Admission Open

जिप दुर्घटनामा दुईको मृत्यु   

म्याग्दी, १७ असार : जिल्लाको मङ्गला गाउँपालिका–२ मिठौलामा बुधबार राति भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सिमलचौरदेखि पूर्णगाउँतर्फ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको जिप घुम्तीबाट खस्दा थप छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले मङ्गला–१ प्ूर्णगाउँकी १९ वर्षीया सबिना भण्डारी र १५ वर्षका विमल विकको मृत्यु भएको पुष्टि गर्नुभयो । “उनीहरुलाई बेनी अस्पताल ल्याइपु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए”, उहाँले भन्नुभयो “छ जनाको बेनी अस्पतालमा उपचार भइरहेको छ ।” घाइते र मृतक सबै मङ्गला गाउँपालिका–१ का हुन् ।

अस्पतालमा १९ वर्षीय अनिल रसाइली, २५ वर्षीय सुदन आचार्य, २६ वर्षीया एञ्जिता भण्डारी, आठ वर्षीया अदिना नेपाली, ३५ वर्षीया गीता खत्री र २३ वर्षीया अमृता रसाइलीको उपचार भइरहेको छ । दुर्घटना भएको ठाउँको साँघुरो सडकको घुम्ती र ग्रेड मिलेको छैन ।

जिप सडकदेखि करिब ५०० मिटर तल खोल्सामा खसेको थियो । राति सवा आठ बजेतिर दुर्घटना भएको थियो । घाइतेको स्थानीयवासी र प्रहरीले उद्धार गरेर बेनी पठाएका थिए । सिमलचौर–मिठौला–पूर्णगाउँ मङ्गलाको केन्द्र बाबियाचौरदेखि वडा नं १ लाई जोड्ने वैकल्पिक सडक हो ।

कोरोना सङ्क्रमण फैलिएपछि यही असार १४ गतेदेखि २३ गतेसम्मका लागि मङ्गला–१ स्थित कुहुँलाई सिल गरिएको थियो । दुर्घटना भएको जिप वडा नम्बर २ को भूगोलमा पर्ने सडक प्रयोग गरेर वडा नम्बर १ को पूर्णगाउँतर्फ जाँदै थियो । दुर्घटनाबारेमा थप अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षक विक्रमराज गुरुङले बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...