केशब आचार्य,
काठमाडौं, २४ असोज : माल्दिभ्सको राजधानी मालेमा जारी साफ च्याम्पियनसिप २०२१ मा आइतबार राती भएको नेपाल र भारत बिचको खेलमा नेपाल १ – 0 गोलले पराजित भएको छ ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको ८२ मिनेटमा भारतका कप्तान सुनील क्षेत्रीले गोल गर्दै भारतको लागी अग्रता दिलाएका थिए । उनले फारूख चौधरीले हेडमार्फत दिएको पासको सदुपयोग गर्दै गोल गरेका थिए। पहिलो हाफमा भने सुनीलले पाएको सुन्दर मौका खेर फालेका थिए।
जारी साफमा भारतको यो पहिलो जित हो। यसअघि भारतलाई श्रीलंका र बंगलादेशले बराबरीमा रोकेका थिए। पहिलो खेलमा १० खेलाडीमा सीमित बनेको बंगलादेशले भारतलाई १-१ गोलको बराबरीमा रोकेको थियो। दोस्रो खेलमा भारतलाई श्रीलंकाले गोलरहित बराबरीमा रोक्न सफल भयो।
नेपालको भने यो पहिलो हार हो। यसअघि नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्स र दोस्रो खेलमा श्रीलंकालाई हराएको थियो।
साफको अंक तालिकामा माल्दिभ्स ६ अंक जोड्दै शीर्ष स्थानमा छ भने दोस्रो स्थानको नेपालको पनि ६ अंक नै छ। भारत ५ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ। चौथो स्थानको बंगलादेशको ४ अंक छ भने १ अंक जोडेर पाँचौ स्थानमा रहेको श्रीलंका भने बाहिरिसकेको छ।
साफमा नेपाल र भारतको इतिहास ;
भारतविरुद्ध नेपालले एकै जितमात्र निकालेको छ । त्यो सन् २०१३ को साफ च्याम्पियनसिपमा, जसमा नेपालले भारतलाई २-१ ले पराजित गरेको थियो। त्यसयता भारतविरुद्ध खेलेका ७ मध्ये नेपाल ५ खेलमा पराजित भएको थियो भने २ खेल बराबरीमा सकिएका थिए।
नेपाल र भारतबीच गत महिना दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल भएका थिए। पहिलो खेलमा १-१ गोलको बराबरीमा सकिएको थियो भने दोस्रो खेलमा भारतले २-१ ले जित निकालेको थियो।
अब असोज २७ गते – अपरान्ह ४:४५ मा नेपाल भर्सेस बंगलादेश बिच खेल हुनेछ ।