आज इन्द्रजात्रा विविध कार्यक्रमसाथ इन्द्रको पूजा आराधना गरी मनाइँदै

कोरोनाले गत वर्ष रोकिएको जात्रा यस वर्ष स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर मनाइँदै

काठमाडौं, ३ असोज : काठमाडौंको मुख्य पर्व इन्द्रजात्रा सुरु भएको छ । शनिबार बिहान ६ः५१ बजेको साइतमा वसन्तपुरको हनुमानढोका दरबार छेउको कालभैरव छेउमा इन्द्रध्वज उठाएपछि इन्द्रजात्रा सुरु भएको हो । वर्षा र सहकालका देवताका रुपमा पुजिने देवराज इन्द्रको आज विशेष पूजा–आराधना गरी परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ उपत्यका (काठमाडौँ, ललितपुर, भक्तपुर) लगायत उपत्यका बाहिर धुलिखेल, दोलखा आदि स्थानमा पनि धुमधामसँग मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआराधना गरी आठदिनसम्म मनाउने प्रचलन रहेको छ ।

शनिबार बिहान ६ः५७ बजेसम्म द्वादशी रहेकाले त्यसै दिन इन्द्रध्वजोत्थानको साइत निस्किएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । आइतबार बिहान सूर्योदय चतुर्दशी तिथिमा हुने भएकाले यस दिन इन्द्रजात्रा मनाउने निर्णय गरिएको उनको भनाइ छ । यसपटक त्रयोदशी तिथिमा सूर्योदय नभएको समितिले जनाएको छ ।

भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।

यसअघि तान्त्रिक विधिद्वारा पूजा गरी भक्तपुरको चितपोल जङ्गलमा छोडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन काटिन्छ । काटेपछि लिङ्गोलाई उपत्यका भित्र्याउन पनि साइत हेरिन्छ । उपत्यका भित्र्याएपछि एक रात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...