Admission Open

२८ वर्षदेखिको बक्यौता असुल गर्दै कामपा   

 
काठमाडौँ : काठमाडौँ महानगरपालिकाले २८ वर्षदेखि घरजगगा र सम्पत्ति कर नतिर्ने ठूला करदाताको नाम सार्वजनिक गरेसँगै सम्पर्कमा आउने क्रम बढेको छ ।    
    
गत असार १६ गते कामपाले विगत २८ वर्षदेखि कर तिर्नका लागि आनाकानी गरेका २० ठूला करदाताको नाम सार्वजनिक गरेको थियो । अहिले सम्पर्कमा आउनेमध्ये केहीले पहिलो किस्तास्वरुप केही रकम बुझाएका छन्, केहीले विवरण पेश मात्र गरेका छन् । केहीले विवरण पेश गर्ने समय माग गरेका छन् । कतिपयलाई समय तोकी बोलाइएको छ भने कतिपयले अझै सम्पर्क गरेका छैनन् ।    
    
सम्पर्कमा आएकामध्ये चारवटा व्यापारिक प्रतिष्ठानले पहिलो चरणमा आजसम्ममा रु एक करोड ५३ लाख राजश्व बुझाएका छन् । यसरी कर बुझाउनेमध्ये सबैभन्दा धेरै युनाइटेड विल्डर्स एण्ड इञ्जीनियरिङ (वल्र्ड टे«ड सेन्टर)ले रु एक करोड बुझाएको छ । यससँगै बिल्डर्सका प्रबन्ध निर्देशक सन्दीप हिराचनले आउँदो १९ दिनभित्र सम्पत्तिको मूल्याङ्कन गरेर तिर्नुपर्ने कर दाखिला गर्ने गरी राजश्व विभागमा निवेदन दिनुभएको छ ।    
    
वडा १४ को नेशनल हस्पिटलले रु २४ लाख, वडा १४ कै शहीद मेमोरियल हस्पिटलले रु १९ लाख २० हजार दाखिला गरेका छन् । नाम सार्वजनिक भएपछि वडा ११ को एनआरटी क्लबले रु १० लाख दाखिला गरेर बाँकी रकम तिर्ने प्रतिबद्धता जनाएको छ ।    
    
वडा नं ३० को स्टार मलले सम्पत्तिको विवरण पेश गरेको छ भने वडा नं १३ को काठमाडौँ इञ्जीनियरिङ कलेजले १० दिनभित्र विवरण पेश गर्ने समय माग गरेको छ । कामपाले पहिलो चरणमा गएको असार १६ गते सम्पत्ति कर नबुझाउने ठूला करदाताको नाम सार्वजनिक गरेको थियो । ३० दिनभित्र सम्पर्क गर्न आउन आग्रह गर्दै सूचना सार्वजनिक भएको अन्तिम सातासम्म पनि करदाताहरुले सम्पर्क नगरेपछि अन्तिममा करदाताको कार्यस्थलमा गएर ‘सम्पर्कमा नआए शिलबन्दी गर्ने’ सूचनासहित महानगरले माइकिङ गरेको थियो ।    
    
कामपाको सक्रियतापछि लामो समयदेखि असुल हुन नसकेको रकम उठ्न थालेको छ भने केहीले विवरण बुझाएर रकम असुल गर्ने मिति तय गरेका कामपा राजश्व विभाग प्रमुख डा शिवराज अघिकारीले राससलाई जानकारी दिनुभयो । 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...