Admission Open

गाउँमै रोजगार गर्वको आधार कार्यक्रमले उद्यमी सिर्जना गर्दै   

सन्तोष पुर्कुटी, ताप्लेजुङ : कोरोनाका कारण वैदेशिक रोजगारीबाट घर फर्किनुभएका सिरीजंघा गाउँपालिका–८ याम्फुदिनका सुकु भोटे भेडापालन व्यवसायका लागि तयारी गरिरहनुभएको छ । करिब ३५ महिना दुबइमा बसेर गत वर्ष घर फर्किनुभएका भोटेलाई पुनः विदेश जाने रहर छैन ।

विदेशी भुमिमा पसिना बगाउनु भन्दा आफ्नै पाखा बारीमा परिश्रम गरे फाइदा हुने भन्दै भेडापालनको तयारीमा लागेको उहाँले बताउनुभयो । “कोभिडका कारण अवधि नसकिदै घर फर्किनु प¥यो, फेरी विदेश गएर पसिना बगाउनु भन्दा आफ्नै गाउँघरमा केही गरौँ भनेर व्यावसायिक रुपमा भेडा पाल्ने तयारीमा जुटेको छु”, उहाँले भन्नुभयो । सुकुलाई भेडापालनका लागि गाउँपालिकाले दिएको अनुदानले धेरै सहयोग पुगेको छ । भेडापालनलाई गाउँपालिकाले २ लाख ५० हजार अनुदान दिएको छ । गाउँमै रोजगार, गर्वको आधार कार्यक्रम तर्जुमा गरी गाउँपालिकाले यहाँका ८ वटै वडामा बजेट विनियोजन गरी सञ्चालन गरेको उक्त कार्यक्रमबाट सुकुले अनुदान लिनुभएको हो । यो कार्यक्रम चालु आर्थिक वर्षबाट शुरु भएको हो । अनुदान लिएसँगै भेडापालन व्यवसायका लागि तयारीमा जुटेको उहाँले बताउनुभयो ।

तयारी स्वरुप अहिले ३५ वटा भेडा जम्मा गरी सकिएको उहाँको भनाइ छ । विदेशमा बसेर कमाइ गर्ने सोच हुँदा हुँदै कोभिडका कारण चाँडै घर फर्किनुभएका भोटेलाई केही समय के गर्ने, कस्तो व्यवसाय चलाउने भन्ने विषयले निक्कै चिन्ता थियो । के काम गर्ने, कसरी घर खर्च जुटाउने जस्ता कुराले पिरलोमा पर्नुभएका सुकुलाई व्यवसाय सञ्चालनका लागि गाउँपालिकाले दिएको अनुदानले भेडापालक तथा व्यवसायी बन्ने बाटो खुलाएको छ ।

गाउँपालिकाले उद्यमशिलताको माध्ययमबाट रोजगारी सिर्जना गर्ने ध्येयले गाउँमै रोजगार, गर्वको आधार भन्ने नारासहित कार्यक्रम सञ्चालन गरेको थियो । यस कार्यक्रमबाट ८ वटै वडाका सर्वसाधरण लाभान्वित भएका छन् । हरेक वडामा ५ लाख रुपैँयाका दरले बजेट विनियोजन भएको थियो ।

कूल लागतको ५० प्रतिशत भने उद्योगी तथा व्यवसायीले नै बेहोर्ने गरी समूहमार्फत अनुदान प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताउनुभयो । घिमिरेका अनुसार गाउँपालिकाका विभिन्न क्षेत्रमा माछापालन, फर्निचर उद्योग, मुढा उत्पादन गर्ने, बङ्गुरपालन, बाख्रापालन, कालिजपालन जस्ता उद्योग व्यवसाय सञ्चालन भएका छन् । यस कार्यक्रमले गाउँका बेरोजगार युवालाई राहत पुगेको छ । यस्तै पुर्खौदेखि विभिन्न पेशा व्यवसाय सम्हाल्दै आएका सर्वसाधरणलाई समेत व्यवसाय प्रर्वद्धनमा सहयोग पुगेको छ । शुक्रबार मात्रै तेल्लोकको एक समूहका ४ वृद्धलाई ४० हजारका दरले १ लाख ६० हजार रुपैँया अनुदान रकम उपलब्ध गराइएको छ । डोको, ढाकी, घुम, बिनायो, खरेटो जस्ता चोयाजन्य उत्पादनको प्रर्वद्धनका लागि अनुदान उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ ।

यसरी गाउँमै रोजगार, गर्वको आधार कार्यक्रममा युवाहरुको मात्रै नभइ सामान्य सीप भएका वृद्धहरुसमेत सहभागी भएका छन् । कोरोनाका कारणले अन्य रोजगारका काममा सहभागी हुन नपाएका गाउँका युवा लगायतलाई यो कार्यक्रमले सहयोग पुगेको छ । सीप सिकेर घरैमा बसी बसी अनुदान सहयोगमा उद्योग व्यवसाय सञ्चालन गरी आमदानी लिन पाउँदा यहाँका सर्वसाधारण खुसी छन् । सङ्क्रमणले घर बाहिरका कतिपय काम गर्न नपाउँदा समस्यामा परेका बेला गाउँपालिकाको उक्त कार्यक्रमले सहयोग पुगेको उनीहरुले बताए । यस्तै सङ्क्रमणका बेला घर व्यवहार चलाउन समेत व्यवसायले सहयोग पुगेको उनीहरुको भनाइ छ । (रासस)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...