Organ Donation

Organ Donation

इमाडोल–लामाटार सडक :अब ६० मिटर बनाउन बाँकी   

काठमाडौँ : बिस्तारका क्रममा रहेको इमाडोलबाट सिद्धिपुर हुँदै लामाटारसम्मको सडक निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माण शुरु भएको चार वर्ष बित्न लाग्दा सात किमी लम्बाइको सो सडकमा झण्डै ६० मिटर मात्रै बनाउन बाँकी छ । गोदावरी खोला नजिकै रहेको एउटा घर भत्काउन ढिलाइ हुँदा सो सडक सम्पन्न हुन नसकेको काठमाडौँ चक्रपथ बिस्तार आयोजनाले जनाएको छ ।    
    
 केही समय अगाडि महालक्ष्मी नगरपालिकाले सो घर हटाएको थियो । अहिले सो क्षेत्रमा सडक निर्माणका लागि पर्खाल लगाउने काम जारी रहेको आयोजना प्रमुख गुरु अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले अरु काम सकिएपछि वर्षापछि कालोपत्र गर्न सकिन्छ ।”    
    
 सो सडक २० मिटर चौडाइमा बिस्तार गर्ने गरी ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ । सडकमा पैदलयात्रु मार्ग र ढलसमेत निर्माण गर्ने सम्झौतामा उल्लेख थियो । तोकिएको मापदण्डानुसार चौडाइमा सडक बिस्तार गर्ने निर्माणस्थल खाली गर्न नसकिएकाले लामो समयसम्म पनि निर्माण अघि बढ्न नसकेको हो । ठेक्का सम्झौता गरिएपछि नै निर्माणस्थल खाली गर्न थालिएको थियो ।    
    
 यसपछि निर्माणस्थलमा रहेका रुख, बिजुलीको खम्बालगायतका विभिन्न संरचना हटाउन नसकिएको आयोजनाले जनाएको छ । सर्बाेच्च अदालतलले बिस्तारका सडकमा जतिजति सडक उपलब्ध हुन्छ त्यसैमा कालोपत्र गर्ने दुई वर्ष अगाडि आदेश दिएको थियो । आयोजनाले यसैका आधारमा बिस्तार अघि बढाइरहेको प्रमुख अधिकारीले जानकारी दिनुभयो ।    
    
 यो सडक निर्माणको जिम्मेवारी डाँफे समानान्तर जेभी, आशिस सिएम ड्रागन जेभी र लामा समानान्तर जेभीले संयुक्तरुपमा पाएका थिए । आयोजनाले झण्डै पाँच वर्ष अगाडिदेखि काठमाडौँ उपत्यकाका १० सडक र दुई सडक पुलको विस्तारको काम शुरु गरेको थियो । तीमध्ये अधिकांश स्थानमा तोकिएको अवधिमा निर्माण सम्पन्न हुन सकेको थिएन । बिस्तारका सडकमध्ये त्रिपुरेश्वरबाट कलङ्की हुँदै नागढुङ्गासम्मको सडक मात्रै सम्पन्न भएर डिभिजन सडक कार्यालयमा हस्तान्तरण भएको छ । बिस्तार शुरु भएका बिजुलीबजार र तीनकुने पुलमध्ये बिजुलीबजार पुल सम्पन्न भएर सञ्चालनमा आइसकेको छ भने तीनकुनेस्थित पुलको ठेक्का सम्झौता रद्द भएको छ । 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...