काठमाडौं, १३ असोज : नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बुधबार बस्दैछ । बैठक आज १२ बजे पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बस्ने बताइएको छ । यसअघि बिहान ९ बजे बस्ने भनिएको बैठक तीन घण्टा पछि सरेको हो ।
पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाउने बताइएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छानेको मन्त्रीलाई आजको बैठकले औपचारिक रुपमा अनुमोदन गर्ने बताइएको छ ।
पाँच दलीय गठबन्धन भित्रको सहमतिअनुसार माओवादी केन्द्रले ५ मन्त्री र १ राज्य मन्त्री पाउँनेछ । माओवादी केन्द्रबाट अर्थमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुसाल मन्त्री भइसकेका छन् । बाँकी तीन मन्त्री र एक राज्य मन्त्रीको नामावली आज टुंगो लाग्ले बताइएको छ ।
यस पटक माओवादी केन्द्रले मन्त्री नभएका नयाँ अनुहारलाई प्राथमिकतामा राखेको छ ।
माओवादी स्रोतअनुसार देवेन्द्र पौडेल, हरिबोल गजुरेलले मन्त्री बन्ने निश्चित भएको छ । देव गुरुङ, अमनलाल मोदी र सन्तकुमार चौधरी मध्ये एकलाई मन्त्री बनाउँन अध्यक्ष प्रचण्डलाई दवाव छ ।
यसैगरी महेश्वर गहतराज अथक, सुदन किराती मध्ये एक जना मन्त्री हुनसक्ने बताइएको छ । यसैगरी महिलाबाट अञ्जना विशंखे र शशी श्रेष्ठ मध्ये एक जना राज्य मन्त्री हुने सम्भावना रहेको बताइएको छ ।