Admission Open

राष्ट्र निर्माता पृथ्वीनारायण शाहका बिर्सन नसकिने महान योगदानहरू

 

# दीर्घराज प्रसाई

नेपाल सम्राज्यवादी शक्तिसँग भिडेर स्थापित भएको एक महान राष्ट्र हो । नेपालको एकीकरण हुनुभन्दा अगाडि हिमवतखण्ड नेपालमा स–साना धेरै हिन्दुराज्यहरू थिए । इष्ट इण्डिया कम्पनीले भारतमा आफ्नो प्रभुत्व जमाउन थालेको अवस्था थियो र हिमवत्खण्ड नेपालका हिन्दु राज्यहरू समेत सुरक्षित हुने अवस्था थिएन । त्यसअवस्थामा यसक्षेत्रमा एक अवतारको जन्म भयो । तिनै अवतार गोर्खाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा यसक्षेत्रका स–साना हिन्दु राज्यहरूलाई एकीकरण गरी स्थापित भयो–संयुक्त हिन्दुअधिराज्य नेपाल । भारतवर्षमा मुसलमान र अंग्रेजको साम्राज्यबाट तहसनहस पारिएको हिन्दु अस्मिता बिटुलिइसकेको अवस्थामा हिमवतखण्डका स–साना हिन्दु राज्यहरू एकीकृत भएर नेपाल विश्वको एक मात्र हिन्दुअधिराज्यको रुपमा देखा प¥यो । यही नैं गौरवको कुरा भयो । भारतवर्षलगायत संसारभरका हिन्दुहरू तथा विश्वभर छरिएर रहेका नेपालीहरूका लागि । मननीय कुरा त यो छ कि भारतवर्षलाई हिन्दुस्थान भन्नु भन्दा पहिला नैं विक्रम संवत् १८०० तिर पृथ्वीनारायण शाहले नेपाललाई ‘असली हिन्दुस्थाना’ भनेका थिए । भारतवर्षमा मुसलमान र अंग्रेजहरूले आक्रमण गरेर एकीकृत भएका कैयौं राज्यका बासिन्दाहरू धेरै हिन्दु भएकाले अंग्रेजहरूले हिन्दुहरूको बसोबासो भएको देशलाई हिन्दुस्थान भनेपछि मात्र भारतलाई ‘हिन्दुस्थान’ भन्न थालिएको हो । तर कुनै आक्रमणकारीहरूबाट बिटुलो नभएको जन्मदैको पवित्र हिन्दुस्थल हो यो ‘हिन्दुअधिराज्य नेपाल ।’

नेपालको एकीकरण हुनभन्दा अगाडि विश्वका धेरै देशहरू कोही टुक्रिएका, कोही उपनिवेसको पञ्जामा परेका थिए । नेपालको एकीकरण भएको १०० वर्षपछाडिसम्म पनि जर्मनी, इटाली टुक्राटक्रामा विभाजित थिए । नेपालको एकीकरण भएको १०० वर्षपछाडि अन्धकारमा गुज्रिरहेको जापानमा मेजी रेष्टुरेसन भएर राजाको नेतृत्वमा आधुनिक जापान बन्यो । नेपालको एकीकरण हुनुभन्दा २०।२५ वर्षसम्म पनि अमेरिका बेलायतको उपनिवेश थियो । नेपालको एकीकरण भएको २।३ दशकपछि मात्र अमेरिका बेलायती सम्राज्यबाट मुक्त हुन सकेको थियो । अमेरिका, जर्मन, इटाली, जापानलगायत यस्ता कैयौं देशहरू अन्धकारमा रहेको अवस्थामा पनि बेलायती साम्राज्य यसक्षेत्रलाई आफ्नो कब्जामा राख्न असफल भएको थियो । पृथ्वीनारायण शाहको नेतृत्वमा चन्द्र–सूर्य अंकित झण्डा फहराएर हिमवत्खण्डको अस्मिता र मौलिकतालाई जीवन्त रहेको हो । विशाल नेपालको सिर्जना हुनुभन्दा अगाडि हिमवतखण्डको यो क्षेत्रमा थुप्रै स–साना राज्यहरूमा विभाजित भएका थिए । पूर्वमा ब्रम्हपुत्र, पश्चिममा हिन्दुकुश, उत्तर कैलास मानसरोवर र दक्षिण ग्रगासम्मको भूभाग हो । यसक्षेत्रमा त्योबेलामा शक्तिशाली बेलायती साम्राज्यको आँखा परिसकेको थियो । पृथ्वीनारायण शाह जस्तो सपूत यसक्षेत्रमा नजन्मिएका भए यो क्षेत्रको अस्मिता उसैबेला गुमिसक्ने थियो । यसक्षेत्रका धेरै राज्यहरू हिन्दु भएकाले र नेपाली भाषा सबै राज्यको अन्तरदेशीय भाषा भएकोले पृथ्वीनारायण शाहलाई विशाल नेपालको एककीरण गर्न सजिलो भएको थियो । नेपालको एकीकरण हुनुभन्दा अगाडि नेपाली भाषा अनेकौं जातीय भाषाहरूको वीचमा अन्तरभाषाको रुपमा व्यापक भइसकेकाले सबै नेपालीहरूको साझा भाषाको रुपमा, राज्यको सरकारी भाषाकोरुपमा स्वतः रुपान्तर हुँदा नेपालको राष्ट्रिय एकतामा थप बल पुग्न गएको सबै जाति र समूहले आत्मसाथ गरेका थिए ।

पृथ्वीनारायण शाहबाट विशाल नेपालको एकीकरणको सन्दर्भमा यसक्षेत्रका तमाम हिन्दु–बौद्धहरूलाई फिरङ्गीहरूका बिरुद्ध संगठित गराउन गोरखनाथबाट कानफट्टा योगीहरू ल्याई रातीराती भूतप्रेत भगाउन, फेरी लगाउन चौतर्फी खटाएको थियो । कानफट्टा योगीहरूले त्यसबेला शंकास्पद फिरङ्गी र अन्य विदेशी गुप्तचरहरूको कहीँ कतै सक्रियता भेटेमा गोर्खाका राजालाई जाहेर गर्ने गर्थे ।
फेरी लगाउने परम्परा अध्यावधि पूर्वमा ब्रम्हपुत्र र पश्चिममा काँगडासम्म कायम नैं छ । घरघरबाट हरेक नरनारीहरूमा सैनिक शक्ति जागरण होस् भन्नका लागि खाँडो जगाउने अभियानको थालनी पनि भएको थियो । खाँडोलाई राष्ट्रिय गानको रुपमा मेला वा अन्य जागृत स्थललगायत विवाहहरूमा कण्ठस्त पाठ गर्ने गरिन्थ्यो ।

‘स्वस्ती श्री श्री श्री श्री श्री गगन गिरिराज चक्रचूडामणि नरनारायणेत्यादि विविध विरुदावली विराजमान मानोन्नत श्री श्री श्री ५ महाराजाधिराज नेपाल सरकारका प्रतापले श्री मनमहाराजाधिराज पृथ्वीनारायण शाह नेपाल जित्न भनी चले, राना–मगर, गुरुङ, कुवर, पाध्ये, बोहोरा, अर्याल, प्रसाई, खनाल, पाँडे, भूसाल आदि साथमा चले भोट, दिल्ली, किल्ला–काँगडा, लंका पलंकामा चल्दै श्री पशुपतिनाथ, गुह्यकालीसँग जीतबाजी मागे । उँधो गंगाको साँध, टिष्टामा गई खाँडो पखाली, बैरीको टाउकोमा खुँडा बजारे टवाक्क ! टवाक्क !! टवाक्क !!! श्री पशुपति, गुहेश्वरी, गोरखानाथ, मछेन्द्रनाथ, भैरवनाथ, दक्षिणकाली, बज्रगोगीनी, चार नारायण, नवदुर्गा भगवतीको शरण पाई बैरीले छोडे प्राण । बैरीको टाउकोमा खुँडा बजारे टवाक्क ! टवाक्क !! टवाक्क !!! ’यो त्यसबेलाको विजय गान थियो । खाँडो जगाउने त्यो प्रचलन पनि अध्यावधि नेपालीहरूले विवाहको शुभलगनको बेलामा जगाउने चलन (केही जातजातिमा) अझै छ ।

‘मेरा साना दुःखले अज्र्याको मुलुक होइन, सबै जातको फूलबारी हो, सबैलाई चेतना भया’ भन्ने पृथ्वीनारायण शाहको दिव्यउपदेशले सम्पूर्ण नेपालीहरूलाई उत्प्ररित गराइरहेको छ । २६० वर्ष अगाडिदेखि नैं पृथ्वीनारायण शाहले उत्तरमा ठूलो राष्ट्र चीन र दक्षिणमा ठूलोको वीचमा कस्तो कुटनीति अवलम्वन गर्नुपर्छ भन्ने कुरा राम्ररी बुझेर भनेका थिए– ‘यो राज्य दुई ढुङ्गाको तरुल जस्तो रहेछ । चीनको बादशाहसँग ठूलो घाहा (राम्रो संवन्ध) राख्नु, दषिनको समुन्द्रको वादशाहसित घाहा त राख्नु तर त्यो महाचतुर छ । देशका महाजनहरू हाम्रा मुलुकमा आया भन्या दुनियाँ कंगाल गरी छाड्छन्’ भन्ने पृथ्वीनारायण शाहको उक्तिले उनी कति दूरर्दर्शी थिए भन्ने कुरा अहिले छिमेकीहरूको चलखेलबाट स्पष्ट छ । पृथ्वीनारायण शाहले सूर्य र चन्द्रमाको झण्डा फहराएर टुक्राटुक्रामा विभाजित हिमवत्खण्ड नेपालको एकीकरण गरेर यसक्षेत्रको मौलिकतालाई जोगाउने काम गरेका थिए । राष्ट्रिय एकीकरणको अभियानमा काठमाण्डौं उपत्यका विजयपछि सिंहसानमा आसिन हुनुभन्दा पहिला शाक्य बौद्धवंशकी जीवीत कुमारीको हातबाट टीका लगाएर कुमारीको पाउमा ढोग गरेर मात्र पृथ्वीनारायण शाह राजसिंहासनमा बसेका थिए । यसकुराले नेपाल अधिराज्यका सम्पूर्ण धर्म, जाति र यसक्षेत्रको परम्परालाई शिरोधर गर्न सकेका थिए ।

पृथ्वीनारायण शाहबाट प्रारम्भ भएको विशाल नेपालको एकीकरणको अभियानलाई उनको स्वर्गारोहणपछि उनका कान्छा छोरा बहादुर शाहले विशाल नेपाल कायम गर्न अथक प्रयत्न गरेका थिए । बहादुर शाहले मूलुक मात्र जितेका थिएनन् उनले मुलुकमा राम्रो बन्दोबस्त मिलाउन सकेका थिए । बहादुर शाहले हिमवतखण्डका थुप्रै हिन्दु राज्यहरूलाई शकभर लडाईँ नगरी आश्रित राज्य बनाउने नीति लिएका थिए । यस नीतिको फलस्वरुप पाल्पा, मुस्ताड, जाजरकोट, सल्यान, बझागं, गढवालसम्म लगायत अनेक राज्यहरू नेपाल अधिराज्यमा सम्मिलित गराउन सकेका र यमुनासम्म साँध भई सिरमोढसँग सन्धि भएकाले पश्चिमतर्फ शान्ति कायम भएको थियो । यी सबै सर्तहरू कायम राख्न सक्षम बहादुर शाहको योगदान नेपालको इतिहासमा अविस्मरणीय छ । पृथ्वीनारायण शाहका पुरोहित शक्तिवल्लव अर्यालले मुक्तकण्ठले विशाल नेपालको बारेमा प्रसंशा गरेका छन्

‘जौन नेपालराज्य विषये हिमाल पर्वतका कन्दरादेखि चारैतिरबाट मुनिजनहरूले सेवा गरिएका कौसिकीका धारा वेगले बहन्छन्, जहाँ प्रख्यात भएका नीलकण्ठ विराजमान भयाका छन्, सोही नेपाल देश हो । जहाँ हिमालपर्वतकी पुत्री गुह्यकाली विराजमान भयाकी छन्, जहाँ पूण्या भयाकी बागमती छन् । जहाँ पशुपतिका प्रत्यक्ष भयाका शिवलिङ्ग छन्, जहाँ चाँगुनारायण छन्, जहाँ सम्पूर्ण भयकन रहन्या बज्रयोगिनी छन्, जहाँ पञ्च लिङ्गेश्वर पचली भैरव छन् ।’

यसरी अडाइसय पचास वर्षअगाडि उल्लेखित वाक्यहरूको मनन् गरियो भने पनि नेपालको सही परिचय प्राप्त हुन्छ । पृथ्वीनारायण शाहले नेपालको एकीकरणको सन्दर्भमा यहाँका ब्राह्मण, क्षेत्री, मगर, गरुड, तामाड, लगायतका उचनीच सम्पूर्ण जाति, धर्म र सम्प्रदायहरूका वीच सँधै समान सद्भाव राख्ने गरेकाले यसक्षेत्रका सबै थरी जातिहरू पृथ्वीनारायण शाहसँग अत्यन्त खुसी थिए ।

काठमाण्डौं उपत्यकाका भक्तपुर र कान्तिपुरमा जयप्रकाश मल्लको समयमा अंग्रेजको दूत भएर इशाई धर्मको प्रचार गर्ने पादरीहरू रहेका थिए । कीर्तिपुर विजय गर्ने अभियानको सन्दर्भमा काजी कालु पाण्डे लडाईँमा मारिए । लडाईँमा पृथ्वीनारायण शाहका भाइ शुरप्रताप शाहको आँखा फुटेको अवस्थामा पृथ्वीनाराण शाहले कान्तिपुरमा रहेका इसाई डाक्टरलाई शुरप्रताप शाहको आँखामा दबाईमूलो गराएका थिए । त्यो बेलासम्म पृथ्वीनारायण शाह इसाईसँग आक्रोशित थिएनन् । गोर्खाले कीर्तिपुरमा विजय गरेपछि इसाई पादरीले जयप्रकाश मल्ललाई भारतबाट अंग्रेज फौजको सहयोग माग्ने र पृथ्वीनारायण शाहलाई कीर्तिपुरबाटै हराउनको लागि सल्लाह दिएर सो अनुरुप पादरीको सक्रियतामा २४ अंग्रेजी फौज कर्नेल किलोकको नेतृत्वमा सिंधुलीगढीबाट आउन लागेको मुगीटारका रामचन्द्र प्रसाईले (प्राचीन नेपाल पुरातत्व विभागका मोहन खलालको लेखाइ अनुसार) कीर्तिपुरमा पृथ्वीनारायण शाहलाई पत्र लेखी पठाएको आधारमा पृथ्वीनारायण शाहबाट सेनापति रामचन्द्र कुँवर, वंश पाण्डे, जयनारायण मगरलगायतबाट केही आर्थिक सहयोगका साथ केही योद्धाहरू पनि सिंन्धुलीगढीमा पठाएपछि गोर्खाली फौजले अंग्रेज फौजहरू माथि आक्रमण गरे । जसमा २४ सयमा १६ सय मरे र अरू भागे । यसरी आफ्नो राष्ट्र एकीकरणको महानयक्षलाई अगाडि बढ्न नदिएर इसाई पादरीले जयप्रकाश मल्लमार्फत यस क्षेत्रमा इसाईको पहुँच बढाउने षडयन्त्रबाट पृथ्वीनारायण शाह अत्यन्त सशंकित भए ।

पृथ्वीनारायण शाहले काठमाण्डौं उपत्यका विजय गरेपछि कान्तिपुरमा रहेको इसाई पादरीले जयप्रकाश मल्ललाई क्रिस्चियन धर्म प्रचारक केपुचीन पादरीलाई यहाँबाट धपाएर चर्चलाई अर्कै काममा प्रयोगमा ल्याएका हुनाले त्यही रिसले पृथ्वीनारायण शाहलाई वद्नाम गर्न पृथ्वीनारायण शाहले कीर्तिपुरेहरूको १७ धार्नी नाक काटेका थिए भनेर केपुचीन पादरीलाई उल्लेख गरेर अंग्रेजी लेखक कर्कपेट्रिकले झुटा र कपोलकल्पित कुराहरू लेख्ने काम गरेका थिए । त्यसबेला पृथ्वीनारायण शाह नुवाकोटमा रहेकोले त्यसरी नाक काट्ने आदेश दिएका थिएनन् भन्ने सजिलै बुझिन्छ। १७ धार्नी नाक काट्दा कति जनसंख्या चाहिन्छ भन्ने कुराको सोचाइ नगरी अंग्रेजहरूले झूठा हावा फिँजाउने दुस्प्रचार गरेका थिए । आफ्नो मातहतमा आएका जनताको संरक्षण गर्नु पृथ्वीनारायण शाहको नीति नैं थियो । नाक काटेको जुन समय उल्लेख गरिएको छ त्यसबेला पृथ्वीनारायण शाह नुवाकोटमा रहेकोले पनि त्यो कुरा मिथ्या हो भन्ने किटानी गर्न सकिन्छ । पृथ्वीनारायण शाहको व्यवहार हेर्दा एक मानवतावादी जनप्रिय राजा भएकाले त्यसरी आतताई प्रकारले दूनियाँलाईनैं आतंकित पारेर विशाल नेपालको राजा हुने इराधा राखेका थिएनन् र त्यसरी नाक काट्ने आदेश दिएका पनि थिएनन् । त्यस्ता झूठा कपोलकल्पित कुराहरू प्रचार गरेर यसक्षेका सपुतको बेइज्जत गर्न खोजिएको मात्र हो । त्यही कुरालाई नेपालका कतिपय इतिहासकारले पनि उल्लेख गरेकाले आजभोलिसमेत पृथ्वीनारायण शाहलाई बदनाम गर्ने आधार बनेका छन् । यो इतिहासको यथार्थ माथिको आक्रमण हो ।

श्री ५ पृथ्वीनारायण शाहले कीर्तिपुरेको नाक काटेका थिएनन् । यो पादरी जोसेप्पीको कथन मनगढन्ते थियो । कीर्तिपुरका जनताले आत्मसमर्पण गरेपछि श्री ५ पृथ्वीनारायण शाहले शुरप्रताप शाहलाई– (१) बस्तीमा केही मुख्य बासिन्दाहरूलाई मार्नु, (२) प्रत्येक व्यक्तिको नाक र ओठ काट्नु, (३) नाक ओठ काटिएका मानिसको गन्ती गर्नलाई काटिएका नाक, ओठ जम्मा गरिराख्नु र (४) बस्तीको नाम बदलेर नसकटापुर राख्नु भन्ने आज्ञा पठाएर यस आज्ञाको निर्दयतापूर्वक पालना गरियो भनेर पादरी जोसेप्पीले पागलको प्रलापसमान मनगढन्ते लेखेका थिए । तर यसै बस्तीमा पृथ्वीनारायण शाह आएर बस्तीलाई सजाएर आफूसमेत केही महिना त्यहीँ बसेका र त्यहाँ बसेर पृथ्वीनारायण शाहले र युवराज प्रतापसिंह शाहले लेखेका पत्रहरूमा मुकाम कीर्तिपुर लेखिएको बाट प्रष्ट हुन्छ ।

अंग्रेजी लेखक हग्सनले यस विषयमा लेखेअनुसार बस्तीका बासिन्दाहरूलाई बोलाइ कोटमा थुनेपछि काटिएका नाकको तौल धार्नी १२, सेर १ र तोला ६ भयो भनेर लेखे । लेखकको अन्धानुकरण गरी नकटापुर भन्ने नामको समर्थन गर्दै काटिएका नाकको तौल बढाएर १७ धार्नी एक सेर पु्र्याए । कप्तान कर्क प्याट्रिकले आफ्ना भरियाहरूमा ध्यान आकर्षित गर्ने संख्यामा नकटाहरू देखेका कुरा लेखेका छन् । अरू बयान जोसेप्पीको लेखको भरमा लेखिएको देखिन्छ । कर्क प्याट्रिकको यसै वर्णनबाट ओठ काटिएको भन्ने कुरा सर्वथा गलत देखिन आएको छ । यस प्रकारको राक्षसी आज्ञा पृथ्वीनारायण शाहले दिएका हुन् भन्ने कुरा नै निराधार छ । अनि कसैले नाक, ओठ दुवै काटेको, कसैले नाक मात्रै काटेको र कसैले संख्या जान्न मात्रै नाक ओठ जम्मा गर्न लगाएको, कसैले काटेका नाक ओठ तौलेको र त्यो तौल पनि एकजनाको वर्णनमा एकथरी, अर्काको वर्णनमा अर्कैथरी भएको अनि कसैले त्यो बस्तीको नाम मात्रै बदलिएको र कसैले त्यस वस्तीलाई नै भस्मसात गरिदिएको कथा कथेका छन् ।

पृथ्वीनारायाण शाहको चरित्र, उनका निर्देशन र नियन्त्रणमा निर्माण भएको गोरखाली सेनाको परम्पराका आधारमा पनि यस विषयमा विचार गरिनु आवश्यक देखिन्छ । नेपालको एकीकरणका लागि सम्बत १८०१ देखि १८३१ सम्मको आफ्ना जीवनकालमा पृथ्वीनारायण शाहले सुरु गरेका अभियानमा सय भन्दाबढी ठाउँमा लडाईं लडिए । सत मध्ये कुनै लडाईंमा पनि आत्मसमर्पण गरेका र रणक्षेत्रमा समातिएका ब्यक्तिको लडाईंपछि हत्या भएको आजसम्म पाइएका कुनै पनि समसामयिक कागजपत्रबाट देखिएको छैन । लडाईंको मैदानमा हतियार लिएर भिड्न आएका सत्रुलाईबाहेक अरु कुनैपनि निहत्था नरनारीको हत्या गारखाली सेनाले गरेको कुरा पनि कुनै कागजपत्रमा भेटिएको छैन । यसको एकमात्र अपबाद भक्तपुरको लडाईं थियो र यस कामका लागि उत्तरदायी सम्बन्धित ब्यक्तिलाई पृथ्वीनारायण शाहले उचित दण्ड दिएको कुरासमेत यथास्थान उल्लेख भइसकेको छ (भाग ३) ।

कीर्तिपुरमा मात्र गोरखाली सेनाले हार खानु परेको थिएन र यसै लडाईमा मात्र गोरखाली सेनापति परेका थिएनन् । नालदुम, चौकोट आदि स्थानका लडाईंमा पनि गोरखाली सेनाले कयौं पटक हार खानु परेको थियो र नामी गोरखाली सेनापतिहरू ती लडाईहरूमा खेत गएका थिए । पछि ती स्थानहरूमा स्थायी रुपले दख्खल भएपछि पृथ्वीनारायण शाहद्वारा ती मध्ये कुनैपनि स्थानका जनताको अत्याचार बेइज्जती र उनीहरूको सर्बस्वहरण भएको कुरा पनि कुनै समसामयिक कागजपत्रमा भेटिएको छैन । बरू चौकोटका जनता आफैंले बस्तीमा आगो लगाइदिंदा अरू धनजनको हानी नहोस् भनेर केही समय पर्खेर अर्कै उपायद्वारा एक थोपा पनि दुनियाँको रगत नबगाई एक कौडी पनि कसैको नोक्सान नगरी पृथ्वीनारायण शाहले चौकोट दख्खल गरेको कुरा पनि यथास्थानमा लेखिसकिएको छ ।
(इतिहासकार बाबुराम आचार्यद्वारा लिखित ‘श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’ चक्रपथबाट साभार)

उपरोक्त भनाइ पृथ्वीनारायण शाहलाई वदनाम गर्न लेखिएका कपोलकलिपत कुराहरूलाई यथार्थमा परिणत गराउन माओवादी जनयुद्धको नाममा गोर्खामा जन्मिएका बाबुराम भट्टराईको नेतृत्वमा भारतीय गुप्तचर संस्थाको इशारामा गोर्खा, नुवाकोटलगायत अन्य ठाउँमा स्थापित भएका राष्ट्रनिर्माताका शालिकहरू भत्काइयो । सबभन्दा दुःखको कुरा पोखरा बाटुलेचौर स्थित पृथ्वीचोकको पृथ्वीनारायण शाहको शलिक भत्काएर त्यही लखन थापाको शालिक राखियो । लखन थापाको शालिक ठडिएपछि तिनै बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि लखन थापाको शालिक आवरण गर्न गएका थिए । त्यसले पनि बाबुराम भट्टराई कति देशद्रोही रहेछन् भन्ने बुझिन्छ । अहिले आएर बाबुराम भट्टराई त्यसबारेमा पश्चाताप गर्दा हुन् । तर यस्तो जघन्य अपराध गरेपछि पश्चातापको कुनै महत्व हुँदन । ब्याँसो बुढो भएर दाँत झरे पनि उसले आफ्नो स्वभावलाई बदल्दैन भनेको जस्तै हो । गोर्खामा जन्मिएका पृथ्वीनारायण शाह र त्यसपछि उनका कान्छा छोरा बहादुर शाहको नेतृत्वमा विशाल नेपालको सिर्जना हुन नसकेको भए बाबुराम भट्टराई नेपाली भएर कसरी गौरव गर्नसक्थे होलान् । त्यत्ति मात्र होइन पृथ्वीनाराण शाहको सम्मानमा राष्ट्रिय एकता दिवसको रुपमा सरकारले दिइआएको पौष २७ गतेको सार्वजनिक बिदासमेत खारेज गराउन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको मन्त्रीपरिषदमा गृहमन्त्री बनेका कृष्ण सिटौलालाई दबाब दिएर राष्ट्रिय एकीकरणको उपहास गराए । अहिलेसम्म पौष २७ गते राष्ट्रिय एकता दिवसलाई निरन्तरता दिलाउने काम भएको छैन । तर अवका दिनमा राष्ट्र निर्माताप्रति ससम्मान गरेर राष्ट्रिय एकता दिवसलाई निरन्तरता दिलाएर सरकारले यस्ता गल्तीहरूलाई सुधार्ने काम गर्छ भन्ने हामीलाई विश्वास छ । तर दुःखको कुरा यो छ कि गोर्खामा जन्मिएका माओवादी नेता डा. बाबुराम भट्टराईले लेखे– ‘पृथ्वीनारायण शाहले सामान्ती राज्य सुरु गरे । पृथ्वीनारायण शाहले धार्मिक आधारमा खस आर्यहरूलाईृ माथिल्लो जातको मान्ने र अरू जातकाहरूलाई तल्लोजातका मान्ने गर्थे । पृथ्वीनारायण शाहले निर्माण गरेको राज्य वर्गीय र जातीय उत्पिडनमा आधारित थियो’ भन्दै राष्ट्र निर्माताको बिरुद्ध बिष वमनगर्दै आएका छन् । यिनै भट्टराईले कथित जनयुद्धको बेला पृथ्वीनारायण शाहको शालिक भत्काउने अभियान चलाए । जनआन्दोलन बिसर्जन भएपछि पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस नमान्न गृहमन्त्रीलाई दबाब दिएका थिए ।

पृथ्वीनारायण शाहले उपत्यका विजय गरिसकेपछि यहाँबाट हिन्दु अस्मिता समाप्त गर्ने इसाईहरूलाई धपाएका थिए । तत्कालीन माओवादी नेता बाबुराम भट्टराईसमेत इसाई भएकाले हुनसक्छ त्यही डाहाले उनले पृथ्वीनारायण शाह र राष्ट्रिय एकता दिवसप्रति प्रतिशोध राखेर प्रधानमन्त्री गिरिजाप्रसादका गृहमन्त्री कृष्ण सिटौलामार्फत दबाब दिएर खारेज गर्न लगाएका थिए । यसरी २०६३ सालपछि औपचारिक रुपमा राष्ट्रिय एकता दिवस खारेज गरेकाले घोर निन्दनीय कार्य भएको छ । २०६३ सालपछि दिनै नपर्ने अनेकौं सार्वजनिक बिदाहरू दिएर राष्ट्रिय एकता दिवस खारेज गर्नु ठूलो बेइमानी हो । २०६३ सालपछि माओवादी त भारत तथा पश्चिमाहरूले नेपाललाई इसाईकरण गर्न र फ्रि तिब्बतको नाममा चीन टुक्रयाउन तयार गरिएका भरियाकै रुपमा चिनिएका कुतत्वहरू हुन् भने तिनै माओवादीको पारामा लागेर २०४७ सालको संविधानका निर्माता सत्तासीन कांग्रेस, एमाले नेताहरूले नेपालको प्रतिष्ठाको रुपमा चिनिएको हिन्दुअधिराज्य, राष्ट्रिय एकताको मियोका रुपमा स्थापित संवैधानिक राजतन्त्र र संसदीय प्रजातन्त्रको अस्तित्व समाप्त गर्न जुन अपराध गरे त्यो अक्षम्य छ । कुनै पनि बेला यो देश बचाउनका लागि कांग्रेस, एमाले र माओवादीका नेताहरू नेपाली जनताको निशानामा पर्ने नै छन् ।

अन्त्यमा, राष्ट्रनिर्माता पृथ्वीनारायण शाह हामी नेपालीहरूका गौरव हुन् । हिमवतखण्डका लगभग ५४ हिन्दु राज्यहरू एकीकरण गरेर नेपालको राष्ट्रिय एकीकरणको समयदेखि स्थापित हुन सकेको नेपाल विश्वको एक मात्र हिन्दु अधिराज्य हो । हिमवतखण्ड– नेपाल विश्वका सार्वभौमसत्तासम्पन्न राष्ट्र मध्येको पूरानो सार्वभौम राष्ट्र हो । यो देवभूमि हो । यही क्षेत्रमा ऋषिमुनीहरूको जन्म भयो, वेद, उपनिषद् र पूराणहरू सिर्जना भए । यस्तो पवित्रभूमिमाथि आक्रमक भएर यो देश भूमिको अस्तित्व सिध्याउन खोजेका छन् । विक्रम संवत् २०६३ सालपछि त नेपालकै पार्टीकाहरूलाई प्रभावमा लिएर विदेशी हस्तक्षेप, जातीयता र क्षेत्रीयताका नाराले नेपाललाई अफगानिस्थानको हालतमा पु¥याउन चाहेका छन् । यो स्थितिमा हामी सम्पूर्ण नेपालीहरू होसियार हुनुपर्ने अत्यावश्यक छ । देश सबैको साझा हो । हाम्रा मान्यताहरू सिद्धिएपछि भोलिका दिनमा हामी आफ्नै देशमा शरणार्थी बन्न सक्छौं । नेपालीहरूलाई राष्ट्रियताको डोरीले कस्नसक्ने आधार स्तम्भहरू यथावत रहिरहनु पर्छ । अतः नेपालका स्थापित मान्यताहरूलाई निरन्तरता दिन राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको दिव्यउपदेश मात्र एकपटक हेरौं अनि थाहा हुन्छ– विश्वका प्रसिद्ध नायकहरू भन्दा प्रातःस्मरणीय पृथ्वीनारायण शाहको प्रतिष्ठा धेरै माथि छ ।

[ Email:dirgharajprasai@gmail.com ]

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...