काठमाडौं, १३ असोज : बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० मा साविक विजेता ललितपुर प्याट्रिओट्सले दोस्रो हार बेहोरेको छ । वर्षाका कारण दुई दिनदेखि प्रभावित बनेको ईपीएलमा बुधबार पोखरा राइनोज र ललितपुरबीच पहिलो खेल भएको थियो । बर्षाका कारण आउटफिल्ड केहि गिलो भएका कारण खेल ७ ओभरमा झारिएको थियो। टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित ओभरमा ६ विकेट गुमाउदै ५१ रन बनाएको थियो ।
ललितपुरका लागि सन्दुन विराकोडीले सर्वाधिक १९ रन , नारायण जोशीले ११ रन त्यस्तै ओशादा फर्नान्डोले १० रन (अविजित ) बनाएका थिए । कप्तान कुशल भुर्तेल मात्र तीन रनबनाउदै पेबिलिएन फर्किएका थिए । पोखराका लागि नन्दन यादवले ३ तथा विक्रम सोबले २ विकेट लिए । २ ओभर बलिङ गर्दा दुवैले समान ११ रन खर्चिए । केज्रिक विलियम्सले २ ओभरमा १५ रन खर्चेर १ विकेट लिए ।
६.३ ओभरमा १ विकेट गुमाउँदै ललितपुरले दिएको ५२ रनको लक्ष्य पोखराले पूरा गरेको थियो। पोखराका लागि ओपनर रिचर्ड लेभीले २२ बल खेल्दै ५ चौका र १ छक्का मद्दतमा अविजित ३८ रन बनाए त्यस्तै रित गौतमले १२ रन जोडेका थिए । ललितपुरको लागी अज्जतुल्लाह ओमारजाईले एक विकेट लिएका थिए । यो हारसँगै ललितपुर अंकविहीन हुँदै तालिकाको पुछारमा छ भने पहिलो खेलमा भैरहवासँग अंक बाँडेको पोखरा पहिलो जितपछि २ खेलबाट ३ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।