Admission Open

चाडबाड आफ्नै घरमा मात्र मनाउन आग्रह

बागलुङ : पन्ध दिनअघि यहाँ लागू गरिएको निषेधाज्ञा खुकुलो पारिएको छ । निषेधाज्ञामा अत्यावश्यकबाहेक सबै सेवा बन्द थिए । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले अबदेखि हरेक बिहान ७ देखि साँझ ६ बजेसम्म सबै खाले पसल, व्यवसाय, बैंक तथा वित्तीय संस्था खोल्न पाइने निर्णय गरेको हो । स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्दै छोटो तथा लामो दूरीका यातायात सेवा पनि सञ्चालन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभयो ।

पार्टी प्यालेस, चलचित्र घर, तालिम केन्द्र, खेलकुदस्थल, जिमखाना, सैलुन, फुटपाथ, पसललगायत भीडभाड हुने व्यवसाय र क्रियाकलापमा अझै पनि रोक लगाइएको छ । तीजलगायत चाडबाड भीड नगरी आफ्नै घरमा मात्र मनाउन आग्रह गरिएको छ । विवाह तथा संस्कारजन्य कार्यक्रमलाई पनि घरमै सीमित गर्न भनिएको छ ।

पार्टी प्यालेसमै सञ्चालन गर्नुपर्ने अवस्थामा एक पक्षको बढीमा सातजना मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ । समूहगतरुपमा हुने भोज, रत्यौली, बाजागाजा, झाँकी र नाच पनि प्रदर्शन गर्न नपाइने भएको छ । सरकारी कार्यालय नियमित खुल्ने भएका छन् । जिल्ला प्रशासन, मालपोत र नापी कार्यालयले भने स्थानीय तहका सेवाग्राहीलाई ठाउँअनुसार आलोपालो गरी सेवा प्रवाह गर्ने भएका छन् ।

आवासीय होटल, रेष्टुराँ, चिया तथा खाजा पसल पनि स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न पाइने भएको छ । धार्मिकस्थलमा नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्न अनुरोध गरिएको छ । अत्यावश्यक काम नपरी घर बाहिर हिँडडुल नगर्न र जानै परे स्वास्थ्य सुरक्षा अपनाउन भनिएको छ ।

प्रजिअ कार्कीले स्वस्थ्यसम्बन्धी नियम र मापदण्ड पालना गराउन कडाइका साथ अनुगमन गरिने बताउनुभयो । सङ्क्रमण रोक्न जिल्लामा गत वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी छ । कोरोना सङ्क्रमित बढ्दा निषेधाज्ञा कडा र घट्दा खुकुलो पार्ने गरिएकाले पछिल्ला दिन यहाँ सङ्क्रमितको सङ्ख्या घट्दो क्रममा छ । स्वास्थ्य कार्यालयअनुसार अहिले सक्रिय सङ्क्रमित ३४८ रहेकामा दुई साताअघि ७०० नाघेको थियो । जिल्लामा कूल सात हजार ४२९ मा कोरोना पुष्टि भएकामा हालसम्म ६५ जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...