Admission Open

दमकको बजेटको नारा : ‘निरोगी शहर’देखि ‘मनमोहन भत्ता’सम्म   

चन्द्रकला भण्डारी झापा, १७ असार : प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकलाई स्वास्थ्य, शिक्षा, कृषि र पर्यटन विकासका दृष्टिले मुलुककै नमूना बनाउन लोभलाग्दा नीति तथा योजना अघि सारिएको छ । नगरको वर्तमान जनप्रतिनिधिको कार्यकालको अन्तिम बजेट भएको हुँदा यसअघिका सबै अधुरा विकासे परियोजना नयाँ आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ विकास निर्माणमा बजेट विनियोजन गरिएका छन् ।

निरोगी शहर दमक

दमक नगरपालिकाले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७८÷७९ को वार्षिक नीति तथा बजेटमा नगरलाई ‘निरोगी शहर’ बनाउने प्रण गरिएको छ । पच्चीस शय्यामा सञ्चालन भइरहेको दमक अस्पताललाई आगामी आवमा ५० शय्यामा विस्तार गरिने र त्यसको सञ्चालनमा लाग्ने रु ११ करोड नगरपालिकाको आन्तरिक स्रोतबाट व्यहोर्ने नगर उपप्रमुख गीता अधिकारीले बताउनुभयो ।

कोभिड–१९ को सङ्क्रमणबाट नगरवासीलाई जोगाउन विपद् व्यवस्थापन कोषमा रु दुई करोड ५० लाख बजेट छुट्याइएको र अग्रपङ्क्तिमा रही काम गर्दै आएका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सुविधा र प्रोत्साहन दिइने उहाँले बजेटमा उल्लेख गर्नुभएको छ । घरमै सुत्केरी गराउने कार्य शून्यमा पु¥याउने लक्ष्य लिएर सुत्केरीलाई अस्पताल पु¥याउन निःशुल्क एम्बुलेन्सको व्यवस्था नगरपालिकाले मिलाउने भएको छ । अशक्त र ज्येष्ठ नागरिकलाई आधारभूत स्वास्थ्य सेवा घरघरमै पु¥याइने जनाइएको छ ।

महिलाको पाठेघर र स्तन क्यान्सर परीक्षणका लागि निःशुल्क व्यवस्था मिलाइएको र विपन्न, दलित तथा आदिवासी जनजातिका लागि मुटु, मिर्र्गौला र क्यान्सरसम्बन्धी रोगको उपचारमा नगरपालिकाले आर्थिक सहायता प्रदान गर्ने नीति लिएको उपप्रमुख अधिकारीले बताउनुभयो । नगरवासीलाई निःशुल्करूपमा कोरोनाविरुद्धको खोप छिटो लगाउन सङ्घीय र प्रदेश सरकारसँग पहल गर्ने तथा नयाँ आवमा ७०० गरिब परिवारको स्वास्थ्य बीमा गराउन लाग्ने शुल्क नगरपालिकाले व्यहोर्ने भएको छ ।

महिला स्वास्थ्य स्वयंसेविकालाई ६० वर्षे उमेर हद पूरा गरेपछि एकमुष्ठ रु ६० हजार निवृत्तिभरण उपलब्ध गराउने बजेटमा उल्लेख गरिएको छ । नगरपालिकाले नगरभित्रका सञ्चार माध्यममा कार्यरत सबै पत्रकारको स्वास्थ्य बीमा गरिदिने र सञ्चार माध्यमलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराएर मासिक रकम प्रदान गर्ने भएको छ ।

‘कच्ची सडकमुक्त’ नगर दमक

नगरभित्रका सबै कच्ची सडकलाई आउँदो आवभित्रै ग्राभेल गरिसकेर नगरलाई ‘कच्ची सडकमुक्त’ बनाउने नगरपालिकाको महत्वाकाङ्क्षी योजना छ । नगर प्रोफाइलअनुसार दमक क्षेत्रभित्र अझै पनि १९ दशमलव ४७ प्रतिशत परिवार सहज प्रकारको सडक पहुँचमा छैन । नगरभित्र ग्राभेल सडक ३२० किलोमिटर, पक्की सडक ५५ किलोमिटर र कच्ची सडक १४३ किलोमिटर रहेको छ ।

उपप्रमुख अधिकारीका अनुसार आव २०७८÷७९ को बजेट कार्यान्वयन भइसक्दा नगरका सबै कच्ची सडक ग्राभेल भइसक्ने छन् भने सहज प्रकारको सडकको पहुँचमा सबै नगरवासीलाई पु¥याउने कार्य सम्पन्न हुनेछ । नयाँ बजेटमा २०० किलोमिटर सडकलाई ग्राभेल, २० किलोमिटर ग्राभेलको मर्मतसम्भार र १० किलोमिटर सडक पक्की तथा कालोपत्र गरिने भनिएको छ ।

नगरपालिकाले सडक पूर्वाधार विकासका लागि आव २०७८÷७९ का लागि रु ५२ करोड १० लाख ७६ हजार बजेट विनियोजन गरिएको र रु चार करोड वडागत बजेटको व्यवस्था गरिएको छ ।

‘मनमोहन भत्ता’को शुरुआत

सङ्घीय सरकारले सामाजिक सुरक्षा भत्ता दिएजस्तै दमक नगरपालिकाले ७० वर्ष नाघेका ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता भएकालाई वार्षिक रु दुई हजारका दरले ‘मनमोहन अधिकारी स्मृति सामाजिक सुरक्षा भत्ता’ प्रदान गर्ने भएको छ ।

ज्येष्ठ नागरिकको मोतियाविन्दु र प्रोस्टेटको उपचार नगरपालिकाले निःशुल्करूपमा गरिदिने भएको छ भने सबै वडामा ज्येष्ठ नागरिकको भेटघाट र बसिबियाँलो गर्ने थलोका रूपमा ज्येष्ठ चौतारी निर्माण गरिने जनाइएको छ । नगरभित्र सञ्चालित निजी अस्पताल, स्वास्थ्य क्लिनिक, होमियो र आयुर्वेदिक क्लिनिकमा परिचयपत्रका आधारमा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण निःशुल्क बनाइने भएको छ ।

‘नगर स्कूल बस’ सञ्चालन

निजी विद्यालयमा पढ्ने विद्यार्थी स्कूल बस चढेर पढ्न जाने गरेकामा नगरपालिकाका सरकारी विद्यालयका विद्यार्थीले पनि अब निःशुल्करूपमा स्कूल बस प्रयोग गर्न पाउने भएका छन् । नगरपालिकाले सामुदयिक विद्यालयका लागि तीनवटा नगर स्कूल बस सञ्चालनमा ल्याउने जनाएको छ । यसबाट विद्यालय छाड्ने प्रवृत्ति निरुत्साहित हुने र सामुदायिक विद्यालयप्रतिको आकर्षण बढ्ने अपेक्षा गरिएको उपप्रमुख अधिकारीले बजेटमा उल्लेख गर्नुभएको छ ।

शिक्षा पाउनबाट कोही पनि बालबालिका बञ्चित नहोऊन् भनेर नगरपालिकाले नगरभित्रका सबै अनाथ तथा असहाय बालबालिकाको अभिभावकत्व लिने निर्णय गरेको छ । नगरले शिक्षा क्षेत्रको विकासका लागि ‘सबैका लागि शिक्षा उपप्रमुख कार्यक्रम’ लागू गरिने जनाएको छ ।

नगरपालिकाले त्यस्ता बालबालिकाको आवास, खाना, शिक्षा, स्वास्थ्य र हेरचाहको सम्पूर्ण व्यवस्था मिलाउने भएको छ । मातृभाषामा शिक्षा दिने उद्देश्यले धिमाल र लिम्बू भाषामा पठनपाठनको व्यवस्था मिलाइने भएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्दै प्रविधिको प्रयोगमा जोड दिनका लागि सबै सरकारी विद्यालयमा विद्युतीय हाजिरी र स्कूल मेनेजमेन्ट इन्फरमेशन सिस्टम लागू गरिने भएको छ ।

सामाजिक सुरक्षा कोषमा आवद्ध भएका निजी विद्यालयलाई व्यवसाय करमा २५ प्रतिशत र पूर्वाधार सेवा उपयोग करमा ५० प्रतिशत कर छुट दिने नगरपालिकाले घोषणा गरेको छ । सामुदायिक विद्यालयमा निःशुल्क सेनेटरी प्याडको व्यवस्था नगरपालिकाले मिलाउने भएको छ ।

कोरोना महामारीका कारण शैक्षिक क्षेत्रमा भएको क्षतिको पुनःभरण गर्दै विद्यालयमा भवन, फर्निचर, खानेपानी र शौचालयलगायतका पूर्वाधार निर्माणका लागि बजेटमा रु २५ करोड ५१ लाख २७ हजार विनियोजन गरिएको छ ।

कृषिमा अनुदानै अनुदान

कृषि क्षेत्रमा बढ्दो निराशालाई आशामा बदल्न दमक नगरपालिकाले व्यावसायिक तथा सामूहिक खेतीमा प्रशस्त अनुदान दिने कार्यक्रम ल्याएको छ । ‘कृषिमा प्रोत्साहन, अनुदानै अनुदान’ कार्यक्रमअन्तर्गत नगरभित्रका कृषि समूह तथा कृषि सहकारीलाई सिँचाइका लागि खपत भएको विद्युत् महसुलमा शतप्रतिशत अनुदान दिने भएको छ ।

कृषि चुन र माटो परीक्षण सेवा निःशुल्क पाइने तथा जैविक मलमा ५० प्रतिशत अनुदान प्रदान गर्ने नगरको नीति रहेको छ । वैदेशिक रोजगारीको साटो स्वदेशमै कृषि उद्यममा लाग्न प्रोत्साहित गर्ने उद्देश्यले सामूहिक खेतीमा नगरपालिकाले प्राथमिकता दिएको छ । यसका लागि नगरपालिकाकाले ‘खनौँ आफ्नो माटो, छोडौँ विदेशको बाटो’ नारा तय गरेको छ । ‘बालीमा विषादी, स्वास्थ्यमा बर्बादी’ अभियान सञ्चालन गरी नगरले विषादीको प्रयोग न्यूनीकरण गर्ने र जैविक खेतीलाई प्रोत्साहित गर्ने भएको छ ।

शिविरमा ‘शरणार्थी सङ्ग्रहालय’

भूटानी शरणार्थीले बसोबास गरेको बेलडाँगी शिविर क्षेत्र अहिले खाली भएको छ । तेस्रो मुलुकमा उनीहरु पुनर्वास भएर गएपछि खाली रहेको शिविर क्षेत्रलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउन नगरपालिकाले ‘शरणार्थी सङ्ग्रहालय’ बनाउने घोषणा गरेको छ ।

सो शिविर क्षेत्रमा कुनै समय करिब एक लाख भुटानी शरणार्थीले आश्रय लिएका थिए । विदेशमा गएका पूर्व शरणार्थी, विदेशी दातृ संस्था र सरोकारवाला सङ्घसंस्थासँग साझेदारी गरेर सङ्ग्रहालय बनाउने नगरको योजना छ । दमकमै विश्वको अग्लो बुद्धमूर्तिसहितको ‘विराट बुद्ध पार्क’ निर्माणका लागि यस वर्ष डिपिआर र वातावरणीय प्रभाव मूल्याङ्कनको कार्य सक्ने लक्ष्य लिइएको छ ।

यसैगरी दमक–८ मा बहुुजातीय सङ्ग्रहालय, दमक–१० स्थित सिंहबाहिनी माविको जग्गामा नेपाल विज्ञान प्रतिष्ठानसँग सहकार्य गरी ‘साइन्स पार्क’ निर्माणका लागि डिपिआर सक्ने भएको छ । दमक क्षेत्रमा सङ्घीय सरकारले निर्माण गरिरहेको दमक भ्यूटावर, दमक सभाहल, नेपाल चीनमैत्री औद्योगिक पार्क, मदन भण्डारी रङ्गशालालगायतका राष्ट्रिय गौरवका आयोजना तोकिएकै समयमा सम्पन्न गर्न नगरपालिकाले समन्वय र पहल गर्ने भएको छ ।

एक अर्ब ३८ करोडको बजेट

नगरपालिकाले आगामी आव २०७८/७९ का लागि रु एक अर्ब ३८ करोड ४५ लाख ९९ हजारको बजेट निर्माण गरेको छ । नगरले भौतिक पूर्वाधारको साथै आर्थिक, सामाजिक विकासका गतिलाई अघि बढाउने उद्देश्यले कृषि, उद्योग, वाणिज्य तथा पर्यटन, सहकारी, पशुपक्षी विकास, शिक्षा, युवा तथा खेलकूद, स्वास्थ्य तथा सामाजिक सुरक्षा र संरक्षण, खानेपानी, सरसफाइ, लैङ्गिक समानता र सामाजिक समावेशीकरणलगायतका क्षेत्रका लागि रु ४२ करोड ५२ लाख ६९ हजार बजेट विनियोजन गरेको छ ।

त्यसैगरी वातावरण संरक्षण, विपद् व्यवस्थापन र सुशासनलगायतका क्षेत्रमा नगरले रु आठ करोड ९७ लाख ६८ लाख बजेट छुट्याइएको छ । नगरपालिकाले सङ्घीय सरकारले तोकेअनुरुप नै विद्यालयमा कार्यरत बालशिक्षिका र कर्मचारीलाई प्रतिव्यक्ति मासिक रु सात हजार उपलब्ध गराउने गरी बजेट विनियोजन गरेको छ । सामाजिक सुरक्षा कोषमा आवद्ध नहुन्जेलसम्म करार कर्मचारीले पाए सहर संचय कोषको सुविधामा आवद्ध गराउने गरी बजेटको व्यवस्था गरिएको छ ।

कृषिक्षेत्र जनजीविकाको महत्वपूर्ण आधार भएको हुँदा कृषकलाई प्रोत्साहन गर्न अनुदान तथा निःशुल्क सेवाको व्यवस्था गर्न रु एक करोड नौ लाख बजेट विनियोजन गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि नगरपालिकामा रोजगार सेवा केन्द्र स्थापना भइसकेको हुँदा ‘नजाऊँ विदेशमा, सम्भव छ आफ्नै ठाउँमा’ भन्ने नारा तयार गरेर नगरले अभियान सञ्चालन गरिरहेको छ ।

नगरपालिकाले पर्यटकीय गन्तव्यमा फ्रि वाइफाइको व्यवस्था गर्ने, नगर क्षेत्रभित्र रहेका धार्मिक, सांस्कृतिक, पुरातात्विक स्थान, मठमन्दिर, गुम्बा, ग्रामथान तथा महाराजथान, माङ्गहिम, मदरसा, चर्च आदिको संरक्षण गरिनुका साथै छुट्टाछुट्टै स्थानको प्रोफायल तयार गर्ने योजना बनाएको छ । नगरले भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण, प्रवद्र्धन र विकासका क्रियाकलाप सञ्चालन गर्ने तथा भाषा, साहित्य कला र संस्कृतिमा योगदान पु¥याउने व्यक्तिलाई नगर साहित्यक पुरस्कार दिइने घोषणा गरेको छ । (रासस)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...