवता तथा आ–आफ्ना कुलदेवतालाई चढाई मान्यजनबाट टीका जमरा लगाइन्छ ।