केशब आचार्य,
काठमाडौं, २५ असोज : नेपाली लेगस्पिनर सन्दीप लामिछाने आईसीसी प्लेयर अफ दी मन्थ बनेका छन् । उनी सेप्टेम्बर महिनाका लागि उत्कृष्ट खेलाडी घोषित भएका हुन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले भोटिङका आधारमा सन्दीपलाई सेप्टेम्बर महिनाको प्लेयर अफ दी मन्थ घोषणा गरेको हो ।
आइसिसी ले गत साता सार्वजनिक गरेको सेप्टेम्बर महिनाको ‘आइसिसी प्लेयर अफ दि मन्थ’ को मनोनयनमा सन्दीपसँगै बंगलादेशका लेफ्ट आर्म अथोडक्स नासुम अहमद र अमेरिकाका हार्ड हिटिङ ब्याटर जसकरण मलहोत्रा परेका थिए । भोटिङमा सन्दीपले अहमद र मल्होत्रालाई पछि पार्दै उत्कृष्ट खेलाडी बन्न सफल भए।
सन्दीपले लिग-२ को त्रिकोणात्मक सिरिजमा उत्कृष्ट बलिङ गरेका थिए । उनले ६ ओडीआई म्याचमा १८ विकेट लिएका थिए । उनले पपुवा न्यूगिनीविरुद्ध ४/३५ र ६/११ तथा ओमानविरुद्ध ४/१८ को उत्कृष्ट बलिङ गरेका थिए ।
महिलातर्फको अवार्ड इंग्ल्यान्डकी कप्तान हेदर नाइटलाई प्रदान गरिने भएको छ।