Admission Open

मकवानपुर जिल्ला प्रशासनको आलोपालो सेवा प्रणाली   

 

वाग्मती, ३२ साउन : जिल्लामा कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले प्रवाह गर्दै आएको अत्यावश्यकबाहेक विभिन्न सेवालाई आलोपालोको व्यवस्था लागू गरेको छ ।

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि विभिन्न फरक फरक मितिअनुसार सेवा प्रवाह गरी समय निर्धारण गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो । नागरिकताको प्रतिलिपि र राहदानीका लागि आगामी भदौ ४ गते शुक्रबारसम्म समयसीमा तोकिएको छ भने नयाँ नागरिकताका लागि भदौ ७ गते सोमबारदेखि भदौ १२ गते शुक्रबारसम्म तोकिएको छ । शान्ति सुरक्षा, मुद्दा, विपद् व्यवस्थापनलगायतका अत्यावश्यक सेवा भने निरन्तर रहने जनाइएको छ ।

यसैबीच बढी भीडभाड हुने हेटौँडास्थित मालपोत कार्यालय र नापी कार्यालयका सेवा एक साताका लागि बन्द गरिएको प्रजिअ पाण्डेले बताउनुभयो । मकवानपुरमा कोभिड सङ्क्रमण बढ्दै गएपछि निषेधाज्ञामा कडाइ गर्न थालिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकको निर्णयानुसार जारी निषेधाज्ञामा थप कडाइ गर्न थालिएको हो । मकवानपुरमा अब खाद्यान्न व्यवसाय बिहान १० बजेसम्म सञ्चालन हुनेछन् भने अन्य व्यवसाय १० बजेदेखि ५ बजेसम्म सञ्चालन गरिने प्रजिअ पाण्डेले बताउनुभयो । यसअघि बजार खुल्ने समय खाद्यान्न १० बजेसम्म र अन्य १२ बजेदेखि ४ बजेसम्म सञ्चालन गरिएको थियो ।

बैठकले बैंक तथा वित्तीय संस्था हरेक दिन १० बजेदेखि २ बजेसम्म खुला रहने निर्णय गरेको छ । त्यसैगरी मकवानपुरमा मास्क अभियानलाई सशक्तरूपमा लैजाने निर्णय भएको छ । मास्क नलगाउनेलाई जरिवानासमेत लिइने छ । जारी निषेधाज्ञा आगामी भदौ १० गतेसम्म थप गरिएको छ । समय सीमालाई बेवास्ता गरी व्यवसाय गरिएको पाइएमा कडाभन्दा कडा कारवाही गरिने जनाइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...