Admission Open

पहिराले झोलङ्गे पुलमा क्षतिः जोखिमपूर्ण यात्रा गर्न बाध्यता   

गोरखा, ५ साउन : बाढीसँगै आएको पहिरोले उत्तरी गोरखाको धार्चेगाउँपालिकास्थित झोलङ्गे पुलमा क्षति पु¥याएको छ ।

पहिरोसँगै खसेको ठूलो रुखले धार्चेगाउँपालिका–५ को माछाखोला र वडा नं ३ को उहियाँ खोला जोड्ने झोलुङ्गे पुलको एकतर्फको लठ्ठा चुँडिएर क्षति भएको स्थानीयवासी प्रतापमान गुरुङले जानकारी दिनुभयो ।

आइतबार राति परेको अविरल वर्षापछि आएको बाढीका कारण खोला तर्फबाट खसेको पहिरोले पुलमा क्षति पु¥याएको उहाँले बताउनुभयो । “माथि भिरबाट ठूलो रुख ढलेर पुलमा खसेका कारण पुलको एकातर्फको लठ्ठा चुँडिएको छ”, उहाँले भन्नुभयो, “तत्काल मर्मत सम्मार गर्न नसके यहाँका नागरिकले सास्ती खेप्नुपर्ने अवस्था बनेको छ ।”

२०६० सालमा बिपीको सहयोगमा निर्माण भएको उक्त पुलमा क्षति पुगेपछि उत्तरी गोरखाको धार्चे र चुमनुब्री गाउँपालिकाका नागरिकसँगै पर्यटकलाई समेत समस्या भएको उहीयाँ खोलाका स्थानीयवासी दिलबहादुर गुरुङले बताउनुभयो ।

जिल्लाको पर्यटकीय मार्गको रुपमा चिनिने मनास्लु पदमार्ग प्रवेश गर्ने झोलुङ्गे पुलको लठ्ठा चुँडिएपछि अहिले जोखिम मोलेर आउजाउ गर्न बाध्य भएको उहाँको भनाइ छ । “माछा खोलामाथिको पुल उत्तरी गोरखाका सर्वसाधारण र पर्यटक आउजाउ गर्ने पुल हो”, उहाँले भन्नुभयो, “यो पुल नतरी उत्तरी क्षेत्र पुग्न सकिदैन, अहिले पुल तर्न ज्यानको जोखिम मोल्नुपर्ने बाध्यता छ ।”

दैनिक आवातजावत गर्न समस्या भएपछि स्थानीयवासी मिलेर पहिरोसँगै आएको रुख हटाएर पुलको एकतर्फको लठ्ठामा भुण्डिएर वारपार गर्न सक्ने बनाएको गुरुङले जानकारी दिनुभयो । जेठको अन्तिम सातादेखि परेको वर्षाका कारण पदमार्गसमेत अवरुद्ध भएपछि नेपाली सेनाले केही दिनअघि मात्र पदर्माग सफा गरेको थियो । तर फेरि पहिरोले पुलमा क्षति पु¥याएपछि समस्या भएको गुरुङको भनाइ छ ।

पुलमा क्षति पुगेसँगै खच्चडबाट सामान ढुवानीमा समस्या भएको स्थानीय व्यवसायी शर्मिला गुरुङले जानकारी दिनुभयो । खच्चडबाट सामान ढुवानी गर्नुपर्ने सो क्षेत्रमा ढुवानी गर्न सक्ने अवस्था नभएपछि दैनिक उपभोग्य वस्तुको अभाव हुनसक्ने उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...