Admission Open

थलिएको पर्यटनलाई अघि बढाउन साझेदारी   

गण्डकी, १८ भदौ : कोरोना प्रभावित पर्यटनलाई गति दिनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक भएकामा जोड दिइएको छ । बुधबारदेखि सुरु पोखरा–सिमराबीच सिधा हवाई उडानसँगै नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स (नाट्टा) गण्डकी प्रदेश र नाट्टा प्रदेश नं २ को संयोजनमा वीरगञ्जमा बिहीबार आयोजित छलफल एवं अन्तक्र्रियामा थलिएको पर्यटनलाई बचाउनु पहिलो आवश्यकता भएको जनाउँदै वक्ताहरूले यसका लागि सरकार र निजी क्षेत्रबीच साझेदारी आवश्यक भएको बताउनुभयो ।

पर्यटन क्षेत्रमा निजी क्षेत्रको ठूलो लगानी भएको र कोरोनाको त्राससँगै सो लगानी जोखिममा परेको उल्लेख गर्दै कार्यक्रमका सहभागीले पर्यटनलाई कसरी जोगाउने भन्ने चिन्ता व्यक्त गरेका छन् । धेरैजसो व्यक्तिले कोरोनाविरुद्धको खोप लगाइसकेको अवस्थामा स्वास्थ्य सुरक्षा मापदण्ड कायम गर्दै तत्काल सीमानाका खुलाउनुपर्नेमा वक्ताहरूको जोड छ ।

गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्यमन्त्री मणिभद्र शर्मा कँडेलले सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै पर्यटनमैत्री कानुन निर्माण एवं सहजीकरण गर्दै अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । गण्डकी प्रदेश र प्रदेश नं २ बीच युगौँदेखिको सम्बन्ध रहेको उल्लेख गर्दै उहाँले पोखरा–सिमरा सिधा उडानले दुई प्रदेशबीचको सम्बन्धलाई अझै नजिक तुल्याएको बताउनुभयो ।

पर्यटकका लागि सामाजिक सुरक्षाका साथै भौतिक पूर्वाधार राज्यको दायित्व भएको जनाउँदै मन्त्री कँडेलले त्यसका लागि निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुवोधकुमार गुप्ताले पर्यटकीय नगरी र आर्थिक नगरीबीचको सिधा हवाई सम्पर्कले पर्यटकीय एवं आर्थिक गतिविधि बढेर जाने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं २ का अध्यक्ष गणेशप्रसाद लाठले पर्यटकलाई स्वदेशी एवं विदेशी भनेर विभेद गर्न नहुने उल्लेख गर्दै पोखरासँगको पर्यटकीय साझेदारीमा आफूहरू तयार रहेकामा जोड दिनुभयो । विवाहलगायतका समारोह गर्ने गरी पूर्वाधार विकास गर्न सकेमा पनि पर्यटनमा टेवा पुग्ने उहाँले बताउनुभयो ।

नाट्टा सेन्टरका अध्यक्ष अच्युत गुरागाईँले पोखरा–सिमरा सिधा उडानले गण्डकी प्रदेश र प्रदेश नं २ को पर्यटकीय साझेदारीमा महत्वपूर्ण सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । कोरोनाका कारण प्रभावित पर्यटनलाई बचाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले सरकारले नियम बनाउने तर कार्यान्वयनमा नल्याउनेजस्ता समस्या रहेकामा जोड दिनुभयो । उहाँले पर्यटनका लागि कर्मचारीलाई बिदा दिने विषयको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताउनुभयो । पर्यटन क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य आवश्यक भएको उहाँको भनाइ छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराईले पर्यटनका लागि कनेक्टिभिटी अपरिहार्य हुने बताउँदै प्रदेश–प्रदेशबीचको सिधा हवाई सम्पर्कलाई विस्तार गर्नुपर्ने बताउनुभयो । प्रदेश नं २ का साथै भारतीय पर्यटकलाई पोखरा भित्र्याउन सिधा हवाई सम्पर्क महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्दै उहाँले दुवै प्रदेशबीचको पर्यटकीय साझेदारी आवश्यक भएको उल्लेख गर्नुभयो ।

नाट्टा प्रदेश नं २ का अध्यक्ष मोहन शर्माले पोखरा–सिमरा सिधा उडानका लागि नाट्टाले लामो समयदेखि पहल गरेको र यो सम्भव भएको बताउँदै आगामी दिनमा दुवै प्रदेशबीचको पर्यटकीय सम्बन्ध र सहकार्य बढेर जाने बताउनुभयो ।

बुद्ध एयरका सञ्चालक परासरजङ्ग पाण्डेले पोखरा–सिमरा उडानले दुई प्रदेशलाई जोड्ने काम गरेको जनाउँदै यस उडानलाई व्यवस्थित गर्दै लगिने बताउनुभयो । नाट्टा गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष एवं आन्तरिक पर्यटन पुनःउत्थान कार्यक्रमका संयोजक हरिराम अधिकारीले थलिएको पर्यटनलाई बचाइराख्न सरकार र निजी क्षेत्रबीच साझेदारीको विकल्प नभएको उल्लेख गर्दै सरकारले राहत एवं पुनःउत्थानका कार्यक्रमलाई नीतिगतरूपमा मात्र नभई तत्काल कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

कोरोनाले थलिएको पर्यटनलाई बचाउनु अहिलेको आवश्यकता भएको पश्चिमाञ्चल होटल सङ्घका द्वितीय उपाध्यक्ष दीपक श्रेष्ठले बताउनुभयो । “सरकार र निजी क्षेत्रबीच साझेदारी गर्दै थलिएको पर्यटनलाई बचाउनु अपरिहार्य छ”, मम्स गार्डेन रिसोर्टका सञ्चालकसमेत रहेका श्रेष्ठले भन्नुभयो, “सरकारले पर्यटन लक्षित प्याकेजका कार्यक्रम घोषणा मात्र गरेर हुँदैन त्यसलाई तत्काल कार्यान्वयनमा ल्याउनु जरुरी छ ।”

नाट्टा गण्डकी प्रदेशका महसचिव कमला गिरीका अनुसार पर्यटन, उद्योग तथा वाणिज्यमन्त्री कँडेलसहितको पोखरेली टोलीले आज सरोकारवालाबीच थप अन्तक्र्रिया एवं औद्योगिक क्षेत्रको भ्रमण गरी पोखरा फर्कने कार्यक्रम छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...