Admission Open

विषय विज्ञको ज्ञानलाई देश निर्माणमा जोडौँ : अर्थमन्त्री   

काठमाडौँ, २५ साउन : अर्थमन्त्री जनार्दन शर्माले अर्थविद्हरूको विज्ञतालाई अर्थ मन्त्रालयसँग जोड्ने संयन्त्र जरुरी रहेको बताउनुभएको छ । नेपाल आर्थिक सङ्घले आज अर्थमन्त्रीलाई सङ्घको मानार्थ सदस्यता प्रदान गर्नका लागि आयोजित कार्यक्रममा विषय विज्ञतालाई मुलुकको हितसँग जोड्ने संयन्त्र बनाउनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री शर्माले देशको अर्थतन्त्र हाक्न अर्थ मन्त्रालय वा सरकार मात्र पर्याप्त नहुने भन्दै विषय विज्ञको ज्ञान र अनुभवलाई निरन्तर जोड्ने खालका कुनै न कुनै संयन्त्र आवश्यक भएको बताउनुभयो । आफूले यस विषयमा योजना बनाइरहेको उहाँले जानकारी दिनुभयो ।

अर्थ सचिव मधुकुमार मरासिनीले हामी नै जान्ने हौँ भन्ने घमण्ड कर्मचारीमा पलाउन सक्नेतर्फ सचेत रहेको भन्दै आफूले त्यस्तो हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले कुनै नीति र योजना तय गर्दा विज्ञको ज्ञान र अनुभव समेटेर अघि बढ्ने बताउनुभयो ।

नेपाल आर्थिक सङ्घका अध्यक्ष प्राध्यापक विश्वम्भर प्याकुरेलले देशको आर्थिक नीति निर्माणमा आफूहरूले अर्थ मन्त्रालयलाई सघाउँदै आएको प्रसङ्ग उल्लेख गर्दै आगामी दिनमा पनि सो क्रम जारी रहने बचन दिनुभयो । अर्थविद् डा भवानी ढुङ्गाना, डा शिवराज अधिकारी, गोपाल तिवारीलगायतले नयाँ सरकारसँग काम गर्नको लागि पर्याप्त समय नरहेको भन्दै जनतालाई प्रत्यक्ष फाइदा पुग्ने खालका ससाना र थोरै कार्यक्रम अघि सार्न सुझाव दिनुभयो । उहाँहरूले सरकारले विभिन्न समयमा अनुसन्धान गराउने गरेको भए पनि अध्ययन प्रतिवेदन पुस्तकालयमा थन्काउने गरिएको गुनासो गर्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...