Admission Open

लक्ष्यभन्दा कम (८७.९६) प्रतिशत मुद्दा फछर्याेट   

 

वाग्मती, २ भदौ : वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित उच्च अदालत पाटन हेटौँडा इजलासले गत आर्थिक वर्ष २०७७/७८ मा लक्ष्यको ८७.९६ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ ।

उच्च अदालत इजलासको क्षेत्राधिकार चितवन र मकवानपुर जिल्ला रहेको छ । गत आर्थिक वर्षमा ९३९ मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिएकामा इजलासले ८२६ मुद्दा फछर्यौट गर्न सफल रहेको अदालतका सूचना अधिकारी केशवराज कौशिकले जानकारी दिनुभयो । अदालतले गत आर्थिक वर्ष दर्ता भएका मुद्दामध्ये ६१९ मुद्दा भने फछर्यौट गर्न बाँकी रहेको जनाएको छ । उच्च अदालतमा १८ महिनादेखि दुई वर्ष नाघेका एउटा पनि मुद्दा नहरेका र जम्मा मुद्दाका आधारमा ५७.१६ प्रतिशत लगतमा फछ्र्यौट रहेको बताइएको छ ।

चितवनमा गतवर्ष लगत भएका तीन हजार ८३०, फछ्र्यौट भएका दुई हजार ४३४ र एक हजार ३९६ मुद्दा यस वर्षका लागि सरेका छन् । त्यस्तै मकवानपुरमा भने गत वर्ष दुई हजार लगत भएकामा ९८४ मुद्दा फछर्यौट भई एक हजार १६ मुद्दा यस वर्ष सरेका हुन् । सूचना अधिकारी कैशिकका अनुसार देवानी भन्दा फौजदारी मुद्दा बढी रहेकाले फैसला हुन बाँकी रहेको बताइन्छ । अदालतले पुरानवेदन, राजस्व, जन्मकैद भएका, रिट र निषेधाज्ञाका मुद्दा हेर्ने गरेको बताइएको छ ।

गत आव २०७७/७८ मा अघिल्लो वर्षबाट ४०८ मुद्दाको जिम्मेवारी सरेर आएका, गत वर्षमा एक हजार ३७ नयाँ मुद्दा दर्ता भएका जनाइएको छ । गत वर्षमा एक हजार ४४५ मुद्दाको लगत भएकामा ८२६ मात्र फछ्र्यौट भएको जनाइएको हो । यस्तै चालू आवमा भने एक हजार १४९ नयाँ मुद्दा दर्ता हुने अनुमान गरिएको छ । यस वर्षका लागि गत वर्षबाट ६१९ मुद्दाको जिम्मेवारी सरेर आएका छन् । चालू वर्षमा एक हजार १९४ मुद्दा फछर्यौट गर्ने लक्ष्य लिएको जनाइएको छ ।

चितवन र मकवानपुरको पुनरावेदकीय इजलाशका रुपमा रहेको उच्च अदालत पाटन हेटौँडा इजलाशमा दुई वर्ष नाघेका कुनै पनि मुद्दा नरहेको जनाइएको छ । अदालतप्रतिको जनआस्था वृद्धि गर्नाका साथै अन्यायमा परेकालाई चाँडै न्याय दिने उद्देश्यले कार्यसम्पादन गरिएको उच्च अदालतले जनाएको छ । उच्च अदालत पाटन, हेटौँडाका मुख्य न्यायाधीश मोहम्मद साविर हुसेनले अदालतमा हरेक काम लिखित र आदेशअनुरुप रहने हुनाले सञ्चार जगतले अदालतका विषयमा कलम चलाउँदा अदालतको भाषा÷कानूनी शब्दलाई पनि बुझेर लेखिदिन आग्रह गर्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...