Admission Open

कर्मचारीलाई नैतिकताको पाठ सिकाउन र साइनो लगाएर बोल्ने बनाउन छ महिना लाग्यो : नगर प्रमुख मेहता

[धर्म भनेको पुरानो समयको विज्ञान पनि हो । यो अथाह महासागर हो ।]

दुई दशकको अवधिमा कर्मचारीको बानीमा पूरै परिवर्तन भइसकेको रहेछ । राजनैतिक व्यक्ति अर्थात् जनप्रतिनिधिलाई हेर्ने दृष्टिकोण साह्रै नराम्ररी विग्रिएछ । लोकतन्त्र र प्रजातन्त्रको रक्षाका लागि जनसेवा गर्न आएका हुन् भन्ने कुरा सबै निजामती र विकासे कर्मचारीले भुलेका रहेछन् ।

Interview

सुनसरीको इनरुवा नगरपालिकाका मेयर राजन मेहता निकै क्षमतावान व्यक्ति हुन् । धेरै विषयमा उनी विषयवस्तु छिचोलेर तर्क गर्न सक्छन् । उनीसँग लामो समय गैह्र–सरकारी संस्था (एनजीओ) चलाएको अनुभव छ । नगर प्रमुखमा निर्वाचित भएपछि इनरुवा नगरपालिकामा ठूला योजना निर्धारित समय र लागतमै सम्पन्न गरेर उनले राम्रो ख्याती कमाएका छन् । नगरपालिकाले गरेका काम, कर्मचारी, धर्म संस्कृति, विकृतिलगायतका विषयमा नगरप्रमुख मेहतासँग दीपक निरौलाले गरेको कुराकानीको सार :

तपाईँ सङ्घीयता लागू भएपछि इनरुवा नगरपालिकाको पहिलो नगर प्रमुख हुनुहुन्छ । तपाईँको कार्यकालमा के कस्ता काम भएका छन् ?

हामीले चुनाव जितेर आएको साल बजेट भएन । दोस्रो साल बाढीले बितण्डा मच्चायो । तेस्रो र चौथो साल कोभिड–१९ को प्रकोप बढ्यो । यी सबै समस्यासँग जुध्दै नगरपालिकाको विकास निर्माणमा निरन्तर लागिरहेका छौँ । हाम्रो घोषणापत्र अनुसार करिव ७० प्रतिशत काम सम्पन्न गरेका छौँ । बाँकी काम निर्माणाधीन अवस्थामा छन् । अर्को कु्ुरा संघीय सरकार र प्रदेश सरकार हाम्रो अनुकुल छैनन् । पार्टीगत चस्माले हेरेर बजेट नदिने, दिएको बजेट पनि समयमा निकासा नगरिदिने जस्ता समस्या रहेका छन् । यसले गर्दा सोचेका धेरै काम अगाडि बढाउन सकिएको छैन । यो हाम्रो दोष पनि होइन ।

 

तपाईं नेपाली काँग्रेस पार्टीको एक समर्पित कार्यकर्ता पनि हुनुहुन्छ । पार्टीको काम चाहिँ कसरी गर्दै हुनुहुन्छ ?

बि.सं. २०४८ सालमा म पहिलो पटक भगवती मा.वि. इनरुवामा नेपाल विद्यार्थी संघको इकाइ सभापति भएँ । त्यसपछि पार्टीको आदर्शअनुसार इमन्दार भएर विभिन्न भूमिकामा काम गर्दै आएँ । पार्टीले विश्वास गरेर नगर प्रमुखको टिकट दियो । जनताले पनि मलाई पत्याए । निर्वाचित भएँ । मेयर पद ५ वर्षका लागि मात्र हो । पार्टी भनेको दीर्घकालीन हो । जनप्रतिनिधिका साथै पार्टीको एक इमान्दार पहरेदार भएकोले जनताको सेवा नै आफ्नो मूल कर्तव्य ठानेर काम गरिरहेको छु ।

तपाईं नगरपालिकामा निर्वाचित भएर भित्रिदा के कस्ता समस्याहरु थिए ?

हामी लोकतन्त्रमा विश्वास राख्ने व्यक्ति हौँ । लोकतान्त्रिक प्रक्रियाबाटै निर्वाचित भएर आएका हौँ । करिव २० वर्षपछि कर्मचारी र जनप्रतिनिधिले एकै थलोमा काम गर्ने परिस्थिति आयो । दुई दशकको अवधिमा कर्मचारीको बानीमा पूरै परिवर्तन भइसकेको रहेछ । राजनैतिक व्यक्ति अर्थात् जनप्रतिनिधिलाई हेर्ने दृष्टिकोण साह्रै नराम्ररी विग्रिएछ ।

लगातार एउटै ठाउँमा बसेपछि सबै भ्रष्टाचार गर्ने दुला र प्वाल थाहा हुन्छ । सबै चिनेका हुनाले खान पल्केकालाई लाज डर हराएर जाँदो रहेछ । जनप्रतिनिधिलाई भ्रष्टाचार गर्न प्रोत्साहन गर्ने भनेकै कर्मचारीतन्त्र हो ।

लोकतन्त्र र प्रजातन्त्रको रक्षाका लागि जनसेवा गर्न आएका हुन् भन्ने कुरा सबै निजामती र विकासे कर्मचारीले भुलेका रहेछन् । उनीहरूलाई नैतिकताको पाठ सिकाउन र साइनो लगाएर बोल्न सक्ने बनाउन इनरुवा नगरपालिकामा हामीलाई छ महिना लाग्यो ।

भनेपछि तपाईंहरू (जनप्रतिनिधि) लाई मज्जाले घुमाएछन् कर्मचारीले ।

म इनरुवा नगरपालिकामा २५ वर्ष गैह्र सरकारी संस्था (एनजीओ) चलाएर आएको व्यक्ति हुँ । नगरपालिकामा कामको सिलसिलामा निरन्तर आवतजावत भइरहन्थ्यो । नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको इनरुवा नगर समितिको अध्यक्ष पनि लामै समय भएको व्यक्ति हुँ । धेरै कर्मचारीको आनीवानी बुझ्न हामीलाई समय लागेन । यसमा हामी घुम्ने कुरै थिएन । प्रणाली चाहिँ बिग्रिएको थियो भन्न खोजेको हुँ ।

नगरपालिकामा विद्यमान समस्याहरू के–के छन् ?

सवैभन्दा पहिले नेपाल सरकारले स्थानीय निकाय कर्मचारी ऐन नियम संसोधन गुर्नपर्छ । त्यसमा सबै कर्मचारीलाई निजामती कर्मचारी सरह अन्तर स्थानीय तहमा सरुवाको व्यवस्था गर्नुपर्छ । अर्को कुरा अस्थायी र करारका कर्मचारी कुनै पनि स्थानीय तहमा राख्नु हुँदैन । अन्तर स्थानीय तह सरुवाको व्यवस्थाले रैथाने कर्मचारीको सरुवा हुन सक्ने वातावरण बन्छ । लगातार एउटै ठाउँमा बसेपछि सबै भ्रष्टाचार गर्ने दुला र प्वाल थाहा हुन्छ । सबै चिनेका हुनाले खान पल्केकालाई लाज डर हराएर जाँदो रहेछ । जनप्रतिनिधिलाई भ्रष्टाचार गर्न प्रोत्साहन गर्ने भनेकै कर्मचारीतन्त्र हो । यिनीहरू साह्रै छाडा भएका छन् । नेपालमा कर्मचारी ठेगान लगाउने दह्रो कानुन नआएसम्म भ्रष्टाचार रोकिँदैन । जनताले सुशासनको प्रत्याभूति महसुस गर्न पाउँदैनन् ।

अस्थायी र करारका कर्मचारी त यहाँले पनि नियुक्ति गर्नुभयो होला ? आफन्त कति परे त्यसमा ?

मेरो १३ दिने दाजुभाइ दिदीबहिनीमा कोही पनि अस्थायी र करारको जागिरको दैलो कुरेर बसेका छैनन् । बसेका भएपनि म उनीहरूलाई दैलो बन्द गर्नसक्ने क्षमताको व्यक्ति हुँ । नगरपालिकामा कामको अवस्था हेरेर आवश्यक कर्मचारी परिपूर्ति गर्नु सामान्य कुरा हो । परिवार र नातागोताका मान्छेलाई बन्द गरेको दैलोमा अरु जो सुकै आएपनि योग्यता र क्षमताको आधारमा मात्रै दैलो खुला हुन्छ । म आफ्नो अडानबाट अहिलेसम्म चुकेको छैन । कसैले आरोप लगाएको हुन सक्छ । त्यसमा सत्यको कुनै अंश छैन ।

अनि तपाईंसँग मन नमिलेका कति कर्मचारीको रोजीरोटी गुम्यो त ?

नियम र कानुनले गर्नु भनेको काम नगर्ने, नगर्नु भनेको काम गर्नेलाई छोड्ने कुरै भएन । सङ्ख्याकै हिसाव गर्ने हो भने २ सय जना जतिलाई कार्यकालभरि नगरपालिकामा फर्कन नसक्ने गरी विदा गरेको छु ।

तपाईंसँग नेपाल सरकारका उप–सचिव (कार्यकारी) पनि नटिक्नुको कारण चाहिं के हो ?

ससुराली सम्झेर जागिर खान आएपछि यस्तो हुन्छ । जनताको करबाट रोजीरोटी चलाएको व्यक्ति जनताप्रति उत्तरदायी हुनु पर्दैन ? नेतासँग काम गर्न नसकेर, डाडुपन्यु आफैं चलाएर खान नपाएपछि टाप कसेका हुन् । मेरो नगरपालिकामा ५ घण्टामात्र जागिर खाएर भागेका उप–सचिव पनि छन् । यसको कारण मैले भनिरहनु पर्दैन । तथ्य आपैmँ छर्लङ्ग छ ।

धेरै आदर्शका कुरा गर्नुभयो । नैतिकताको पाठ सिकाउनु भएन उनीहरूलाई ?

मैले मेरो नगरपालिकामा सम्पूर्ण कर्मचारीलाई नैतिकताको पूर्ण पाठ सिकाएको छु । कार्यालयमा आउने सेवाग्राहीलाई वास्ता नगर्ने, घुस माग्नेजस्ता परिपाटी थिए । तर अहिले आफ्नो कक्षमा आएका सेवाग्राहीलाई जुनसुकै तहको कर्मचारीले नमस्कार गर्ने र कामको बारेमा सोधेर सेवा दिनुपर्ने नियम बसाएको छु ।

अलिकति तपाईँको पार्टीको बारेमा कुरा गरौँ । उमेरले वृद्ध नभई नेपाली काँग्रेस पार्टीमा नेता हुन पाउने अवसर नआउने जस्तो देखिन्छ । के भन्नुहुन्छ ?

अव कांग्रेसले आफ्नो विधानलाई परिवर्तन गर्नुपर्छ । नयाँ पुस्ताका युवालाई उत्तराधिकारी तोक्नुपर्छ । पचास वर्ष पूरा भएका व्यक्तिलाई नीति निर्माण तहमा लानु पर्छ । उनीहरूले अनुभवको आधारमा ऐन कानून निर्माण गर्ने हो । अठ्ठाइस वर्ष पूरा भएका युवाले देश हाँक्ने नेतृत्व लिने हो । हाम्रो समाजले युवालाई नपत्याउन्ु विडम्वना हो । खसी काट्न युवा, जात्रापर्व व्यवस्थापनमा युवा, विवाहमा टेन्ट गाड्न युवा, भोज भतेर पकाउन युवा, जुलुसमा युवा, ढुङ्गा हान्न युवा संलग्न हुन्छन् । दिनभरी लठ्ठी र जुलुसमा सहभागी गराउने अनि साँझ परेपछि मासु र रक्सीमा मात्र भुलाएर अव हुँदैन । विवाह गर्न २० वर्ष उमेरको हद लाग्ने अनि रक्सी खान उमेरको हद नलाग्ने ? क्रियाशील युवाहरुलाई विकास निर्माण र नेतृत्वमा स्थान दिन नहुने ? पार्टीले अब नयाँ ढङ्गले सोच्नु जरुरी छ ।

तपाईँ फेरि पनि नगर प्रमुखको भूमिका पाउँन दावी गर्नुहुन्छ ?

पार्टीले एउटै भूमिकामा कामको मूल्याङ्कन गरेर दोहो¥यायो भने सहज रुपमा स्वीकार्ने हो । कामको भाँती पुगेन भन्यो भने पार्टीको अर्को भूमिकातिर लाग्ने हो । तर, अर्को कुरा चाहिँ के हो भने आउने निर्वाचनमा ५० वर्ष कटेका वृद्धलाई मेयरको टिकट दियो भने छाड्ने पनि होइन । सहने पनि हुँदैन । ४० वर्षभन्दा कम उमेरका युवालाई छनौट ग¥यो भने छोडिन्छ ।

यो त दादागिरी भएन र ?

यो समयको माग हो । समय अनुसार चल्नुपर्छ । नीति र पद्दतिको कुराको सुरुवात गर्दा अलि फरक जस्तो लाग्छ । हामीले सुरुवात गरेपछि अन्य नगर र जिल्लामा पनि युवाको वर्चस्व कायम हुन जान्छ । थिति बसाउन खोज्दा अन्य अर्थमा हेर्न मिल्दैेन ।

प्रसङ्ग बदलौँ । तपाईं धर्ममा कत्तिको विश्वास गर्नुहुन्छ ? नगर क्षेत्रमा धार्मिक स्थलको संरक्षणमा के काम गर्नुभएको छ ?

धर्म भनेको पुरानो समयको विज्ञान पनि हो । यो अथाह महासागर हो । यसमा धेरै कुराहरू छन् । भगवान शिवप्रति मेरो पूर्ण आस्था र विश्वास रहेको छ । काँग्रेस मेरो पार्टी भएकोले विपी कोइराला र भगवान शिवको फोटो एउटै फ्रेममा सजाएर मेरो घरको मूल ढोकामा राखेको छु । हरेक दिन पूजा गर्ने गरेको छु । इनरुवा नगरपालिकामा यस वर्ष विभिन्न जातजातिका १ सय ३७ वटा थान निर्माण सम्पन्न भए । इनरुवा नगर क्षेत्रको वडा नं. १ मा रहेको शिव मन्दिर ४ करोडको लागतमा निर्माणको अन्तिम चरणमा छ । वडा २ नं. को दुर्गा मन्दिर २ करोडको लागतमा निर्माणको क्रममा रहेको छ ।

धर्ममा युवा पुस्ताको झुकाव कस्तो छ ?

अहिलेको पुस्ता बाबुआमाले नजानेका कारण आफ्नो धर्म र संस्कृतिबाट बञ्चित हुँदै गएको अवस्था हो । हातमा मोवाइल फोन थमाइदिएर गौरव गर्ने परम्परा नेपाली समाजमा विद्यमान छ । पहिले ब्राह्मण समुदायमा धोती फेरेर भात खाने चलन थियो । अहिले यो चलन पूर्ण रूपमै हराइसक्यो भन्दा हुन्छ । मान्छेले आधुनिक युगको नाममा धर्मलाई विर्सियो । धर्मप्रति आस्था जगाइएन भने धर्म मासिएर जान्छ । हाम्रा रितिथिति र परम्परालाई आधुनिकताको नाममा हाँसोको विषय बनाउनु भएन ।

धर्म मास्ने काम आधुनिक बाबुआमाले नै गरेका हुन त ?

त्यसो भन्न पनि मिल्दैन । मुख्य दोषी चाहिँ नेतृत्व तहका गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल, बाबुराम भट्टराई, रामचन्द्र पौडेल, शेरबहादुर देउवालगायत बाहुन क्षत्रीहरू नै हुन् । यसमा कुन चाहिँ मधेसी, मुसलमान अथवा नेतृत्व तहमा नभएका बाहुन सहभागी भएका थिए ? अहिले बाहुनले बाहुनलाई आरक्षणको सूचीमा हाल्ने काम गरेका छन् । हजुरबा पुस्ताका व्यक्तिको मृत्यु भएपछि विवाह कसले गराउने ? वैदिक विधि जानेको मान्छे खै ?

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...