Admission Open

दुहवी–इनरुवा सडक खण्ड बनाउन एकजुट भएर लाग्छौं : राजिव कोइराला

[ सुनसरी क्षेत्र नं. ४ (ख) प्रदेशसभा सांसद तथा १ नं. प्रदेश विपक्षी दलका नेता ]

विगतका केही अंकमा दुहवी इनरुवा सडक खण्डको बारेमा प्रसस्तै विषय उठान गरियो । वास्तवमै यो सडकको दुरावस्थाका बारेमा जति नै सम्झदा पनि चित्त बुझ्दैन । यस क्षेत्रका भुक्तभोगी नेताको चाल देख्दा, सडकको दुरावस्थाले गर्दा सर्वसाधारण जनतालाई साँच्चै ने पीडा बोध हुन्छ । यो सालको बर्खेझरी साविक भन्दा बढी वर्षा, जीर्ण अवस्थामा रहेको सडकको हाल बयान गरेर साध्य छैन । साना ठूला सवारीको चाप, साइकल, पैदलयात्री तथा पशु चौपायाको चापले गर्दा अत्यन्तै व्यस्त सडकको बारेमा जनस्तरमा गुनासो बढेको बढ्यै छ । जनगुनासो सुन्ने र सडकको दूरावस्थाका बारेमा समाधानका उपाय खोज्ने भनेको जनताबाट चुनिएर गएका जनप्रतिनिधिले नै हो ।

हामीले पहिलेका अंकमा केन्द्रदेखि स्थानीय स्तरका नेताको नाम र कामको विषयमा प्रश्न उठाएका थियौँ । तर, आजसम्म खेमराज पोखरेल बाहेक अरु कुनै नेताको जवाफ आएको छैन् । पोखरेलले दुरावस्थाको सडकका बारेमा दिएको जवाफ सिलसिलेवर रूपमै आम पाठक सामु प्रस्तुत हुनेनै छ । तर आज सडकको दुरावस्थाको बारेमा मात्रै केन्द्रित रहेर नेका सुनसरी जिल्ला सभापति, प्रदेश नं ४ (ख) का प्रदेश सांसद तथा १ नं. प्रदेश विपक्षी दलका नेता राजिव कोइरालासँग नेपाली माला अनलाईनका वरिष्ठ संवाददाता दीपक निरौलाले गरेको कुराकानीको सार :

दुहवी–इनरुवा सडक खण्डको बारेमा यहाँ जानकार त हुनुहुन्छ नि ?

छु । नेपाली कांग्रेसका सभापति स्व. गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको बेला नेपाल सरकारको केन्द्रीय योजनाअनुसार २०४८ सालमा १४ किमी सडक कालोपत्रे भएर निर्माण सम्पन्न भएको हो । यसको शिलान्यास काँग्रेस नेतृ तात्कालीन कृषि मन्त्री स्व. सुश्री शैलजा आचार्यबाट भएको हो ।

सडकको वर्तमान अवस्था चाहिं कस्तो छ ?

यहाँले उठान गर्नु भएजस्तै वास्तवमै सडक दुरावस्थामा छ । यसको स्वास्थ्य साँच्चै नै नराम्ररी विग्रिएको छ । सवारी चापका कारण साँघुरो भएपनि करिव २५ वर्ष अगाडि बनेको सडक मजवुद नै रहेको छ

अनि यत्रो विषयमा जानकार भएर पनि किन थाहा नपाएजस्तो गर्नु भएको त ?

केही पहिले त कुरा उठाइएको थियो । तर जनस्तरबाट त्यति चासो नदिएका कारण विषय ओझेलमा परेको हो । अर्को कुरा सडक पूर्वाधार कार्यालयका कर्मचारी तहबाट कुरा उठेको रहेछ । पछि त्यतिकै सेलाएर गएको हो । केन्द्रीय सकारको मातहतमा रहेको सडक हो । सडक बनाउने भनेर परिपत्र चाहिं भएको रहेछ तर त्यो कुरा कर्मचारीमै गुपचुप भएछ । जनप्रतिनिधिलाई जानकारी नगराएको कारण सडक निर्माणको काम ओझेलमा परेको कुरा सत्य हो । अहिले आएर तपाईंले कुरा उठान गर्नुभयो । अब हाम्रो ध्यानाकर्षण भएको छ ।

एक कानले सुनेर अर्को कानले उडाउने त होला, हैन ?

अहिले हामी नेपाली कांग्रेसको महाधिवेशनमा होमिएका छौँ । जिल्ला र स्थानीय तहको नेतृत्व चयनमा लागि परेका छौं । चुनावी गतिविधिमा व्यस्त रहने समय हो । तर बारम्बार विषय उठान भएपछि सुनसरी क्षेत्र नं.४ का संघीय सांसद सीताराम मेहताले १ नं. प्रदेशका सडक विभागका डिजी पशुपति ज्ञवालीलाई उहाँ (सीताराम मेहता) कै घरमा बोलाउनु भएको थियो । त्यसमा सीताराम मेहता म (राजिव कोइराला) र ज्ञवाली बसेर लामो छलफल ग¥यौं ।

हावा नलाग्ने वहस त गर्नुभयो होला हैन ?

होइन । हामीले सडक बनाउनु पर्छ भन्ने कुरामा जोडदार कुरा उठायौं । यस पटक ‘रिह्याव ’फण्डमा १४ करोड रुपैंयामात्र रहेछ । त्यति पैसाले टालटुल गर्नमात्र पुग्छ । व्यवस्थित ढल सहितको सडक निर्माण गर्न पैसा अभाव हुन्छ ।

भनेपछि कुरै सकियो ?

कुरा सकिएको छैन । अब हामी नेपाली कांग्रेसको चुनाव सकिएपछि संयुक्त रूपमा संघीय राजधानी काठमाडौँ गएर दह्रो आवाज उठाउँछौं । सामुहिक नेतृत्वमा गएर जसरी पनि सडक बनाउन लागि पछौँ । यो हाम्रो प्रतिवद्धता हो ।

सोझा सिधा जनतालाई आश मात्र देखाएर अन्त्यमा लोक्पा खुवाउने त होला नि होईन ?

यस पटक संघीय सरकार परिवर्तन भएसँगै मन्त्री परिषदले पूर्णता पाएको छैन । मन्त्री परिषदले पूर्णता पाउने वितिकै अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेट सिलिङ परिवर्तन हुने संभावना छ । यदि त्यस्तो भयो भने हामी जसरी पनि सडक निर्माणको कामका लागि बजेट छुट्याउन अर्थमन्त्रालयमा होस् या भौतिक यातायात कार्यालयमा होस् धर्ना बस्न तयार छौं । यदि बजेट सिलिङ परिवर्तन भएन भने पनि कतैको बजेट हाल्न लगाउने तर्फ कोशिष गछौँ । यदि हामीले भने जस्तो भएन भने अर्को साल व्यवस्थित ढल सहितको बाटोको लागि पूरा बजेट हामी ल्याउछौं । यो हाम्रो प्रतिवद्धता हो । यो क्षेत्रको जनप्रतिनिधि भएको नाताले मेरो पनि जिम्मेवारी हो । अस्तीबाटै हामीले संयुक्त रूपमा पहल कदमी थालिसकेको कुरा यहाँलाई अवगत गराएँ ।

कालो सूचीमा परेको ढेकेदार छनौट गरेर गुणस्तरहीन काम अनि नेता र दादाको हातमा दाम होला नि त ?

ठेकेदार छनौट नेपाल सरकारले गर्ने हो । टेण्डर प्रकृयाबाट गरिने त्यस कार्यमा हाम्रो केही पनि हात हुँदैन । गुणस्तरीयताको कुरामा स्थानीय जनताको खबरदारी अनिवार्य छ । गुणस्तरहीन काम भएको जानकारी पाउने वितिकै हामी कारवाहीको लागि आवाज उठाउँछौं । त्यसमा हामी स्वयं पनि वेलावेलामा निगरानीमा जान्छौं । घिनायाघाट– झोराहाट– विराटचोक जस्तै राष्ट्रिय गौरवको सडक बनाउने तर्फ हाम्रो ध्यान केन्द्रित रहने छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...