Admission Open

सूचना केन्द्र सञ्चालनको तयारी    


काठमाडौँ : विश्वभरि फैलिएको कोरोना महामारीका कारण अहिले यस सम्पदा क्षेत्रमा कोही पनि पर्यटक आउँदैनन् । आगामी दिनमा पर्यटक प्रवद्र्धनका लागि सूचना केन्द्र सञ्चालनको तयारी छ । यसका लागि सबै तयारी पूरा भए पनि कोरोनाका कारण रोकिएको हो । काष्ठमण्डप नजिकै रहेको सिंह सत्तलमा पहिलो तलामा पर्यटकका लागि जानकारी केन्द्र तयारी गरिएको हो । केन्द्रमा इन्टरनेटको सुविधासहित अडियो भिडियोको सुविधा हुनेछ । काठमाडौँका मुख्य जात्रा इन्त्रजात्रा, गाईजात्रा, सेतो मछिन्द्रनाथको जात्रा, कुमारी र कुमारी घरसँगै समग्र हनुमानढोकाका बारेमा जानकारी दिइने छ ।

केन्द्र सञ्चालन गर्न लागिएको हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका आर्किटेक इञ्जिनीयर अमित बज्रचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना हुनुभन्दा पहिले विदेशी आगन्तुकबाट लिएको प्रवेश शुल्कबाट नै वार्षिक रु २० करोडसम्म आम्दानी हुने गरेकामा अहिले लगभग शून्य रहेको छ । गत आर्थिक वर्षमा जम्मा रु एक लाख ५० हजार मात्र आम्दानी भएको छ ।

प्रताप मल्लले विसं १७२९ मा दरबारको मुख्य प्रवेशद्वार नजिकै हनुमानको मूर्ति स्थापना गराएपछि हनुमानढोका दरबार हुन गएको जानकार बताउँछन् । त्यसपछि श्री ५ पृथ्वीनारायण शाहले विसं १८२६ मा वसन्तपुर दरबार निर्माण गराएपछि यसलाई वसन्तपुर दरबार पनि भन्न थालिएको इतिहास छ ।

हनुमानढोका दरबारको सबैभन्दा पुरानो भाग विसं १६२० तिर तत्कालीन राजा महेन्द्र मल्लले बनाएको मूलचोकलाई मानिन्छ । सुन्दरीचोक, नासलचोक, भण्डारखाल बगैँचा, हनुमानको मूर्ति, तलेजु मन्दिर, जगन्नाथ मन्दिर, काल भौरव, काष्ठमण्डपलगायत वरिपरि रहेका अन्य सम्पदालाई पनि यहाँको महत्वपुर्ण सम्पदा मानिन्छ । यस स्थानमा मुख्यगरी विभिन्न ११ वटा महत्वपूर्ण चोक छन् ।

त्यसैगरी यहाँको अर्को महत्त्वपूर्ण सम्पदाका रूपमा रहेको प्रसिद्ध कुमारी घरको निर्माण कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले विसं १८१३ मा गराएका हुन् ।

कुमारीको महत्व

काठमाडौँ :  पर्यटकको आकर्षणको केन्द्र वसन्तपुरमा कुमारी घर र कुमारी पनि एक आकर्षण हो । नेपालमा कुमारीको पूजा १७ औँ शताब्दीदेखि सुरु भएको अनुमान गरिएको छ । काठमाडौँका अन्तिम मल्ल राजा जयप्रकाश मल्ल र तलेजु भवानीबीच पासा खेलिरहेका बेला राजा जयप्रकाशकी रानीले देखेपछि तलेजु भवानी त्यहाँबाट अलप भएको र त्यसपछि तलेजु भवानीले सपनामा राजालाई अबदेखि वर्षमा एक पटक मात्र दर्शन दिनसक्ने बताएको किंवदन्ती छ ।

शाक्य वंशकी छोरीलाई कुमारी बनाई रथजात्रा चलाउनू भन्ने तलेजु भवानीको आग्रहअनुसार राजा जयप्रकाशले कुमारी जात्राको प्रचलन चलाएको इतिहास रहेको इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यले जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यकाकी जीवित देवी कुमारी वर्षमा १३ पटक कुमारीघरबाट निस्कने गर्नुभएको छ । एकपटक पौष शुक्ल अष्टमीको दिन, मुख्य जात्राको रूपमा रहेको इन्द्रजात्रा, बडादशैँ, चैते दशैँ, घोडे जात्रा, सेतो मछिन्द्र जात्रा, सेतो मछिन्दनाथ स्नान हुँदा, गाईजात्राको भोलिपल्ट, पचली भैरव जात्राको समयमा र चाँगुनाराणबाट कलश ल्याउँदा कुमारी बाहिर निस्कने गर्नुभएको छ ।

कुमारीको दैनिकी

काठमाडौँ :  कोरोना नहँुदा दैनिक बिहान ९ बजेदेखि १२ बजेसम्मको समय दर्शनको हो । मध्याह्न १२ देखि ४ बजेको समय कुमारीको अध्ययन गर्ने समय हो । हाल कोरोना सङ्क्रमणका कारण अन्य मठमन्दिरमा जस्तै दर्शनमा रोक लगाइएको छ । अहिलेको कुमारीलाई कुमारी हुनुभन्दा पहिले जुन विद्यालयमा अध्ययन गर्नुहुन्थ्यो सोही विद्यालयका शिक्षकले कुमारी घरमा नै आएर अध्यापन गराउने गर्नुभएको छ । हाल उहाँ स्वयम्भूमा रहेको मैत्री बोर्डिङ स्कुलमा कक्षा २ मा अध्ययनरत हुनुहुन्छ । अहिले कुमारीले अन्य विद्यार्थीले जस्तै अनलाइनबाट कक्षा लिइरहनुभएको छ ।

हरेक दिन नित्य पूजाका लागि तलेजु भगवतीको पुजारीले उहाँको पूजा गर्नुहुन्छ । बिहान ९ बजेदेखि १० बजेसम्मा हिन्दू पुजारी र बौद्ध धर्म मान्ने पुजारीबाट उहाँको पूजाआजा हुने गर्दछ । उहाँले ११ बजेदेखि १२ बजेको समयमा खाना खाने तालिका छ । कुमारी घरमा उहाँको हेरविचार गर्नका लागि एउटा छुट्टै परिवार नै खटिएको छ ।

कुमारीहरु कुमारीको रूपमा कति समय बस्ने भन्ने यकिन नभए पनि तीनदेखि चार वर्षमा आउने र ११ देखि साढे ११ वर्षसम्मअर्थात् पहिलोपटक महिनावारी हुने समय अघिसम्म बस्न पाइने छ ।

पहिलेदेखि नै कति कुमारी रहे भन्ने यकिन जानकारी नरहे पनि हालको कुमारी ५५ नम्बरमा पर्ने इन्द्रजात्रा व्यवस्थापन समितिले जानकारी दिएको छ । नब्बे सालको भूकम्पपछि कुमारीको गणना गर्न थालिएको बताइएको छ ।

कुमारीको मासिक तलब ५० हजार

काठमाडौँ :  काठमाडौँ महानगरपालिकाले कुमारीलाई मासिक तलबस्वरूप रु ५० हजार उपलब्ध गराउने गरेको छ । यो व्यवस्था २०५८ सालबाट सुरु भएको हो । त्यसैगरी पूर्वकुमारीका लागि पनि मासिक रु १५ हजार दिने व्यवस्था गरिएको छ । हाल जीवित नौ जना पूर्वकुमारी रहनुभएको छ भने उहाँहरुमध्ये पाँच जनाले विवाह गरिसक्नुभएको छ । लामो समयदेखि जीर्ण रहेकोे कुमारी घरको पनि मर्मत गर्ने तयारी रहेको छ । यसका लागि कामपाले उपभोक्ता समितिमार्फत निर्माण गर्नका लागि रु एक करोड विनियोजन गरेको छ ।

संयुक्त राष्ट्र सङ्घीय अङ्ग युनेस्कोद्वारा बहुमूल्य सम्पदाका रूपमा सूचीकृत विश्वका स्मारक र स्थानलाई विश्व सम्पदा भन्ने गरिन्छ । यसमा कुनै पनि राष्ट्रको विशेष सांस्कृतिक महत्व राख्ने धरोहरलाई यसमा समावेश गरिन्छ । जुन विश्व सम्पदा समितिद्वार चयन गर्ने गरिन्छ र उक्त समितिमार्फत नै संरक्षण गरिन्छ ।

युनेस्कोले विश्व सम्पदा क्षेत्रमा नेपालका विभिन्न सम्पदालाई सूचीकृत गरेको छ । काठमाडौँ उपत्यकाकाबाट तीन वटा ऐतिहासिक दरबार, दुईवटा बौद्ध स्तूप र दुई हिन्दू मन्दिरसँगै उपत्यकाबाहिर लुम्बिनी तथा चितवन र सगरमाथा राष्ट्रिय निकुञ्जलाई समावेश गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...